नेपालीलाई भारतबाट अन्य देशमा जान सिफारिस किन आवश्यक

  • 15 मे 2019
दिल्ली विमानस्थल तस्वीर कपीराइट Shalini Singh / BBC

भारत हुँदै तेस्रो देश जाने नेपालीहरूका निम्ति केही वर्ष यता लागु भएको एउटा नियमले बेलाबखत कतिपय यात्रु अप्ठेरोमा पर्ने गरेका छन्।

भारतको हवाईमार्ग वा अन्य मार्ग भएर तेस्रो देश जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नेपाली दूतावासको 'नो अब्जेकसन' वा सिफारिस पत्र लिनुपर्छ।

पटक पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले सोमवार त्यसबारे स्पष्ट पार्दै सूचना प्रकाशित गरेको छ।

कस्तो अवस्थामा कस्ता नेपाली नागरिकलाई यो नियम लागु हुन्छ?

भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ।

कस्ता नेपाली नागरिकलाई यो नियम लागु हुन्छ?

भारतमा अध्ययन गरेर बसेका वा व्यवसाय गरेर बसेका नेपाली राहदानीबाहकलाई यो नियम लागु हुन्छ।

साथै, कुनै काम विशेषले भारत पुगेको र उतैबाट तेस्रो मुलुक जान चाहने नेपाली नागरिकलाई पनि यो आवश्यक पर्छ।

तस्वीर कपीराइट Getty Images

सामान्यत: भारतको हवाई वा स्थल अध्यागमन पार गरेर अन्यत्र जाँदा यो सिफारिस पत्र चाहिन्छ।

अनि भारत ट्रान्जिट वा अर्को उडान समाउनका लागि थोरै समयका निम्ति त्यहाँ उत्रनेहरूका लागि यो सिफारिस पत्र आवश्यक पर्छ?

ट्रान्जिट मात्र गर्दा यो सिफारिस पत्र चाहिँदैन किनकि तपाईंको अन्तिम गन्तव्य भारत होइन र तपाईँले अध्यागमन पार गर्नु पर्दैन।

तर यसमा केही दुविधा हुनसक्छ। ट्रान्जिट पूर्ण रूपले ट्रान्जिटमै सीमित रहनु पर्छ नत्रभने अप्ठेरो पर्न सक्छ।

उदाहरणका लागि केही गरि तपाईँले भारतको अध्यागमन पार गर्नु भयो - चाहे त्यो १० मिनेटकै लागि किन नहोस् - भने फेरि अर्को उडान समाउन तपाईँले भारतको अध्यागमनमार्फत् नै जानु पर्ने हुन्छ र त्यस्तो बेला सिफारिस पत्र खोजिन सक्छ।

त्यसैले भारतीय अध्यागमन पार गरेर १० मिनेटको लागि बाहिर निस्कनुभयो वा दुई दिनकै लागि भारतमा बास बसेर अन्यत्र जान खोज्नुभयो भने सिफारिस पत्र जरुरत पर्छ।

तस्वीर कपीराइट .
Image caption त्रिभुवन विमानस्थलबाट विदेश जान लागेका यात्रु

केवल ट्रान्जिटको रूपमा भारतीय विमानस्थलको प्रयोग गर्दा र अध्यागमन पार नगर्ने हो भने चाहिँ नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने यात्रुलाई त्यस्तो सिफारिस पत्र चाहिँदैन।

कथम् कदाचित कोही यात्रुलाई ट्रान्जिटमै कुनै कारण बाहिर निस्कनु पर्‍यो भने के गर्ने?

कहिलेकाहीँ त झोला जाँचकै कारण पनि कुनै यात्रुलाई ट्रान्जिटबाट छोटो समयका लागि अध्यागमन पार गर्नु पर्ने स्थिति आउन सक्छ।

कतिपय अवस्थामा काठमाण्डू विमानस्थलमै भारतमा लगेजबारे बुझ्नुस् है भनेको हुन सक्छ, त्यस्तो बेला चाहे मध्यरात नै किन नहोस् त्यस्ता यात्रुले दिल्लीस्थित नेपाली दूतावासले सञ्चालन गरेको २४ घण्टे फोन सेवा (००९१८९२९६०१९२५) मा सम्पर्क गरि राहदानी, भिसा र टिकट वा रोजगार भिसाको हकमा श्रम स्वीकृतिका प्रतिलिपि कुनै माध्यमबाट सञ्चार गराइएको खण्डमा दूतावासले अनलाईन मार्फत नै त्यस्तो सिफारिस पत्र तत्काल पठाइदिन सक्छन्।

यो नियम खास कुन प्रयोजनका निम्ति लागु गरिएको हो?

धेरै लामो समयदेखि मानव ओसारपसारका लागि भारतीय भूमिको प्रयोग गरेको अनि खुला सिमानाको दुरुपयोग गरेको भन्ने गुनासा र घटनाहरू भएकाले त्यसको समाधानका लागि भनेर यो नियम लागु गरिएको हो।

(दूतावासका प्रवक्ता हरि ओडारीसँग बीबीसी नेपाली सेवाका सञ्जय ढकालले गरेको कुराकानीमा आधारित।)