भूकम्पको चार वर्षः लाप्राकवासी गुप्सीपाखा सर्लान् कि नसर्लान्

  • 25 एप्रिल 2019
गुम्सीपाखा तस्वीर कपीराइट Michael hutt

बैशाख १२, २०७२ सालमा गएको ७.८ म्याग्निट्युडको भूकम्पको केन्द्रबिन्दु १,९०० मीटर उचाइमा रहेको बारपाक मानिएको छ।

बारपाकदेखि १० किलोमिटर उत्तरमा रहेको लाप्राक पुरानो पहिरोमाथि रहेको छ र उत्तर फर्केको पहाडी भेगमा २,१०० मिटरमा अवस्थित छ।

बारपाकका ४,९८५ जनसङ्ख्यामध्ये अधिकांश घले र गुरुङ जातिका छन् र लाप्राकका २,१६१ जनसङ्ख्यामध्ये अधिकांश गुरुङ जातिका छन्।

दुवै गाउँमा दलितहरूको पनि सानो सङख्या छ।

भूकम्पले ध्वस्त गाउँहरू

दुवै गाउँका मानिसहरूमा ब्रिटिश र भारतीय सेनामा काम गर्ने परम्परा रहिआएको छ। कैयौँ युवा खाडी मुलुक र अन्य देशमा कार्यरत छन्।

लाप्राकका कैयौँ युवा पथप्रदर्शक र भरियाका रूपमा पर्यटन व्यवसायमा पनि लागेका छन्।

दुवै गाउँ २०७२ सालको भूकम्पमा झण्डै सम्पूर्ण रूपमा ध्वस्त भएका थिए।

तर दुई ठाउँको भूकम्पपछिको अनुभव भने आकाश-पातालले फरक छ।

बारपाकका १,३०० घरमध्ये अधिकांश या पुनर्निर्माण भइसके या त भइरहेका छ्न्।

तस्वीर कपीराइट Khem Shreesh

धेरैजसो घरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् सरकारले दिने भनेको आर्थिक सहायता पाइसकेका छन्।

ब्रिटिश सेनाका २६ जना अवकाशप्राप्त व्यक्तिको घर भने गोर्खा वेलफेयर ट्रष्टले दिएको रकम समेत प्रयोग गरेर बनाइएका छन्।

धनी-गरीब भेद

कैयौँ स्थानीयवासी भूकम्पअघिको बारपाकका घरहरू उस्तै-उस्तै आकार-प्रकारका भए पनि अहिले ठूला र साना भएकाले धनी र गरीबको भेद प्रस्ट भएको बताउँछन्।

विद्यालयका नयाँ भवनहरू जापानी सहयोग निकाय जाइकाको सहयोगमा बनिरहेका छन्।

राष्ट्रिय भूकम्प स्मारक ‍गाउँमाथि २१७ रोपनीमा बनिरहेको छ।

गोलो डिजाइनमा बनिरहेको यो संरचनामा ठूलो घडी हुनेछ जुन ११:५६ बजे टक्क रोकिएको हुनेछ।

चौधवटा पिलरले अतिप्रभावित १४ जिल्लाको संस्मरण गराउनेछन् र नेपालभरि मृत्यु भएका ९,२०० मानिसहरूको नाम पनि लेखिनेछ।

भिन्न लाप्राक

तर लाप्राकको अवस्था भने धेरै भिन्न छ। त्यहाँ सन् १९९९को जुलाइ महिनामा ठूलो पहिरो गएको थियो।

र, सन् २०१५ को भूकम्पले यसको कमजोर भूगोललाई झन प्रस्ट्याइदिएको छ। त्यसैले नयाँ एकीकृत बस्ती बनाइएको छ जहाँ ५७३ वटा घर बनाइएका छन्।

त्यसको निर्माण सम्पन्न भएपछि लाप्राकवासीहरू त्यहाँ स्थानान्तरण हुने ठानिएको छ।

यो बस्ती निर्माणका लागि आवश्यक धेरैजसो पैसा गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएले जुटाएको छ। उसले ४२ करोड रुपैयाँ उसका सदस्यताबाट भूकम्पपछि उठाएको छ।

