मिना मङ्गल: अफगानिस्तानमा टीभी प्रस्तोताको हत्याको निन्दा

  • 13 मे 2019
मिना मंगल तस्वीर कपीराइट AFGHANPRESIDENTIAL INOFRMATION COORDINATION CENTER

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन्।

विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी मारिएको थियो।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन्।

प्रहरीले अनुसन्धान थालेको छ। तर उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन।

शनिवार प्रकाशित एउटा वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ।

अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका छन्।

तस्वीर कपीराइट Reuters
Image caption राजधानी काबुलमा उनको हत्या भएको थियो

मङ्गलले हालसालै आफ्नो फेसबुकमा आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको उल्लेख गरेको महिला अधिकारवादी वाज्मा फ्रोगले ट्विटरमा लेखेकी छन्।

उनलाई दिइएका भनिएका धम्कीको प्रकृतिबारे धेरै जानकारी उपलब्ध छैन।

तर एक प्रहरी प्रवक्ताले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै पारिवारिक झमेलाबारे पनि अनुसन्धान भइरहेको बताए।

अफगानिस्तानमा महिलाविरुद्ध हिंसा

उनको हत्यापश्चात् अफगानिस्तानमा सामाजिक सञ्जालमा महिला हिंसाको स्तरबारे निकै चर्चा भएको छ।

कतिपयले अफगानिस्तानमा महिलाविरुद्धका अधिकांश ठूला अपराधका घटना दिउँसै अनि काबुलको अतिसुरक्षित मानिने ग्रीन जोनमा हुने गरेको औँल्याएका छन्।

"एक महिला दिउँसै मारिएकी छन्। किनभने एक पुरुषलाई लाग्यो कि उनी मारिनलायक छिन्," वाज्मा फ्रोगले लेखेकी छन्।

खासगरी तालिबान समूहको वर्चस्व रहेका इलाकाहरूमा लैङ्गिक हिंसा बढिरहेको अभिलेख अधिकारवादी समूहहरूले राखेका छन्।

प्रेस अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तानलाई राखेको थियो।