भारत निर्वाचन: के प्रियंका गान्धीको ‘जादु’ चल्ला?

  • 15 मे 2019
प्रियंका गान्धीका समर्थक
Image caption खासगरि महिलाहरूका माझ प्रियंका गान्धी सहजै जोडिन सक्छिन्

बुधवार प्रियंका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'इलाका' अर्थात उनको निर्वाचन क्षेत्र बनारसमा र्‍याली गर्दैछिन्।

फेब्रुअरीमा औपचारिक रूपमा राजनीतिमा जोडिएलगत्तै प्रियंका निरन्तर चुनाव प्रचार अभियानमा सामेल भइरहेकी छन्।

उनको प्रचारको केन्द्रमा उत्तर प्रदेश राज्य रहेको छ जहाँ बनारस पनि पर्छ।

तर के उनका यी प्रयत्नले जारी आमचुनावमा कंग्रेस पार्टीको भाग्यका कुनै फरक पार्ला?

प्रियंकाको बोली

कंग्रेस अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गत साता प्रतापगढ नगरको एक मञ्चमा उक्लिदा 'प्रियंका गान्धी जिन्दावाद'का नारा निकै बेर लागिरहे। उनलाई स्थानीय कंग्रेस नेताहरूले रातो गुलाफका माला तथा सुनौलो ताज पहिर्‍याइदिए।

प्रियंका मञ्चमा उक्लिएपछि उनको सिधा निशानामा प्रधानमन्त्री मोदी रहे। सन् २०१४ को चुनावमा गरिएका वाचा पूरा नगरेको आरोप लगाइन्।

मोदी सरकारले रोजगार श्रृजना गर्न नसकेको तथा नोटबन्दीका कारण गरिब तथा साना व्यवसायीको ढाड भाँच्चिएको भन्दै उनले किसानको अधिकार हनन् भएको आरोप पनि लगाइन्।

कंग्रेसले चुनाव जिते गरिबका निम्ति रोजगारका अवसर फराकिलो पारिने, ज्याला समयमा तिरिने अनि माध्यमिक शिक्षा नि:शुल्क पारिने उनले बताइन्।

Image caption खासगरि महिलाहरूका माझ प्रियंका गान्धी सहजै जोडिन सक्छिन्

सो र्‍याली नगरको केन्द्रमा रहेको सानो मैदानमा भएको थियो र भिड पनि सानै थियो। तर उपस्थितहरू निकै उत्साही थिए र उनले हिन्दीमा बोल्दा निरन्तर ताली बजिरह्यो। आफ्नो भाषणको अन्तिममा उनले मतदाताहरूलाई कंग्रेसलाई भोट दिन र परिवर्तनका पक्षमा उभिन आग्रह गरिन्।

भिडमा उपस्थित २१ वर्षीय विद्यार्थी मिथिलेशकुमार यादवले बताए कि एक युवाका रूपमा उनको चाहना पनि त्यही हो।

"प्रियंका गान्धी यहाँ परिवर्तन ल्याउन चाहन्छिन्। एक युवाका रूपमा म पनि परिवर्तन चाहन्छु। मोदीका नीतिले मानिसहरूलाई खराब प्रभाव परेको छ," उनले भने।

"प्रधानमन्त्री महत्त्वपूर्ण मुद्दाका बारे बोल्दैनन्। अपूरा वाचाबाट ध्यान अन्यत्र मोड्ने उनको प्रयास छ।"

कंग्रेस प्रवक्ता अखिलेशप्रताप सिंह भन्छन् दाईलाई सघाउ पुर्‍याउन तथा पार्टीलाई सशक्त बनाइ मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई चुनौती दिन उनी अगाडि सरेकी हुन्।

सक्रिय राजनीतिमा आएदेखि प्रियंकाको तालिका व्यस्त रह्यो। गत तीन महिनामा मैले पनि ८० जना सांसद चुन्ने यो महत्त्वपूर्ण राज्यको धेरै भ्रमण गरेँ। कंग्रेसका समर्थकहरू किन गान्धी, खासगरि प्रियंकाका, पक्षमा लाग्छन् भनेर सोधेँ।

उनका र्‍याली तथा प्रचार अभियानमा उनको उपस्थितिले उत्साहित भएकाहरूलाई भेटेँ। थप सक्रिय राजनीतिक भूमिकाबारे उनको निर्णयले प्रसन्न जमात भेटेँ। तर उनकै कारण कंग्रेसलाई भोट दिन्छु भन्ने एकजना पनि भेटिनँ।

