औलो नियन्त्रण: मलावीबाट सुरु भयो रोगविरुद्ध पहिलो खोप अभियान

  • 25 एप्रिल 2019
औलो तस्वीर कपीराइट D POLAND/PATH

औलोबाट बालबालिकालाई आंशिक रूपमा जोगाउने उद्देश्यसहित एउटा नमुना खोप अभियान सुरु अफ्रिकी मुलुक मलावीमा सुरु भएको छ।

आरटीएसएस भनिने उक्त खोपले लामखुट्टेको टोकाइबाट फैलिने औलोका परजीवीसँग लड्न शरीरको प्रतिरक्षाप्रणालीलाई अभ्यस्त बनाउने बताइएको छ।

आरटीएसएसलाई औलो रोगविरुद्ध निर्मित पहिलो खोप मानिएको छ।

यस्तै अभियान अर्को हप्तादेखि घाना र केन्या पनि सुरु हुनेछ।

यसअघि गरिएको एउटा सानो परीक्षणले सो खोप लगाएका पाँचदेखि १७ महिनासम्मका बालबालिकामध्ये झन्डै ४० प्रतिशत सुरक्षित भएको देखाएको थियो।

प्राणघातक औलो रोग उन्मूलन भएको एक दशकपछि फेरि बढ्न थालेको देखिएको छ।

"प्रतिरक्षा, औलो नियन्त्रण र जनस्वास्थ्यका लागि यो महत्त्वपूर्ण क्षण हो," विश्व स्वास्थ्य सङ्गठनको प्रतिरक्षा तथा खोप निर्देशक डा. केट ओ'ब्रायनले बीबीसीसँग भने।

किन छानियो तीन देश?

विश्वभरिबाट सङ्कलित केही वर्षको तथ्याङ्कले औलोका घटना नघटेको देखाएको छ। यो रोग फेरि जागेको देख्दा चिन्ता बढेको छ।

मलावी नमुना खोप अभियानका लागि छानिएका तीनवटा मुलुकमध्ये एक हो।

तस्वीर कपीराइट Getty Images

त्यहाँ दुई वर्षभन्दा कम उमेरका एक लाख २० हजार बालबालिकाको प्रतिरक्षा क्षमता बलियो पार्ने उद्देश्य राखिएको छ।

मलावी, घाना र केन्यामा रोग नियन्त्रणका लागि झुल वितरण तथा अन्य अभियान चलाएको थियो।

तर पनि त्यहाँ ठूलो सङ्ख्यामा औलो देखिएकाले त्यहाँ खोप अभियान सुरु गर्न लागिएको हो।

औलो कति ठूलो समस्या हो?

औलोका कारण प्रत्ये वर्ष विश्वभरि झन्डै चार लाख ३५ हजार मानिसको ज्यान जान्छ। त्यसमध्ये अधिकांश बालबालिका हुने गर्छन्।

औलोको कारण मृत्यु हुने मानिसको सङ्ख्या अफ्रिकामा सर्वाधिक छ।

तस्वीर कपीराइट Science Photo Library

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रत्येक वर्ष झन्डै दुई लाख ५० हजार बालबालिकाले औलोका कारण ज्यान गुमाउँछन्।

डा. ओ'ब्रायन भन्छन्, "यो खोप विकास गर्नका निम्ति एकदमै कठिन रोग हो।"

सन् २००९ मा उक्त खोपको प्रारम्भिक परीक्षण थालिएको थियो।

"त्यसमा सातवटा मुलुकका १५ हजार बालबालिका सहभागी थिए," उक्त खोप विकासमा संलग्न विश्व स्वास्थ्य सङ्गठनका डा. डेभिड सेलेनबर्गले भने, "त्यो परीक्षणले यो खोप लाक्षणिक र गम्भीओर खाले औलोबाट बचाउन प्रभावकारी देखाएको छ।"

यो खोपले के फरपार्ला?

सन् १९८७ मा एउटा औषधि कम्पनी जीएसकेले यसको निर्माण गरेको थियो। त्यसपछि तीन दशक लगाएर यसलाई परिमार्जित गरियो।

पाथ मलेरिया भ्याक्सिन इनिशटिभ नामक संस्थासहित विभिन्न सङ्गठनहरूले परीक्षणका लागि गरेको सहयोगको गणना गर्दा अहिलेसम्म यसको विकासका लागि झन्डै एक अर्ब अमेरिकी डलर खर्च भइसकेको छ।

चालीस प्रतिशत सफलता दर खासै ठूलो हैन। तर झुल र किटनाशक विषादीजस्ता पहिलादेखि नै प्रयोग भइरहेका अन्य सुरक्षात्मक उपायसँग यो खोप पनि थपिने सेलेनबर्ग बताउँछन्।

उनका अनुसार कसैले पनि यो खोपलाई चामत्कारिक भएको दाबी गरेका छैनन्।

यो खोप चार पटक दिनुपर्छ। तीन महिनासम्म प्रतिमहिना एक-एक पटक दिएको १८ महिनापछि चौथो खोप दिनुपर्छ।

सन् २०२३ मा यो परीक्षण सकिने अपेक्षा गरिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
औलो

सम्बन्धित समाचार