सगरमाथा आरोहण: सर्वोच्च शिखरमा भिन्न कीर्तिमान बनाउने आशामा छन् यी आरोहीहरू

  • 13 मे 2019
सगरमाथा तस्वीर कपीराइट PRADEEP BASHYAL/BBC

सगरमाथा आरोहणको अनुमति लिएका नेपाली तथा विदेशी पर्वतारोहीहरू आधार शिविरबाट शिखरतिर जान थालेका छन्।

यो वसन्त ऋतुका लागि नेपालको पर्यटन विभागबाट कुल ३७८ जनाले अनुमति लिएका छन्। यो सङ्ख्या अहिलेसम्मकै धेरै हो।

यसपालि विश्वको सर्वोच्च शिखर चढ्न लागेका केही आरोही र तिनका विशेषता यस्ता छन् -

कामिरिता शेर्पा (नेपाल)

नेपालका कामिरिताले शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन्। उनी अहिलेसम्म २२ चोटि सगरमाथाको शिखरमा आफ्नो पाइला राखिसकेका छन्।

यसपालि अभियान थाल्नुभन्दा अघि बीबीसीसँग कुराकानी गर्दै ४९ वर्षीय शेर्पाले तत्काल हिमाल चढ्न नछोड्ने बताएका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘सगरमाथा २५ पटक चढ्छु’

"सक्न त अक्सिजनको सहायतामा म ६० वर्षसम्म पनि हिमाल चढ्न सक्छु। तर एउटा बिन्दुमा पुगेर म रोकिनुपर्छ," उनको भनाइ छ।

"कम्तीमा २५ पटक चढेँ भने मैले रजत महोत्सव मनाउन सक्छु।"

एक्काइस पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्न्यास लिइसकेकाले तत्काल कामिरिताको कीर्तिमान भङ्ग हुने सम्भावना छैन।

अहिले कामरिता शेर्पा आफ्नै कीर्तिमान भङ्ग गर्ने अभियानमा छन्।

कोरी रिचर्डस (अमेरिका) र इस्तेबन 'तोपो' मिना (एक्वेडोर)

आरोही फोटोग्राफरको रूपमा चर्चित कोरी रिचर्डस र पर्वतारोही आरोही इस्तेबन 'तोपो' मिनाले उत्तरी मोहडाबाट अहिलेसम्म कसैले प्रयोग नगरेको बाटोबाट हुँदै शिखरतिर जान खोजेका छन्।

उनीहरू उत्तरी मोहडातर्फ झन्डै ६,४०० मिटर उचाइमा रहेको एड्भान्स बेस क्याम्प (एबीसी) बाट ठाडो उकालो लाग्नेछन्।

सगरमाथा आरोहणका लागि झन्डै एक दर्जन मार्ग पहिचान भए पनि अधिकांश आरोहण नेपालतिर एउटा र तिब्बततिर एउटा गरेर दुईवटा मार्गबाट हुने गरेका छन्।

"उनीहरूको यो आरोहण सफल भएमा हालका दुईवटा मार्गबाहेक अन्यत्रबाट पनि आरोहण हुने यो १० वर्षपछिको पहिलो आरोहण हुनेछ," आरोहण ब्लगर इलन अर्नेटले लेखेका छन्।

उनका अनुसार दक्षिण कोरियाली आरोही पार्क योङ-सोकले तीन चोटि असफल भएर सन् २००९ मा चल्तीका दुई बाहेकको मार्गबाट सफल आरोहण गरेका थिए।

कुन्तल जोइसर, भारत

भारतको मुम्बई निवासी ३९ वर्षीय कुन्तल जोइसर दुग्धपदार्थ पनि सेवन नगर्ने शुद्ध शाकाहारी हुन्।

सन् २०१६ मा नेपालतर्फ रहेको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका उनी यस पटक तिब्बततर्फ रहेको उत्तरी मोहडाबाट शिखर पुग्ने योजनामा छन्।

उनी कुनै पनि पशुजन्य उत्पादन प्रयोग नगरी आरोहण गर्न लागेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘भीगन’ शैलीमा सगरमाथा

"सगरमाथा चढ्ने शक्ति कसैको प्राण नलिईकनै सम्भव छ भन्ने मैले तीन वर्षअघि नै पुष्टि गरेको थिएँ," उनी सुनाउँछन्।

"सन् २०१६ मा मैले हिमाल चढ्दा लगाएको ज्याकेटमा चराको प्वाँख थियो। अहिले मैले लगाउने कुनै कपडा र प्रयोग गर्ने कुनै सामग्रीमा पनि जनावरका छाला वा रौँ केही मिसिएका छैन।"

क्रिस्टी एनिस (अमेरिका)

अमेरिकी सेनामा कार्यरत रहँदा क्रिस्टी एनिस सन् २०१२ मा अफगानिस्तानमा एउटा हेलिकप्टर दुर्घटनामा परिन्।

दुर्घटनामा उनले देब्रे खुट्टा गुमाइन्। त्यही दु:खद घटनाले उनलाई हिमालसँग जोडिदियो र उनी पर्वतारोहणका लागि तालिम लिन थालिन्।

"म आफूजस्तै अपाङ्गता भएका युवतीहरूलाई जीवनमा हार नखानका लागि प्रोत्साहन गर्न चाहन्छु," सगरमाथा आधार शिविरमा जानुअघि उनले बीबीसीलाई सुनाइन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
सगरमाथामा एक पाइला

"म सातै महादेशको उच्च शिखर चढ्ने अभियानमा अहिले सगरमाथासम्म आइपुगेकी हुँ।"

