कञ्चनजङ्घा आरोहण: दुई भारतीय पर्वतारोहीको मृत्यु, चिलेका एक सम्पर्कविहीन

  • 16 मे 2019
कञ्चनजङ्घा तस्वीर कपीराइट AFP

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन विभागले जनाएको छ।

विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्।

आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ।

यस वर्ष छवटा टोलीबाट ३४ जनाले कञ्चनजङ्घा आरोहणको नेपाल सरकारसँग अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

यो वसन्त ऋतुमा नेपालका विभिन्न ३० हिमाल चढ्न १०९ वटा टोलीका ८४६ जनाले अनुमति लिएका छन्।

कसरी भयो मृत्यु?

शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको पौडेलले बीबीसी नेपालीलाई बताए।

तस्वीर कपीराइट Kuntal Karar/Facebook
Image caption कुन्तल करारको फाइल तस्बिर

करारको आरोहणकै क्रममा मृत्यु भएको हो।

आरोहण दलका अन्य सदस्यलाई उद्धृत गर्दै पौडेलले भने, "झन्डै ८,००० को उचाइमा पुगेपछि करारलाई लेक लागेछ। बाटोमै फरक व्यवहार देखाउन थालेछन् र आक्रामक भएछन्। पछि उनी अचेत भएर ढलेछन्।"

शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको उनले बताए।

पौडेलका अनुसार बुधवार राति आठ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि चिलेका पर्वतारोही भने सम्पर्कविहीन भएका छन्।

अहिले के हुँदैछ?

पर्यटन विभागका प्रवक्ता थापा तथा पीक प्रमोशनका अध्यक्ष पौडेलका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ।

"चिलेका पर्वतारोहीको जीपीएस उपकरण बन्द भएको छ। ब्याट्री सकिएर होला... उनी कहाँ र कुन अवस्थामा छन् हामी त्यो पत्ता लगाउने प्रयासमा छौँ," पौडेलले भने।

यो पनि पढ्नुहोस्

उनका अनुसार उद्धारकर्ताहरू करारको शव भएको ठाउँमा बिहीवार बिहानसम्म पुगेका थिएनन्।

दुइटै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट शुक्रवारसम्म काठमाण्डू ल्याउने आफ्नो कम्पनीको योजना भएको पौडेलले बताए।

कञ्चनजङ्घा कति खतरनाक?

कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ।

ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ। त्यहाँ बारम्बार हिउँपहिरो पनि गइराख्छ।

त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने पर्वतारोहीहरू बताउँछन्।

सन् १९५५ मा ब्रिटिश आरोही जो ब्राउन र जोर्ज ब्र्यान्ड पहिलो पटक सो हिमालको शिखरमा पुगेका थिए।

त्यसअघि गरिएका आरोहणका प्रयासहरू विफल भएका र केही पर्वतारोहीहरूको मृत्यु भएको बताइन्छ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमा हुने घटनाक्रमहरूको अभिलेख तथा तथ्याङ्क राख्ने वेबसाइट 8000ers.com का अनुसार कञ्चनजङ्घामा आरोहण गर्न जानेको मृत्युदर २० प्रतिशतभन्दा बढी छ।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार