भूकम्पको चार वर्षः झन्डै ५० प्रतिशत विद्यालयको पुनर्निर्माण बाँकी

  • 24 एप्रिल 2019
विद्यालय

विनाशकारी भूकम्पबाट ३१ जिल्लाका झन्डै आठ हजार सरकारी विद्यालयमा क्षति पुर्‍याएकोमा हालसम्म चार हजार चार सय विद्यालयको मात्रै पुनर्निनिर्माण सकिएको अधिकारीहरूले बताएका छन्।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठका अनुसार दुई हजारवटा विद्यालयको पुनर्निर्माण भइरहेको छ भने बाँकीको पुनर्निर्माण सुर हुन सकेको छैन।

शिक्षक तथा विद्यार्थीले लामो समयदेखि अस्थायी कक्षाकोठामा पठनपाठन गर्न अप्ठ्यारो भएको गुनासो गरेका छन्।

नुवाकोटका चार सय ५३ सामुदायिक विद्यालय क्षतिग्रस्त भएकोमा हालसम्म दुई सय पाँच वटाको मात्रै पुनर्निर्माण सकिएको छ।

प्रक्रिया

त्यस्तै २३ वटा विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको, एक सय ७२ वटा पुनर्निर्माणको क्रममा रहेको र २४ वटाको निर्माण प्रक्रिया सुर गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्कअनुसार अझै कम्तीमा २९ वटा विद्यालयको पुनर्निर्माण सुरु नै हुन सकेको छैन।

चार वर्षदेखि अस्थायी शिक्षण केन्द्रमा कक्षा सञ्चालन गर्दै आएका विद्यालयले विद्यार्थीलाई शिक्षा ऐन अनुसार विभिन्न विधिको प्रयोग गरेर पठनपाठन गराउन नपाउँदा विद्यार्थीलाई विषयवस्तुमा ध्यान केन्द्रित गराउन समस्या भएको बताएका छन्।

भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माण नहुँदा विद्यालयको शैक्षिक वातावरण सुधार्न कठिन भएको सूर्यगढी गाँउपालिका-४ स्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर अधिकारी बताउँछन्।

"विद्यार्थीलाई जति सिकाउनुपर्ने हो त्यति सिकाउन सकिएको छैन। सानो स्वरले पठनपाठन गराउँदा पछाडिसम्म नसुन्ने र ठूलो स्वरमा बोल्दा अर्को कक्षालार्इ प्रभाव पर्ने लगायत कैयौँ समस्या छन्।"

भूकम्पले पुर्‍याएको क्षतिसँगै विकासका ढोका खुलेको कतिपयले बताउने गरे पनि नुवाकोटमा अझै केही विद्यालयको पुनर्निर्माणबारे अन्योल हुँदा ती विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइको स्तर खस्कँदै गएको शिक्षकहरू बताउँछन्।

भूकम्प गएको चार वर्ष हुँदा समेत अझै क्षतिग्रस्त संरचनामै बसेर अध्ययन गर्न बाध्य भएको सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत सलिना रिजाल बताउँछिन्।

पठनपाठन

उनी भन्छिन्, "अहिले बस्दै गरेको कक्षा पहिले सुविधायुक्त थियो, तर भूकम्पले क्षति पुर्‍याएपछि एउटै कक्षालार्इ बीचमा जस्ताले बारेर पठनपाठन गरिँदै आएको छ। बस्ने बेन्च पनि छैन, समस्यै समास्यामा चार वर्ष बित्यो।"

विद्यार्थीलाई शान्तिपूर्ण वातावरणमा अध्ययन गराउन पक्की कक्षाकोठासहित व्यवस्थित पुस्तकालय, विषयगत प्रयोगशाला, स्वच्छ खानेपानी, खेलमैदान, लैङ्गिकमैत्री शौचालय तथा मनोरम वातावरण आवश्यक पर्ने शिक्षाविद्‌हरू बताउँछन्।

तर क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण सम्बन्धमा जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटका प्रमुख वीरेन्द्रजङ्ग थापा भन्छन्।

"कतिपय विद्यालयको जग्गा छैन, जिल्लाको भौगोलिक विकटताले सवारीको पहुँच नहुँदा सामान ढुवानीमा समस्या, केही विद्यालय गाभ्नुपर्नेछ। स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा स्थान विशेषमा विद्यालयको पुननिर्माण गर्छौँ।"

अधिकारीहरूका अनुसार भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माण कार्यमा सरकारसँगै विभिन्न गैरसरकारी संस्था पनि लागिपरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लक्ष्यअनुसार पुनर्निर्माण कार्यले तीव्रता पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठ बताउँछन्।

"पचपन्न प्रतिशत विद्यालयको पुननिर्माण सम्पन्न भइसक्यो भने २५ प्रतिशत निर्माण भइरहेको छ र बाँकी २० प्रतिशत विद्यालयको पुननिर्माण प्रक्रिया पनि यसै आर्थिक वर्षभित्र सक्छौँ।"

भूकम्पले क्षति पुर्‍याएका शैक्षिक संस्थाको पुनर्निनिर्माण पाँच वर्षभित्रमा सक्ने सरकारी लक्ष्य भए पनि नुवाकोटमा अहिलेसम्म भएको पुनर्निर्माण हेर्दा त्यो पूरा गर्न कठिन देखिन्छ।