भूकम्पको चार वर्षः दोलखामा स्वास्थ्यकेन्द्र अझै टहरा र विद्यालय भवनमा

  • 25 एप्रिल 2019
स्वास्थ्य

भूकम्पबाट क्षतिग्रस्त सबै स्वास्थ्य केन्द्रको पुनर्निर्माण नहुँदा कतिपय ठाउँमा स्वास्थ्यसेवा प्रभावित हुँदै आएको स्वास्थ्यकर्मीले बताएका छन्।

उनीहरूका अनुसार केही स्थानमा अझै पनि जस्तापाताको टहरा, विद्यालय भवनबाट बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ।

विनाशकारी भूकम्पका कारण दोलखा जिल्लाको उत्तरी चिलङ्खास्थित क्षतिग्रस्त स्वास्थ्यचौकी अझै पुनर्निर्माण हुन सकेको छैन।

अहिले त्यहाँ स्वास्थ्यचौकी मात्रै होइन, सुरक्षित रूपमा सुत्केरी हुन प्रयोग गरिने बर्थिङ सेन्टरसमेत जस्तापाताको टहराबाट सञ्चालन भइरहेको छ।

सुविधा

सेवा दिनका लागि स्वास्थ्यकर्मी खटिए पनि राम्रो सेवा नपाउने हुँदा बिरामीहरू जान नचाहेको स्थानीयवासी बताउँछन्।

चिलङ्खाका रन्दीप खड्का भन्छन्, "कोही बिरामी भएर स्वास्थ्य चौकी लैजाऊँ भन्दा कहिले औषधि हुँदैन, लगिहाले पनि जस्तापाताको टहरामा बिरामीलाई झन् गाह्रो हुन्छ।"

"घाम लाग्दा जस्तापाताले पोल्छ भने पानी पर्दा पनि बिरामीलाई समस्या हुने हुन्छ। स्वास्थ्य चौकीबाट त सिटामोल पाउनबाहेक केही सुविधा पाइँदैन।"

अधिकारीहरूले स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्राथमिकता दिएको बताए पनि कतिपय ठाउँमा काम पनि सुरु नभएको बताइन्छ।

भूकम्प गएको चार वर्ष भइसक्दा पनि स्वास्थ्य चौकी पुनर्निर्माण नहुँदा बिरामीहरूलाई उपचारमा समस्या भएको जिरीकी रबीना कार्की बताउँछिन्।

"असहज त धेरै हुन्छ नि, एउटा शय्यामा दुई-दुईजना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ। त्यसमा पनि महिलालाई झन् धेरै समस्या हुन्छ।"

अधिकारीहरू भने अधिकांश स्वास्थ्य केन्द्रको पुनर्निर्माण भइरहेको भन्दै केही ठाउँमा जग्गा र आन्तरिक विवादजस्ता कारण ढिलाइ भएको बताउँछन्।

मर्मतसम्भार

स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार झन्डै नौ सयवटा क्षतिग्रस्त स्वास्थ्य केन्द्रमध्ये हालसम्म चार सयको हकमा प्रिफ्याब भवन निर्माण गरिसकिएको छ।

अमेरिकी सरकारको सहयोगमा बाह्रबिसेस्थित स्वास्थ्य केन्द्रको पुनर्निर्माण गरिएको छ। तीन सयवटा स्वास्थ्य केन्द्रको मर्मतसम्भार गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै जापान सरकारको सहयोगमा वीर अस्पताल र प्रसूति गृहमा भइरहेको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रेष्ठले बताए।

एउटा जर्मन संस्थाको सहयोगमा जिल्ला अस्पताल गोरखा, रसुवा, रामेछाप र दोलखाको जिरी अस्पताल निर्माणाधीन अवस्थामा रहेको बताइएको छ।

श्रेष्ठका अनुसार अब झन्डै डेढ सयवटा स्वास्थ्य केन्द्रको भवन बन्न बाँकी रहेको र त्यो पनि केही समयमै सुरु गरिनेछ।

उनले भने, "केही बनेका छन् भने केहीका लागि सम्झौता गर्देछौँ। स्वास्थ्यचौकी बन्ने क्रममा कतै जग्गा नमिलेको, कतै संस्थाले काम गर्न नसकेको, कतै जनताले सहयोग नगरेको जस्ता कारणले ढिलाइ भएको हो।"

समयमा स्वास्थ्यकेन्द्रहरूको पुनर्निर्माण नहुँदा घामपानी, जाडो र हावाहुरीका कारण बिरामीलाई सेवा दिन समस्या हुने गरेको स्वास्थ्यकर्मी स्वीकार्छन्।