क्रिस्टीले अहिलेसम्म पाँचवटा हिमालको सफल आरोहण गरिसकेकी छन्।

नापी विभागको प्राविधिक टोली (नेपाल)

नेपालले पहिलो पल्ट सगरमाथाको उचाइ मापन गर्न आफ्नो प्राविधिक टोली खटाएको छ।

सगरमाथादेखि दक्षिणतिरका मध्यपहाडी तथा तराई क्षेत्रबाट सुरु भएको यो नापी अभियान सगरमाथाको चुचुरो पुगेर पूर्ण हुनेछ।

सगरमाथाको उचाइ पहिलो पल्ट सन् १९५० को दशकमा भारतको सक्रियतामा भएको थियो।

अहिले सगरमाथाको उचाए ८,८४८ मिटर मान्ने गरिन्छ।

तस्वीर कपीराइट DEPARTMENT OF SURVEY, NEPAL

भूगर्भविद्हरूचाहिँ हिमालय क्षेत्रमुनि रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको र त्यसले गर्दा हिमालयको उचाइ बढिरहने हुन सक्ने ठान्दछन्।

त्यस्तो पृष्ठभूमिमा सन् १९९९ मा अमेरिकाको न्याश्नल जिओग्राफिक सोसाइटीले जीपीएसको सहयताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालिदियो।

त्यसलाई नेपालले स्वीकार गरेन। सन् २००५ तिर चिनियाँ नापी सर्भेपछि 'चुमोलोमा' अर्थात् सगरमाथाको उचाइ ८,८४४ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटरजति रहेको निष्कर्ष निकालियो।

उचाइ विवाद झनै चर्किन पुग्यो।

सन् २०१० तिर मात्रै सगरमाथाको उचाइ पुन: ८,८४८ मिटर नै हो भन्ने सहमति जुट्यो। पछि सन् २०१५ मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरियो।

यो टोलीले सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउने अपेक्षा गरेको छ।

गोपाल श्रेष्ठ, नेपाल

पोखराका गोपाल श्रेष्ठ २३ वर्षअघि एचआईभीबाट सङ्क्रमित भएका हुन्। उनी कुनै बेला लागुपदार्थका दुर्व्यसनी थिए।

बीबीसीसँग कुराकानीमा गर्दै उनले थिए, "म सगरमाथा चढ्नका लागि शारीरिक र मानसिक रूपमा सक्षम छु।"

तस्वीर कपीराइट Facebook/Gopal Shrestha

सर्वोच्च शिखरमा पुगेर सङ्क्रमित मानिसहरूका लागि जीवनप्रति आशावादी हुन सन्देश दिन चाहेको उनले बताए।

"म चढ्न सफल भएँ भने एचआईभी सङ्क्रमितले जस्तोसुकै कठिन काम पनि गर्न सक्षम छन् भन्ने सन्देश जानेछ।"

न्याश्नल जियोग्राफिकको अध्ययन टोली

उच्च हिमाली क्षेत्रमा हुने चरम मौसमबारे अनुसन्धान गर्ने बहुवर्षीय परियोजनाअन्तर्गत न्याश्नल जियोग्राफिक सोसाइटीको एउटा टोली पनि अहिले सगरमाथाको चुचुरोतर्फ उक्लिँदैछ।

उनीहरूले सगरमाथाको चुचुरोसहित आरोहण मार्गमा पाँच विभिन्न मौसमी स्टेशन स्थापनाका लागि सरकारी अनुमति पाएका छन्।

नेपालको जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा भइरहेको उक्त अध्ययनले तत्कालीन र ऐतिहासिक मौसमी विवरण सङ्कलनका लागि सघाउने बताइएको छ।

बढ्दो तापमानको ठूलो असर हिमालयमा परिरहेको अध्ययनहरूले देखाइरहँदा उक्त अध्ययनले त्यस उचाइको जैविकीदेखि हिमनदीको स्थिरताबारे विवरणहरू दिने अपेक्षा गरिएको छ।

श्रीमान्‌को सम्झनामा आरोहण

खुम्बु पासाङल्हामु गाउँपालिकाका फुर्दिकी शेर्पा र निमा डोमा शेर्पाले 'टू विडोज एभरेस्ट एक्सपिडिशन २०१९' नाम दिएर आरोहण गर्दैछन्।

निमाका श्रीमान्‌ले सन् २०१४ मा खुम्बु आइसफलमा आएको हिमपहिरोमा ज्यान गुमाएका थिए। फुर्दिकीका श्रीमान्‌को २०१३ मा सगरमाथामा बाटो बनाउने क्रममा ज्यान गएको थियो।

तस्वीर कपीराइट .

श्रीमान्‌हरू छँदै साना हिमाल आरोहण गर्ने सपना बुनेका उनीहरूलाई त्यति खेर घरगृहस्थीले कहिल्यै फुर्सद दिएन।

"तर श्रीमान् साथमा नरहेपछि उनीहरूलाई हिमाल चढ्नअघि तयारी गराएको क्षण याद आउन थाल्यो," निमाले बीबीसीसँग भनिन्।

फुर्दिकीले सुनाइन्, "हाम्रो लागि यो कामको भावनात्मक रूपमा धेरै जोडियो। श्रीमान् गुमाएका अरू महिलाहरू समेत आफूले गर्न सक्ने र आफूलाई प्रेरित गर्ने पेसामा लागून् भन्ने सन्देश हाम्रो आरोहणले दिन खोजेको हो।"

सम्बन्धित सामग्री