ह्वावेइ विवाद: ब्रिटेनका मन्त्रीहरूद्वारा सूचना चुहाइएको गुनासो

  • 25 एप्रिल 2019
ह्वावेइ तस्वीर कपीराइट Reuters

ब्रिटेनमा चिनियाँ सञ्चार कम्पनी ह्वावेइको प्रविधि प्रयोगबारे भएका उच्चस्तरीय छलफलका विषय चुहिएपछि सरकारका मन्त्रीहरूले 'पूर्ण तथा उचित' अनुसन्धानको माग गरेका छन्।

सुरक्षा जोखिमका चेतावनी दिइएको भएतापनि त्यहाँको सरकारले नयाँ फाइभ जी डेटा नेटवर्कका निम्ति ह्वावेइका उपकरण आपूर्तिका लागि सहमति जनाएको छ।

मङ्गलवार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सो सहमति भएको विश्वास गरिन्छ।

एकजना मन्त्रीले भने परिषदको बैठकको सूचना चुहाइनु 'कदापि मान्य नहुने' बताएका छन्।

ती वरिष्ठ मन्त्रीले बीबीसीकी राजनीतिक सम्पादक लरा क्युन्सबर्गलाई भने अनुसार परिषदमा भएका कुराकानी 'असाधारण' हुन् र तिनको गोपनीयताको ख्याल गरिनुपर्ने संकेत गर्दै उनले ती '….पवित्रभन्दा पनि अति पवित्र' सूचना भएको बताए।

बैठकमा उक्त चिनियाँ कम्पनीसँग साथ मिलेर काम गर्ने बारे निकै चिन्ता प्रकट भएको उनले बताए।

कस्तो सूचना चुहाइएको थियो?

मन्त्रीहरूले नयाँ फाइभ जी भनिने पछिल्लो पुस्ताको सञ्चार प्रणालीका निम्ति ह्वावेइका उपकरण प्रयोग गर्न दिने कि नदिने बारे निर्णय गर्दै थिए। यो निर्णयको राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर हुन सक्थ्यो।

चिनियाँ कम्पनीलाई महत्त्वपूर्ण भूमिका दिँदा ब्रिटेनको सञ्चार सञ्जाल जासुसी गर्नेहरूका लागि खुला हुन सक्ने चिन्ता व्यक्त गरिएका छन्।

तर ह्वावेइले भने उसका उपकरण र प्रणालीमा जासुसी वा ध्वंस हुने कुनै खतरा नरहेको भनेको छ। आफूलाई चिनियाँ सरकारले नियन्त्रण नगर्ने पनि उसले बताएको छ।

डेली टेलिग्राफका अनुसार ह्वावेइलाई ब्रिटेनको फाइभ जी नेटवर्कका केन्द्रीय बाहेकका एन्टेनाहरू बनाउने जस्ता प्रणाली विकासमा सहभागी गराइनेछ।

तस्वीर कपीराइट Getty Images

प्रधानमन्त्री टरिजा मेले अध्यक्षता गरेको परिषदको मङ्गलबारको बैठकले त्यस्तो निर्णय गरेको विश्वास गरिएको छ।

फाइभ जी नेटवर्कमा ह्वावेइको भूमिकाबारे कुनै आधिकारिक पुष्टि गरिएको छैन। प्रधानमन्त्रीको कार्यालयले यसबारे अन्तिम निर्णय बसन्त यामको अन्ततिर लिइने बताएको छ।

किन यो चुहावट गम्भीर भयो?

राष्ट्रिय सुरक्षा परिषदमा सुरक्षाका जिम्मेवारी भएका वरिष्ठ मन्त्रीहरूले भेटघाट र छलफल गर्छन्। यसमा भएका कुराकानी गोप्य मानिन्छन्।

बीबीसीको क्युन्सबर्ग भन्छिन् परिषदमा भएको कुराकानी चुहिएकोमा 'साँच्चिकै रिस' उठेको देखिएको छ।

एक वरिष्ठ मन्त्रीले पूर्ण छानबिनको माग गर्दै जिम्मेवारलाई पदबाट हटाउन समेत आवश्यक भएको बताए।

एकजना सूत्रले क्युन्सबर्गसँग कुरा गर्दै चारजना क्याबिनेट मन्त्रीले सुरक्षामा सम्झौता हुन सक्ने भन्दै ह्वावेइको विरुद्ध बोलेका थिए।

ह्वावेइप्रति किन मानिसहरू चिन्तित?

कम्तीमा सन् २०१२ यता अमेरिकामा ह्वावेइका उपकरणबाट सुरक्षा जोखिम रहेको चेतावनी दिँदै आइएको थियो।

गत वर्ष एक ब्रिटिश सरकारी प्रतिवेदनले सो कम्पनीको पूर्वाधार प्रयोगले राष्ट्रिय सुरक्षामा जोखिम पार्दैन भनेर उसले केवल 'सीमित आश्वासन' मात्र दिन सक्ने भनेर उल्लेख गरेको छ।

पछिल्लो समय अमेरिकाले कम्तीमा पाँच देश जसका बीच अत्यन्त निकट जासुसी सम्बन्ध छ - अमेरिका, ब्रिटेन, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड - हरूले ह्वावेइलाई वञ्चित गराउनु पर्ने भन्दै आएको छ।

अस्ट्रेलियाले गत वर्ष नै उसका नेटवर्कहरूलाई ह्वावेइको फाइभ जी सम्बन्धी उपकरण प्रयोग नगर्न भनिसकेको छ।

के हो फाइभ जी?

फाइभ जी भनेको मोबाइन इन्टरनेट कनेक्टिभिटीसम्बन्धी पछिल्लो पुस्ताको प्रणाली हो जसले डेटा डाउनलोड वा अपलोडमा निकै उच्च गति, तथा थप स्थिर प्रणालीको प्रत्याभूति गर्ने ठानिन्छ।

हाल प्रयोगमा आएका स्पेक्ट्रम ब्याण्ड भनिने इन्टरनेटसम्बन्धी डेटा मार्ग निकै साँघुरो हुन थालेको र एकै क्षेत्रमा धेरै मानिसले एकै पटक कुनै सेवा लिन चाहेमा प्रणालीले काम गर्न नसक्ने अवस्था उत्पन्न हुने गरेको छ।

जबकी फाइभ जी प्रणाली भने फोन देखि भिडिओ क्यामेरा देखि स्मार्ट सडक बत्तीजस्ता हजारौँ उपकरणलाई एकै पटक व्यवस्थापन गर्न थप सक्षम छ।

विद्यमान फोर जी नेटवर्कले इन्टरनेटमा औसतमा ४५ एमवीपीएस गति दिन्छ। विज्ञहरू भन्छन् फाइभ जी - जुन प्रणाली यसै वर्षदेखि ब्रिटेनमा लागु हुँदैछ - ले चाहिँ त्यो भन्दा २० गुणा धेरै गति दिन्छ।