किन आतुर छन् देश छोड्न नेपाली महिला

  • 18 मे 2019
महिला तस्वीर कपीराइट Getty Images

नेपालमा विसं २०७२ मा आएको भूकम्पपछि नेपाली महिलाको तस्करी ह्वात्तै बढेको र सामाजिक सञ्जालले मानवतस्करहरूलाई आफ्नो काम गर्न सजिलो बनाइदिएको पत्रकार विक्की स्प्र्याटले पत्ता लगाएकी छन्।

भवनको वरपर हाँसो र गीतसङ्गीतको ध्वनिमा बाहिर गाडीहरूले हर्न बजाएको आवाज मिसिएको छ।

कोठाका भित्ताहरू गाढा सुन्तला रङ्ग, समुद्री गाढा नीलो र गुलाफी रङ्गले सजाइएका छन्। यी सबै रङ्ग यहाँ बस्नेहरूले नै लगाएका हुन्।

यो काठमाण्डूको एउटा आश्रयस्थल हो जहाँ बेचबिखनमा परेका महिला बस्छन्।

तस्वीर कपीराइट Getty Images

आफ्नो सामान्य जीवनमा फर्कने प्रयास गरिरहेका उनीहरूलाई यहाँ सहयोग गरिन्छ।

म यहाँ ३५ वर्षीया चाँदनीलाई भेट्न आएकी हुँ।

एक वर्षअघि उनलाई एक अपरिचित व्यक्तिले फेसबुकमा साथी बन्ने 'रिक्वेस्ट' पठाए। उनले त्यो स्वीकारिन्।

र, छिट्टै ती व्यक्तिले उनलाई सन्देशहरू पठाए। त्यसपछि दुवैले एकअर्कालाई गोप्य सन्देशहरू अन्लाइन पठाउने क्रम चल्यो। ती अपरिचित व्यक्ति मानवतस्करीमा सम्मिलित दलाल रहेछन्।

चाँदनीलाई कुरिरहँदा मैले झ्यालबाट बाहिर एकटक हेरेँ - पानीसँग मिसिएर धुलो चक्कर लगाउँदै उडिरहेको छ।

उत्तरी भेगमा राजधानीलाई घेर्ने हरिया पहाडमाथि अवस्थित हिमालहरूलाई बादलले ढाकेको छ।

मेरी अनुवादक सुजाताले त्यो धुलो 'निर्माणको काम'बाट आएको बताइन्।

"तिनीहरू भवन पुनर्निर्माण गर्दैछन्," चार वर्षअघिको भूकम्पले धेरै भवन भत्काएको उनले बताइन्।

प्राकृतिक विपद् निर्माण उद्योगीलाई जस्तै मानव बेचबिखनमा लागेकाहरूलाई पनि राम्रो अवसर बनेर आयो।

तस्वीर कपीराइट Getty Images

बेचबिखन हुने श्रमिकको आधुनिक स्वरूपको दासव्यापार यहाँ यसअघि नै फस्टाइरहेको थियो। भूकम्पले त आफ्ना परिवारसँग छुट्याएर र कामको खोजीमा मानिसहरूलाई झन् जोखिममा पुर्‍यायो।

भारतीय सीमा सुरक्षा बलका अनुसार पीडितको सङ्ख्या पाँच सय प्रतिशतले बढेको छ।

महिलाका लागि आश्रयस्थल चलाउने चरीमाया तामाङ आफैँ सन् १९९० मा बेचबिखनमा परेको उनले मलाई सुनाइन्।

उनलाई लागुपदार्थ खुवाइयो, अपहरण गरियो र भारतको एउटा कोठीमा लगियो।

अहिले प्रविधिले मानव बेचबिखनको यो व्यापारमा नयाँ अवसर उपलब्ध गराएको उनी बताउँछिन्।

"सामाजिक सञ्जालले दलाललाई साँच्चै सघाउ पुर्‍याइरहेको छ - आजकाल उनीहरूलाई किशोरीहरू खोज्न विकट गाउँ जानु नै पर्दैन," उनले भनिन्।

"उनीहरूले सम्भावित व्यक्तिलाई अन्लाइन खोज्छन् र एउटा क्लिकको भरमा सन्देश पठाउँछन्।"

दलालको दाउ

ढोका खुल्यो र गम्लङ्ग अँगालो हाल्दै चाँदनीले मलाई स्वागत गरिन्।

उनी कसरी फेसबुकमा आएको एउटा 'रिक्वेस्ट' बाट बेचबिखनको जालोमा परिन् त्यो उनले मलाई बताइन्।

त्यो अनुरोध कुनै हानि नपुर्‍याउने खालको उनलाई लागेको थियो। उनले भनिन्, "एउटा मान्छे थियो जो मेरो दिदीसँग फेसबुकमा कुरा गर्थ्यो।"