फेब्रुअरीमा सक्रिय राजनीतिज्ञको रूपमा लखनउमा दाजुसँगै भएको उनको पहिलो सार्वजनिक उपस्थितिका बेला हजारौँ समर्थक सडकमा उत्रिएका थिए। कार्यकर्ता तथा समर्थकहरूले अब कंग्रेस चुनाव जितेर आगामी सरकार बनाउने बाटोमा लम्किएको बताए।

त्यसपश्चात् राहुल गान्धीको निर्वाचन क्षेत्र अमेठीमा र उत्तर भारतका गाउँ तथा सहरहरूमा उस्तै दृश्य दोहोरिए।

तस्वीर कपीराइट Getty Images
Image caption अमेठीमा आयोजित र्‍यालीमा गान्धी दाजुबहिनीलाई स्वागत गर्न हजारौँ उत्रिए

स्वाभाविक राजनीतिज्ञ प्रियंका गान्धी हिन्दी तथा अङ्ग्रेजी दुवै भाषामा दखल राख्छिन् र मानिसहरूसँग, खासगरि महिलासँग, सजिलै जोडिन सक्छिन्।

छोटो कपाल र सुतीको सारी पहिरिन रुचाउने उनको शैली उनकी हजुरआमा इन्दिरा गान्धीसँग मिल्दोजुल्दो छ। भारतकी एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धी एक कडा नेताको रूपमा परिचित छिन्।

उनी आफैँ संसदको लागि यसपटक लड्दै छैनन् तर उनको हरेक गतिविधिप्रति सञ्चारमाध्यमको अत्यधिक रूचि देखिन्छ।

उनको आमाको निर्वाचन क्षेत्र राय बरेलीमा सपेराहरूको गाउँको भ्रमण गदा उनले सर्प समातेको फोटो खिचियो भने मध्य प्रदेशमा सारीमा सजिएकी उनले भिडसँग हात मिलाउन बार नाघ्न खोज्दा सुरक्षाकर्मीले उनलाई पछ्याएको दृश्य देखिए।

मठ-मन्दिरमा पुगेर धर्मावलम्बीहरूलाई आकर्षित गर्ने उनका प्रयासलाई टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरिरहन्छन्, उनको र्‍याली टेलिभिजनमा मूल समयमा प्रसारण गरिन्छन् अनि उनले प्रधानमन्त्री मोदीबारे गरेका टिप्पणी मुख्य हेडलाइन बन्छन्।

उनको परिवारबारे मोदीले गरेका आलोचनाप्रति बढ्दो रूपमा उनले जवाफ दिन थालेकी छन्। मोदीले बरोबर गान्धीका दाजुबहिनी कामको साटो पारिवारिक नामका कारण राजनीतिमा रहेको भन्ने गर्छन्।

प्रियंकाका निम्ति राजनीति नितान्त नौलो भने होइन। दुई दशकयता उनले आफ्ना दाजु तथा आमा सोनिया गान्धीका प्रचार अभियानमा सामेल भएकी छन्। तर त्योभन्दा बढ्दा भूमिका लिन उनी अनिच्छुक रहिन्।

दुई सन्तानकी आमा यी ४७ वर्षीया गान्धी, दाजुको तुलनामा बढी करिश्मायुक्त ठानिन्छिन्।

पछिल्ला वर्षमा जब जब कंग्रेसले निर्वाचनमा हार बेहोर्‍यो तब तब उनले बढ्ता भूमिका बहन गर्नुपर्ने आवाज उठे। सन् २०१५ मा केही कंग्रेस कार्यकर्ताले दिल्लीस्थित पार्टी मुख्यालय बाहिर 'प्रियंका ल्याउ, कंग्रेस बचाउ' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे।

त्यसैले जनवरीमा उनलाई उत्तर प्रदेशको पूर्वी भाग हेर्ने जिम्मा सहित पार्टीको महासचिवमा नियुक्त गरियो। समर्थकहरूले पार्टी कार्यालयबाहिर आतिसबाजी र नाचगान गरेर त्यसको स्वागत गरे। उनलाई कंग्रेसको 'ब्रह्मास्त्र' समेत भनियो।

हालैको एउटा अन्तर्वार्तामा उनले किन आफूले राजनीतिमा सक्रिय रूपले आउन सहमति दिएको भन्ने बारे बताएकी छन्।

"प्रजातन्त्र, संविधान र हाम्रा संस्थाहरू आक्रमणमा परेका छन् र यस्तो बेला राजनीतिमा नहोमिनु भनेको कायरता हुने थियो।