एनआरएनएले उठेको केही रकम उद्धारमा खर्च गरेर बाँकी करिब ३५ करोड रुपैँया ठूलो योजनामा केन्द्रबिन्दु नजिकै रहेका मानिसहरूको खाँचोमा आधारित भएर खर्च गर्ने निर्णय गरेको थियो।

तस्वीर कपीराइट Michael hutt

भूकम्प गएका बेला धेरै लाप्राकवासीहरू गुप्सीपाखातिर भागेका थिए। जुन उनीहरूको ध्वस्त भएको गाउँभन्दा ६०० मिटर टाढा छ।

र, त्यही उनीहरू कैयौँ महिना बसेका थिए। कतिपय त वर्षौँसम्म त्यहीँ अस्थायी टहरामा बसेका थिए।

कसले बनाउँदैछ बस्ती?

गुप्सीपाखाको जमिन सरकारी थियो। भूकम्पको पहिलो वर्ष पूरा भएका बखत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली सङ्घबीच नयाँ बस्ती बसाउनेबारे सहमति भएको थियो।

एनआरएनएले भवन निर्माणको आर्थिक जिम्मा लियो र हरेक घरका लागि दुई लाख ५० हजार छुट्यायो।

अरू केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि यो आयोजनामा सहभागी भए। लुथ्रन वर्ल्ड फेडेरेशनले सडक निर्माण गरिरहेको छ।

केयर नेपालले खानेपानी वितरण प्रणालीमा काम गरिरहेको छ। नयाँ गाउँमा स्वास्थ्यचौकी हुनेछ। एउटा नयाँ विद्यालय केही तल उत्तरपट्टि सञ्चालित छ।

हामीलाई गुप्सीपाखा साइटमा नेपाली सेनाका अधिकारी र एनआरएनएका साइट ओभरसियर डिलप्रसाद गुरुङले घुमाएका थिए।

१२ बैशाख २०७६ मा भूकम्प गएको चौथो वर्ष पुगेक बेला यो बस्ती निर्माण सम्पन्न गर्ने लक्ष राखिए पनि हामीलाई ६२ प्रतिशत मात्र काम पूरा भएको बताइएको थियो।

त्यहाँ बनाइएका ५७३ वटै घर एकै प्रकारका छन्। भुइँतलामा दुईवटा कोठा छन्, एउटा बुँइगल छ र बाहिर एउटा शौचालय छ।

शुरूको डिजाइनमा घरको भित्ताको माथिल्लो भाग र बुइँगलको भुँइका लागि बाँस प्रयोग गर्ने भनिएको थियो, तर अहिले त्यो 'रद्द' गरेर काठ प्रयोग गरिएको छ।

पहिले जस्ताको छाना हाल्ने भनिए पनि शीत खस्ने भन्ने चिन्तापछि फेरिएको छ।

नयाँ गाउँका घरहरू एउटा निश्चित ढाँचामा बनाइएका छन् र गाउँलाई १६ भागमा बाँडिएको छ।

आवश्यक सबै इँटा त्यही बनाइएको छ। भित्ताको माथिल्लो भागमा प्रयोग गर्न हल्का ब्लकहरू चितवनबाट ल्याइएको छ।

नयाँ र पुरानो गाउँमा बनाइएको मोटर जाने कच्ची बाटो भूकम्पपछि बनाइएको हो।

हामी गुप्सीपाखा पुगेका दिन १८५ जना नेपाली सेनाका जवान र १२० अरू सर्वसाधारण काम गरिरहेका थिए।

सैनिकहरू गोरखास्थित राना सिङ दल बटालियन सम्बद्ध थिए। तर दक्ष कामदारहरू नेपाली सेनाका अरू ५२ वटा इकाईबाट पनि झिकाइएका थिए।

