भूकम्पको चार वर्षः छरिएर रहेका टहरामा बस्ने भूकम्पपीडितहरूको व्यथा

  • 25 एप्रिल 2019
भूकम्प

रसुवाका विभिन्न ठाउँका गरी एक हजार २० घरपरिवार भूकम्पबाट विस्थापितको सूचीमा रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाले जनाएको छ।

विस्थापितहरू अहिले रसुवाका खाल्टे, लहरेपौवा, नौबिसे, शान्तिबजार, कालिकास्थान लगायतका ठाउँमा अस्थायी आवास बनाएर बसिरहेका छन्।

कहिले चिसो, कहिले हावाहुरी र कहिले वर्षाबाट पीडित ती विस्थापितहरूलाई यो वर्षको बर्खा पनि टहरामै बिताउनुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ।

विनाशकारी भूकम्पले घरबार भत्काएपछि थातथलो छाडेर अन्यत्र बस्दै आएका पीडितका लागि घामपानी र कठ्याङ्ग्रिँदो जाडो त छँदैछ मजदुरी नगरे बालबच्चासहित भोकै बस्नुपर्ने अवस्था छ।

एकीकृत बस्तीको माग

भूकम्पपछि रसुवामा पुगेको प्राविधिक टोलीले हाकु, डाँडागाउँ लगायतका ठाउँ बस्न अयोग्य रहेको बताएको थियो।

सरकारले दिएको दुई लाख रुपैयाँ लिएर विभिन्न ठाउँमा छरिएर बस्दा आफ्नो परम्परा र संस्कृतिसमेत लोप हुन सक्ने पीडितहरूमा चिन्ता छ।

वर्षौँदेखि समुदायमा मिलेर बस्दै आएका उनीहरूले आफूहरूका लागि एकीकृत बस्तीको विकास गर्न माग गरेका छन्।

एकीकृत बस्ती विकासको व्यवस्थापन गर्ने हो भने आफूहरूको परम्परा, संस्कृतिको संरक्षण हुनुका साथै वर्षौँदेखि मिलेर बस्दै आएको समुदाय पनि एकै ठाउँमा बस्न पाउने उनीहरूको तर्क छ।

एकीकृत बस्ती विकास र पुनर्वासजस्ता काममा सरकारी ढिलासुस्तीका कारण आफूहरूको दैनिकी पनि कष्टकर बन्दै गएको पीडितहरू बताउँछन्।

अस्थायी टहरामा बस्दा जाडोयाममा चिसोले निदाउन नसक्ने, गर्मीमा जस्तापाता तातेर बस्न नसक्ने र बर्खामा पानी पसेर खान बनाउन समेत समस्या हुने गरेको विस्थापितहरू बताउँछन्।

जीविकोपार्जनको समस्या

घर बनाउने जग्गाको मात्रै ठेगान भए ऋण गरेर भए पनि सुरक्षित घर बनाएर बस्ने चाहना भएको रसुवाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका कतिपय पीडित सुनाउँछन्।

भूकम्पलगत्तै विभिन्न सङ्घ-संस्थाले राहत वितरण गर्दा खाने समस्या नभए पनि पछिल्लो समय खासगरी एकल महिला र वृद्धवृद्धालाई जीविकोपार्जनको समस्या भएको विस्थापितहरू बताउँछन्।

एकजना पीडित तरस्या तामाङ भन्छिन्, "गाउँमा आफ्नै बारीमा खेतीपाती गरेर बसेका थियौँ, यहाँ त काम पनि पाइँदैन। परिवार पाल्नै निकै गाह्रो छ।"

"चार वर्ष भइसक्यो, कतिपय त घर बनाएर पनि बसिसके। हाम्रो न गाँसको ठेगान छ न बासको। खोइ कहाँ गएर कसलाई के भन्नुपर्ने हो।"

अस्थायी टहराको बास खासगरी बालबालिका र वृद्धवृद्धाका लागि निकै सकसपूर्ण रहेको विस्थापितहरूको अनुभव छ।

बालबालिकालाई निमोनिया, रुघाखोकी र वृद्धवृद्धालाई दम बढ्ने र हातखुट्टाका जोर्नीहरू दुख्ने लगायतको समस्याले सताउने गरेको उनीहरू बताउँछन्।

अस्थायी टहरामै चारवटा बर्खा र चारवटा हिउँद खेपिसकेका ती पीडितहरूको अझै बस्ने बासको टुङ्गो लागेको छैन।

सम्झनामा गाउँ

अर्की विस्थापित माया तामाङ भन्छिन्, "जाडोमा घुँडा दुख्छ, टाउको दुख्छ। बेलुका सुत्ने बेला जाडोले निदाउनै सकिँदैन। गाउँमा हुँदा आनन्द थियो।"

भूकम्पपछि कष्टकर जीवन बिताइरहेकामध्ये तरस्या तामाङ र माया तामाङ त प्रतिनिधिपात्र मात्रै हुन्।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाका सूचना अधिकारी माउलीधन रार्इ विस्थापितहरूको व्यवस्थापनका लागि कार्यालयले पहल गरिरहेको बताउँछन्।

उनका अनुसार पाँच सय ५७ परिवारका लागि जग्गा खरिद लगायतका काम सम्पन्न भइसकेको छ।

उनले भने, "विस्थापितहरूको व्यवस्थापनका लागि आवश्यक जग्गा खरिद लगायत कारणले कठिनाइ भइरहेको छ।"

भूकम्प गएको चार वर्ष बित्दा पनि सरकारले एकीकृत बस्ती विकास योजनालाई मूर्तरूप दिनसकेको छैन।

सम्बन्धित समाचार