"सन् २०१७ मा पनि राहुलले मलाई उत्तर प्रदेश हेर्न भनेका थिए तर मैले मानिन। त्यो गल्ती थियो। गल्तीबाटै मानिसले पाठ सिक्न हो। त्यसैले यसपालि उनले फेरि सोध्दा मैले हुन्छ भनेँ।"

गान्धी दाजुबहिनी नेहरू-गान्धी परिवारका चौथो पुस्ताका हुन्। उनीहरूलाई भारतीय राजनीतिका राजखलक समेत भनिन्छ। उनीहरूका जिज्यूबुबा जवाहरलाल नेहरू स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री थिए। उनीहरूका हजुरआमा इन्दिरा गान्धी तथा बुबा राजीव गान्धी पनि प्रधानमन्त्री बने।

उनीहरूका आमा सोनिया गान्धी इटलीमा जन्मिएकी हुन्। कंग्रेस अध्यक्ष सोनिया गान्धीले खराब स्वास्थ्यका कारण कंग्रेस नेतृत्व छोरा राहुल गान्धीलाई दिएकी छन्।

तस्वीर कपीराइट Getty Images
Image caption सन् २०१५ मा केही कंग्रेस कार्यकर्ताले दिल्लीस्थित पार्टी मुख्यालय बाहिर 'प्रियंका ल्याउ, कंग्रेस बचाउ' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे

प्रधानमन्त्री मोदीले बारम्बार गान्धी दाजुबहिनीको खिल्ली उडाउँछन्। परिवारको नामका कारण नकि कुनै उपलब्धिका कारण उनीहरू नेतृत्वमा रहेको भन्ने गर्छन्।

कंग्रेस समर्थकहरू भने यो परिवारवादबारे खासै चिन्तित देखिँदैनन्। उनीहरूका हजुरआमा तथा बुबाको हत्या गरिएको र उनीहरूले देशका लागि 'बलिदान' दिएको चर्चा समर्थकहरू गर्छन्।

प्रवक्ता सिंह भन्छन् राहुल र अब प्रियंकाले पार्टीलाई पुनर्ताजगी दिएका छन्।

"प्रधानमन्त्री मोदी सहित भाजपा नेताहरू विचलित भएका छन्। नत्रभने उनीहरूले प्रियंकाको नाम बारम्बार किन लिइरहन्छन् र किन उनले केही प्रभाव पार्न सक्दिनन् भनिरहन्छन्?"

सिंह भन्छन् जसरी उनले कार्यकर्ता र आमजनतामा विश्वास जगाएकी छन् त्यो नै महत्त्वपूर्ण हो।

तर के यो सब समर्थन वास्तवमै भोट वा पार्टीको सिटमा परिणत होलान्?

"निश्चय नै," सिंह भन्छन्, "जब मतगणना हुन्छ तब तपाईँले देख्नुहुनेछ कसरी हाम्रो मत प्रतिशत बढ्नेछ भनेर।"

Image caption कंग्रेसले गान्धीलाई पार्टीलाई उत्तर प्रदेशमा पुनर्ताजगी गराउन ल्याइएको जनाएको छ

राजनीतिक विश्लेषक निरजा चौधरीले गान्धीसँग धेरै करिश्मा भएको तर उनले अलि ढिलो निर्णय लिएको बताइन्।

चौधरीका अनुसार उनले मानिसहरूलाई परिचालन गर्न एक वर्ष अघि नै त्यस्तो निर्णय लिनुपर्ने थियो।

"राज्यमा पार्टीको सङ्गठन तहसनहस जस्तो स्थितिमा छ। शून्यदेखि पार्टी निर्माण गर्नुपर्नेछ। उनीसँग जादुको छडी छैन।"

चौधरीका अनुसार यति छोटो समयमा प्रियंकाले पार्टीमा पूरै परिवर्तन ल्याउँछिन् भनेर अपेक्षा गर्नु असम्भव अपेक्षा गरे सरह हुन्छ र उनीप्रति त्यो अन्याय हुनेछ।

बलियो पार्टी सङ्गठन र नेतृत्वको अभावमा उनले धेरै गर्न नसक्ने उनले बताइन्।

प्रियंकाले पार्टीको आधारनै खडा गर्नु पर्ने र त्यसका लागि करिश्माका साथ कठिन परिश्रम जरूरी रहेको चौधरीले बताइन्।

तर एउटा कुराको बारेमा भने चौधरी ढुक्क सुनिइन्, "उनी राजनीतिमा निरन्तर रहनका लागि नै आएकी हुन्।"

सम्बन्धित सामग्री