"उसले मलाई फेसबुकमा साथी बनाएपछि सन्देश पठाउन थाल्यो। उसले मलाई इराकमा राम्रो पारिश्रमिक दिने जागिर मिलाइदिन सक्ने बतायो। मैले उसलाई कहिल्यै भेटिनँ, तर एकदिन मेरो पासपोर्ट र भिजा दिन अर्को मानिसलाई पठायो।"

भूकम्पका बेला चाँदनीको घर पनि भत्कियो। फेसबुकमा त्यो व्यक्तिले उनलाई सन्देश पठाउँदा उनी अस्थायी बासमा बसिरहेकी थिइन्।

दलालले केही महिनाअघि देखि नै चाँदनीकी बहिनीसँग पनि कुराकानी गर्दै आएको थियो।

र, भूकम्पपछि सबैतिर अस्तव्यस्तता हुँदा उनले मौकाको फाइदा उठायो।

राहदानी दिएपछि त्यो दलालले चाँदनीलाई इराकमा घरेलु कामदारको जागिर भएको बतायो। उसले चाँदनीलाई दिल्लीसम्म पुर्‍याउन आफ्नो भाइले सबै व्यवस्था गर्ने आश्वासन दियो।

त्यहाँ पुगेपछि पहिला वाचा गरिएअनुसार मध्यपूर्वको उडान हुनुको सट्टा उनलाई एउटा कोठामा धेरै हप्तासम्म थुनेर राखियो। त्यहाँ अन्य १८ महिलालाई पनि थिए।

मैले थप कुरा जान्न खोज्दा चाँदनीले आँखा अन्तै डुलाइन्। मैले उनको आँखा रसिला भइसकेको देखेँ।

त्यो बन्द कोठामा बस्दा उनको मस्तिस्कामा कस्ता कुराहरू खेलिरहेका थिए भनेर मैले सोधेँ।

तस्वीर कपीराइट Getty Images

उनले आफू अब बेचिन लागेको थाहा पाएको बताइन्। बेचबिखनका कथाहरू नेपालमा जताततै छन्।

यस्तोमा पर्नु हुँदैन भन्नेबारे सचेत रहन बजाइने सन्देशहरू सुन्दै महिलाहरू हुर्किन्छन्।

यो थाहा भएकै जोखिम हो। तर आफ्नो र आफ्नो परिवारको भाग्य बदल्ने आशामा चाँदनीले यो कदम चाल्ने इच्छा गरिन्।

कामका लागि देश छोड्ने काम नेपालमा अस्वाभाविक होइन। तर नयाँ जीवनको खोजी र आर्थिक स्वतन्त्रता युवतीहरूका लागि खतरा हुन सक्छ। खासमा एउटा विवादास्पद कानुनका अनुसार ३० वर्ष भन्दा कमका महिलाहरू आफ्ना अभिभावकको अनुमतिविना जानु नै गलत र खतरापूर्ण हो।

विकट नेपालका युवतीहरूजस्तै चाँदनी पनि अवसर नपाउँदा लामो समयदेखि निराश थिइन्।

त्यही बेला उनलाई फेसबुकमा इराकमा घरेलु कामदारको रूपमा काम गरेर राम्रो आम्दानी हुने जागिरको अवसरको आशा देखाइएको थियो।

"मेरो घरमा सबै जना खेतमा काम गर्छन् ," उनले भनिन्।

"खेतमा काम गर्न एकदमै गाह्रो हुन्छ र मलाई पटक्कै मन पर्दैन र पैसा पनि हुँदैन।"

उनलाई विवाह गर्ने इच्छा पनि थिए।

"मैले धेरै महिलाले विवाह गरेर पनि राम्रो गर्न सकेको देखेको छैन," उनी हाँसिन्, "तर धेरै पुरुषहरूले धोका दिइरहेको देख्छु।"

चाँदनीका कुरा अनुवाद गर्दा सुजाता हाँसिन् र मैले पनि हाँसो रोक्न सकिनँ। यद्यपि म आफ्नो आँसु थाम्न सङ्घर्ष गर्दै थिएँ।

चाँदनीलाई जीवनमा अघि बढ्न पुरुष नै चाहिन्छ भन्ने धारणा मन पर्दैन।

मैले चाँदनी रहेको आश्रयस्थल छोड्नुअघि उनले यताउता हेरिन् र आफ्नो भाग्यको पुन: परीक्षण गर्न सक्ने बताइन्।

"म पैसा कमाउनका लागि जहाँ पनि जान्छु," उनले निडर भएर भनिन्।

"म फेरि पनि विदेश जान प्रयास गर्छु।"

सम्बन्धित समाचार