इरान परमाणु सम्झौता: तेहरानले युरेनियम प्रवर्द्धन बढाउन सक्छ

  • 8 मे 2019
इरान तस्वीर कपीराइट AFP

अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ।

राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्टा आफ्नै देशमा त्यसको प्रवर्द्धन गर्ने बताएका हुन्।

उनले प्रवर्द्धित युरेनियमको उत्पादनलाई अबको ६० दिनमा उच्च तहमा पुर्‍याउने धम्कीसमेत दिएका छन्।

सम्झौता

यो सम्झौता इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पार्ने लक्ष सहित उमाथिको रहेको प्रतिबन्ध खुकुलो पारेर गरिएको थियो।

वाशिङ्टन सम्झौताबाट पछि हटेपछि इरान-अमेरिका तनाव बढेको छ।

अमेरिकाले सम्झौताबाट पछि हटि प्रतिबन्धहरू पुन: लगाएपछि इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ।

इरानले सम्झौताका आफ्ना बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र ब्रिटेनलाई यससम्बन्धी निर्णयबारे बुधवार बिहान जानकारी गराएको छ।

इरानका विदेश मन्त्री जावद जरिफले सम्झौता अन्तर्गतको अधिकार बमोजिम इरानले काम गरिरहेको र अब तीन युरोपेली शक्तिले त्यसमा काम गर्नुपर्ने बताए।

त्यसको प्रतिक्रियामा, फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली मिडियामा युरोपेली शक्तिहरू सम्झौतालाई जीवित राख्नका लागि आफूले सक्ने सबैकुरा गरिरहेको र सम्झौता पालना नभए त्यसको फल भोग्नुपर्ने संभवत: थप प्रतिबन्ध लगाइनेछ।

चीन र रुसले वर्तमान परिस्थितिका लागि वाशिङ्टन दोषी रहेको बताएका छन्।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पूर्वनिर्धारित कार्यक्रम बिनै इराकको भ्रमण गरेपछि र अमेरिकी 'एअरलिफ्ट क्यारिएर' खाडी क्षेत्रमा खटाइएपछि इरानको यस्तो घोषणा आएको हो।

अमेरिकी अधिकारीहरूले धम्कीबारे अमेरिकी फौज र इरानका आफ्ना साझेदारहरूलाई जानकारी गराएका छन् तर धम्कीको प्रकृतिबारे भने थोरैमात्रै विवरण दिएका छन्।

तस्वीर कपीराइट EPA
Image caption अमेरिकाले हालैका समयमा इरानमाथिको प्रतिबन्ध बढाएको छ।

राष्ट्रपति रुहानीले के भने?

रूहानीले आफूले सम्झौताको दुईवटा हिस्सा स्थगित गर्न लागेको बताए। जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसिपिओए) भनिने उक्त सम्झौतामा इरानले विशेष प्रकृतिको युरेनियम र पानीको विक्री भने गर्नेछ।

उनले त्यसपछि युरोपेली शक्तिहरू, रुस र चीनलाई आर्थिक र तेल सम्झौतामा पुग्नका लागि ६० दिनको समय दिएका छन्। उनीहरूले यदि त्यसो गरे इरानले बिक्रीलाई निरन्तरता दिनेछ।

यदि ती सम्झौताहरूमा पुग्न नसके र शक्ति राष्ट्रहरूले अमेरिकी प्रतिबन्धलाई नै पच्छाए इरानले युरेनियम प्रवर्द्धन सुरु गर्ने बताएको छ जुन अहिले बन्द छ। र, सम्झौताअघिको योजनामा आधारित अराक हेभ्भी वाटर रियक्टरको विकासलाई सुरु गरेको छ।

तर इरानका राष्ट्रपतिले सम्झौताबाट इरानले हात नझिकेको बताएका छन्।

"हामी यो सम्झौता छोड्न चाहँदैनौं। विश्वका सबै मानिसले आज यो सम्झौताको अन्त्य भएको होइन भनि बुझ्नुपर्छ; यो जेसिपिओएको संरचनाभित्रको नयाँ कदम हो," उनले भने।

यद्यपि, उनले यदि इरानको परमाणु मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पुगे पाँच शक्ति राष्ट्रले एउटा निर्णायक प्रतिक्रियाको सामना गर्नु पर्नसक्ने बताए।

युरोपेलीका लागि ठूलो दुविधा

जेसिपिओएले लगाएका केही प्रतिबन्धलाई इरानले पछाडि धकेल्न खोजेको छ तर त्यसबाट सम्पूर्ण रुपमा पछाडि हट्न खोजेको पनि छैन। त्यसबारे इरानले एउटा कठिन सन्तुलन मिलाउन खोजिरहेको छ।

