कामिरिता शेर्पा: विश्व कीर्तिमान राखेको एक हप्तामै २४औँ पटक सगरमाथा चढ्ने घोषणा

  • 16 मे 2019
कामिरिता शेर्पा तस्वीर कपीराइट Seven Summit Treks
Image caption सगरमाथाको २३औं आरोहणबाट आधार शिविर फर्केपछि टोली सदस्यका साथ कामिरिता शेर्पा

कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन्।

कामिरिताले मङ्गलवार २३औँ पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भङ्ग गरेका थिए।

"[तेइसौँ पटक चढ्दा] एकदमै खुसी लागेको छ," ४९ वर्षीय कामिरिता शेर्पाले सगरमाथा आधार शिविरबाट बीबीसी नेपाली सेवालाई भने।

"यो ऋतुमा अब फेरि चढ्छु।"

सगरमाथा आरोहणका लागि अबको उपयुक्त दिन मे २२ को आसपासमा हुने बताइएको छ।

प्रशासनिक प्रक्रिया हुँदै

कामिरिता शेर्पाको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उनको दोस्रो आरोहणका लागि प्रशासनिक काम भइरहेको बताए।

मिङ्मा शेर्पाले भने, "अहिलेसम्म उहाँलाई कुरिरहेका थियौँ। उहाँले आधार शिविरमा आएर फेरि चढ्ने बताउनु भएको छ। हामी अहिले त्यसका लागि आवश्यक कागजी प्रक्रिया गरिरहेका छौँ।"

"उहाँलाई विश्वभरिबाट बधाई आइरहेको छ। उहाँ एकदमै खुसी हुनुहुन्छ, शारीरिक र मानसिक रूपमा तयार हुनुहुन्छ। उहाँ फेरि सगरमाथा चढ्नुहुन्छ।"

एकै याममा दुई पटक

एकै याममा दुई पटक सगरमाथा चढ्नु नौलो कुरो होइन।

कामिरिताले यस अगाडी पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन्।

उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।

सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए तर आधार शिविर नआईकन चौथो शिविरबाटै पुन: माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन।

कामिरिताको कीर्तिमान

सोलुखुम्बुको थामे गाउँका कामिरिता शेर्पा मङ्गलवार २३‌‌औँ पटक सगरमाथा शिखरमा पुगेका थिए।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।

उनी अर्को वर्ष ५० वर्षका हुने भएकाले आफ्नो लक्ष्य प्राप्तिका लागि फेरि सगरमाथा चढ्ने प्रयास गर्न लागेको बताइएको छ।

सबैभन्दा बढी सगरमाथा आरोहण

आरोहीआरोहण
कामिरिता शेर्पा२३
ङिमा नुरु शेर्पा२१
आप्पा शेर्पा२१
फुर्वातासी शेर्पा२१
आङ दोर्जी शेर्पा१९
छेवाङ निमा शेर्पा१९
मिङ्मा छिरी शेर्पा१९
लाक्पा रिता शेर्पा१७
कामिरिता शेर्पा१६
निमा गोम्बु शेर्पा१६
सबै आरोही नेपाली हुन्।
स्रोत: पर्यटन विभाग, नेपाल

सम्बन्धित सामग्री