जुलिअन असान्ज: बलात्कार आरोपको मुद्दा स्वीडनले ब्युँतायो, अब के हुन सक्छ

  • 13 मे 2019
असान्ज तस्वीर कपीराइट .

स्वीडनका अभियोजनकर्ताहरूले विकिलिक्सका सहसंस्थापक जुलिअन असान्जविरुद्धको बलात्कार अभियोगबारे पुन: छानबिन थाल्ने निर्णय गरेका छन्।

उक्त छानबिन पीडितको वकिलको अनुरोधमा सुरु हुने भएको हो।

सो आरोपको खण्डन गर्दै आएका असान्जले सन् २०१२ मा लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिएका थिए। शरण लिएकाले सात वर्षदेखि उनले सम्भावित सुपुर्दगीलाई छल्दै आएका थिए।

तर गत महिना उनलाई सो दूतावासले निकालिदियो तथा उनलाई जमानतका सर्त उल्लङ्घन गरेको भन्दै ५० हप्ताको जेल सजाय पनि सुनाइयो।

अमेरिकाले पनि सन् २०१० मा उसका गोप्य सैनिक तथा कूटनीतिक दस्तावेज छताछुल्ल पारिदिएको आरोपमा असान्जलाई आफ्नो देशमा सुपुर्दगी गरिदिन भनिरहेको छ।

अब के हुन्छ?

सोमवार स्वीडनको सार्वजनिक अभियोजन निकायकी उपनिर्देशक इभा-मारी पेर्सनले दुई वर्षअघि फिर्ता लिइएको असान्जविरुद्धको यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे पुन: छानबिन गर्ने निर्णय सुनाएकी छिन्।

उनले भनिन्: "असान्जले बलात्कार गरेको भन्ने शङ्का गर्ने आधारहरू रहेका छन्।"

त्यतिखेर असान्ज एक्वेडोरको दूतावासभित्र रहेकाले उनीविरुद्ध मुद्दा अघि बढाउन नसकिने स्वीडनका अभियोजनकर्ताहरूले बताएका थिए।

तर अहिले ती आरोप लगाउने महिलाले सो मुद्दा पुन: अघि बढाउन चाहेकी छन्।

गत महिना अचानक एक्वेडोरका अधिकारीहरूले असान्जलाई दिँदै आएको सुरक्षा फिर्ता गर्दै प्रहरीलाई डाकेपछि उनलाई पक्राउ गरियो।

सो घटनालगत्तै स्वीडनका अभियोजनकर्ताहरूले पनि पुन: मुद्दा चलाउनेबारे विचार गरिरहेका थिए।

स्वीडनको कानुनबमोजिम उनीहरूले अर्को वर्षसम्म उक्त मुद्दा चलाउन सक्नेछन्। उनीहरूले मुद्दा फेरि चलाउने भएपछि अर्को प्रश्न खडा भएको छ - अब असान्जलाई अमेरिका वा स्वीडेन कता सुपुर्दगी गर्ने भन्ने।

अस्ट्रेलियामा जन्मिएका असान्जविरुद्ध अमेरिकामा कम्प्युटरबाट अनधिकृत तवरले सूचना चोर्ने षड्यन्त्रमा सहभागी भएको मुद्दा छ। सरकारी सूचनाको हालसम्मकै सबभन्दा ठूलो परिमाणमा चुहावटमा सामेल भएको आरोप पनि उनी विरुद्ध छ।

तस्वीर कपीराइट Getty Images

त्यसले उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ।

अहिले उनी कहाँ छन्?

गत महिना नाटकीय रूपमा पक्राउ गरिएपछि असान्जलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स कोर्टमा लगिएको थियो।

त्यहाँ जमानतका सर्त उल्लङ्घनबारे ब्रिटिश मुद्दामा उनी दोषी ठहरिए।

उनलाई हाल लन्डनस्थित बेल्मार्श जेलमा राखिएको छ।

संयुक्त राष्ट्रसङ्घले उनलाई सुपुर्दगी गर्ने सम्पूर्ण प्रक्रियामा निष्पक्ष कानुनी कारबाहीसम्बन्धी उनको अधिकारलाई सम्मान गर्न आह्वान गरेको छ।

स्वीडनमा कस्ता आरोप छन्?

सन् २०१० मा स्टकहोममा भएको विकिलिक्स सम्मेलनपश्चात् दुई महिलालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप असान्जलाई लागेको थियो।

उनले ती आरोप खण्डन गर्दै सहमतिमै यौनसम्बन्ध राखेको भन्दै आएका छन्।

साथै उनीविरुद्ध यौन दुर्व्यवहार तथा गैरकानुनी दबावका मुद्दा पनि छन्। तर सन् २०१५ मा समयसीमा सकिएको भन्दै ती मुद्दा फिर्ता भए।

बलात्कार आरोपसम्बन्धी मुद्दा चाहिँ त्यसको कानुनी समयसीमा सन् २०२० को अगस्ट अगावै पुन: सुरु गर्ने कि नगर्ने बारे अभियोजनकर्ताहरूले विचार गरिरहेका छन्।