श्रमदान

नेपाली सेनाले हरेक घरको गाह्रो झ्याल र स्टील फ्रेम बनाउने ठेक्का पाएको छ। अरू ठेकेदारले छाना छाउने र रङ्ग लगाउने काम पाएका छन्।

आयोजनाको शुरूवाततिर लाप्राकवासीले सबै काठ-ढुङ्गा बोकेर श्रमदान गरेका थिए।

तस्वीर कपीराइट Khem Shreesh

प्राधिकरणको भूकम्पप्रभावितको मापदण्डमा परेका सबै लाप्राकवासीले नयाँ घर पाउने निर्णयपछि सन् २०१६ मा चिट्ठा हालेर घर बाँडिएको थियो।

यो वितरणमा पुरानो गाउँमा जस्तो जात र जातीयतालाई महत्त्व दिइएको थिएन भनिएको छ।

तर लाप्राकको पुरानो गाउँमा हामी पुग्दा त्यहाँका धेरैजसो घरहरू बनिसकेका या बनाइँदै गरेको पायौँ।

छोटो भ्रमण भएकाले त्यो घर बनाउन उनीहरूले एनआरएको सहयोग पाए या आफ्नै स्रोतले बनाए या ऋण लिएर बनाए भन्ने स्थापित गर्न सकेनौँ।

कैयौँले भत्केका घरका सामग्री पुनर्प्रयोग गरेका थिए। र, ती घरहरू प्राधिरकणको भूकम्पप्रतिरोधी मापदण्ड प्रयोग गरेर बनाइएका जस्तो देखिन्नथे।

हामीले कुराकानी गरेका करिब बीसजना लाप्राकवासी नयाँ गाउँमा सर्नेबारे अनिश्चित देखिन्थे।

केहीले त्यो उच्च ठाउँमा रहेकाले बस्न असाध्यै चिसो हुने बताए। हामी पुग्दा पनि त्यहाँ भुइँमा हिउँ जमेको थियो।

केहीले चाहिँ पानी पर्ने मौसमका बेला पहिरो जाने खतरा बढेका बेला त्यहाँ अस्थायी रूपमा बस्न जान सक्ने विचार गरेको बताए।

र, हामीले कुराकानी गरेका धेरैले उनीहरूको खेतीपाती र खेतबारी पुरानो गाउँभन्दा पनि तल रहेको औँल्याए।

उनीहरूले गुप्सीपाखामा केही उब्जाउन नसक्ने बताउँदै ठाडो उकालो ओरालो दैनिक रूपमा गर्न गाह्रो हुने बताए।

भविष्य?

भूकम्पअघि लाप्राक एकदम सफा, आफ्ना आवश्यकता आफैँले पूरा गर्न सक्षम र आफ्नो समुदायमा जातीय र सांस्कृतिक समन्वय भएको भनेर चिनिन्थ्यो। गुरुङ भाषा अझ पनि त्यहाँको प्रमुख भाषा हो।

तर अब यसको भविष्य के होला भन्ने सोचाइ जो कसैलाई आउन सक्छ।

हामीले कुराकानी गरेकाहरूले त्यो आयोजनाबारे आफूहरूसँग कुराकानी गरिएको बताए। तर भूकम्पबाट त्रसित समयमा गरिएको कुराकानीका बेला त्यसको प्रभावबारे सोच्न नसको बताए।

यदि लाप्राकका धेरै मानिसले गुप्सीपाखामा बनाइएको नयाँ गाउँमा नसर्ने निर्णय गरे भने उनीहरू पुरानो गाउँमा हुन सक्ने थप पहिरोको जोखिममा पर्नेछन्। त्यो जोखिम मनसुनी वर्षाका कारण या भूकम्पका कारण पैदा हुन सक्छ।

यदि सरे भने पनि केहीका लागि कृषिकर्मबाट जीविका चलाउन भने कठिन हुनेछ। उनीहरूले जीवनयापनका लागि अरू उपाय अपनाउनुपर्नेछ। जसले उनीहरूको जीवनमा ठूलै परिवर्तन ल्याउनेछ।