यो सचेत हुन दिइएको एउटा संकेत हो र चेतावनी पनि हो। अमेरिकाले पुन: लगाएको प्रतिबन्धका कारण इरानले बढ्दो पीडा झेलिरहेको छ।

इरान केही राहत प्रदान गर्न युरोपेलीले तत्काल व्यवहारिक कदम चालोस् भन्ने चाहन्छ।

र यदि राहत नआए, इरानले सम्झौताको समग्र पालनाबारे पुनर्विचार गर्नुपर्ने हुनसक्छ।

यसले युरोपेलीहरूलाई एउटा ठूलो दुविधा प्रदान गरेको छ। उनीहरू इरानीहरू र ट्रम्प प्रशासनको चपेटामा परेका छन्।

इरान आफ्ना सर्तहरूमा पूर्ण रुपमा रहे के उनीहरूले सम्झौतासम्बन्धी समर्थनलाई निरन्तरता देलान्?

अमेरिकाले कुनै बिचको बाटो नभएकोमै जोड दिन सक्नेछ। इरानले जेसिपिओएको सर्तलाई मान्न पनि सक्छ र नमान्न पनि सक्छ।

यो परमाणु सम्झौता किन सङ्कटमा छ?

एक वर्षअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौताबाट पछि हट्ने घोषणा गरेपछि उक्त परमाणु सम्झौता अलमलमा परेको थियो।

इरानको मुद्राको मुल्य अहिलेसम्मकै सबैभन्दा कममा पुगेको छ र वार्षिक मुद्रास्फिति दर चारगुणा बढेको छ र वैदेशिक लगानी पनि अन्यत्रै गएको छ।

इरानको परमाणु गतिविधिको अनुगमन गर्ने निकाय इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आइएइए) का निरीक्षणकर्ताका अनुसार यति हुँदाहुँदै पनि इरानले सम्झौतामा आफ्नो प्रतिबद्धता जारी राखेको छ।

सम्झौताको समर्थन गर्ने युरोपेलीहरू जसले पुन: लगाइएको प्रतिबन्धको विरोध गर्छन् उनीहरूले यसलाई जोगाइराख्ने तरिकाहरू खोजेका छन्।

यसमा प्रतिबन्धलाई किनारा लगाउन इरानसँग व्यापार जारी राख्न चाहने अन्तर्राष्ट्रिय कम्पनीलाई पैसा तिर्ने विशेष प्रणाली बनाउन मद्दत गर्ने पनि रहेको छ।

तर उनीहरूले सम्झौताका सबै पक्ष र खासगरी परमाणु गतिविधिसँग सम्बन्धित कुरालाई इरानले पालना गर्नैपर्ने भन्दै चेतावनी दिएका छन्।

यद्यपि, यदि प्रतिबन्ध फेरि लगाइयो भने "त्यसले उसको प्रतिबद्धताहरू सम्पूर्ण वा आंशिक रुपमा मान्न नपर्ने आधार तयार पारिदिन्छ।"

तस्वीर कपीराइट Getty Images
Image caption डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका बेला इरानको परमाणु सम्झौताविरुद्ध बोलेका थिए

अमेरिका र इरानबीच किन त्यस्तो आक्रोश?

इरान र अमेरिकाबीचको तनाव सन् १९७९ मा भएको इरानको इस्लामिक क्रान्तिबाट सुरु भएको देखिन्छ जसमा पश्चिम समर्थक शाहलाई फ्यालेर अमेरिकी शासनविरोधी पक्षलाई संस्थागत गरियो।

सन् २०१६ मा राष्ट्रपति बनेयता खासगरी ट्रम्पले इरानप्रति एकदमै कठोर नीति लिए। र, अमेरिकाले परमाणु सम्झौताबाट आफूलाई अलग गरेको थियो।

एप्रिल महिनामा उठाएका दुई महत्त्वपूर्ण कदमबाट अमेरिकाले हालै इरानमाथि दबाबहरू थपेको थियो।

पछिल्लो महिना ह्वाइट हाउसले भनेको थियो कि पाँच देशहरू चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीलाई प्रतिबन्धबाट दिइएको छुट अमेरिकाले अन्त्य गर्नेछ। यी देशहरूले अझै इरानबाट तेल किनिरहेका थिए।

उसले इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्सलाई पनि आतंककारी समूहको संज्ञा दिँदै कालोसूचीमा राखेको थियो।