हामी आशा गर्छौँ अरू अनुसन्धानकर्ताहरू गुप्सीपाखा बस्ती निर्माण सम्पन्न भइसकेपछि त्यहाँ जान प्रोत्साहित हुनेछन् र यी चासोबारे गहिरो अनुसन्धान गर्नेछन्।

(युनिभर्सिटी अफ लण्डनका प्राध्यापक माइकल हट र खेम श्रीषले गोरखा जिल्लाको बारपाक र लाप्राक गाउँमा गत मार्चकोदेखि ९ तारिखसम्म भ्रमण गरेका थिए। यो उनीहरूको प्रकाशित ब्लगको भावानुवाद हो।)

गुप्सीपाखामा बुधवार पुगेका हाम्रा संवाददाता ईश्वर जोशीको स्थलग रिपोर्टः

गैरआवासीय नेपाली सङ्घले लाप्राकको गुप्सीपाखामा निर्माण गरिरहेको एकीकृत बस्तीमा बसोबास गर्न कठिन हुने भूकम्पपीडितले बताएका छन्।

भूकम्प गएको चार वर्ष पुगिसक्दा पनि लाप्राकका भूकम्पपीडितहरू पहिलेको ठाउँमा टिन र काठको घर बनाएर बसेका छन् ।

गैरआवासीय नेपाली सङ्घले गुप्सीपाखामा निर्माण गरेको भवनमा सर्दा विभिन्न समस्या हुने लाप्राककी भूकम्पपीडित सुशीला गुरुङले बताइन्।

"घर त बन्छ तर खाना चाहिन्छ, त्यहाँ खेतीनजिकै छैन। खेती गर्न तल गाउँमा आउनुपर्छ। बोक्न सक्नेले त अलिअलि बोक्लान्, बोक्न नसक्नेका लागि के गर्ने उकालो छ बाटो। त्यही भएर समस्या छ।"

समस्या

लाप्राकमा खेतीपाती गर्ने गुप्सीपाखामा बसोबास गर्दा बस्न र खान समस्या हुने उनी बताउँछिन्।

भूकम्प जानुअघि लाप्राकवासीले भेडीगोठ र पशुपालनको चरनको रूपमा प्रयोग गर्दै आएको गुप्सीपाखामा भूकम्पपीडितका लागि भवन निर्माण गरिएको छ ।

घर मात्र भएर के गर्ने अन्य सुविधा छैन भन्छन् लाप्राकका मानबहादुर गुरुङ।

उनी थप्छन्, "गुप्सीपाखामा पहिला पहिला असार साउनमा गोठ बस्थ्यौँ। त्यहाँ केही उब्जाउ हुँदैन, अलिअलि मुला र सागपात मात्रै उब्जाउ हुने हो। ठाउँ पनि उत्तर फर्केको छ। वर्षायाममा हिलै हिलो हुन्छ भने हिउँदमा हिउँ नै हिउँ हुन्छ।"

लाप्राकका भूकम्पपीडितहरूले गुप्सीपाखामा बसोबास गरे पनि खेतबारी लाप्राकमा रहेकाले खेती गरेर भित्र्याउन समेत समस्या हुने उनीहरूको भनाइ छ ।

गुप्सीपाखामा गैर आवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि ५७३ वटा चारकोठे भवन बनाइरहेका छन्।

भवन हस्तान्तरणपछि भूकम्पपीडितहरू उक्त भवनमा आउने बताउँछन् लाप्राक एकीकृत बस्ती परियोजनाका व्यवस्थापक इन्जिनियर लक्ष्मण अर्याल।

"मुख्य कारण भनेको यहाँको मौसम हो। हिमपात र वर्षा पनि धेरै नै हुने भएर उहाँहरूको मानसिकता अलिकति परिवर्तन भएको हो। तर ५७३ वटा घरै यहाँ आउने भन्ने जानकारी हामीले पाएका छौँ।"

भौगोलिक हिसाबले विकट गुप्सीपाखामा बाटो र यातायातको सुविधा छैन।