नेपालमा केक संस्कृति, परम्परागत उत्सव र मिठाइरोटी अनि संस्कारमा देखिएको परिवर्तन

  • 25 मे 2019
केक

जन्मदिन होस् या वैवाहिक वार्षिकोत्सव कुनै पनि विशेष अवसरमा नेपाली शहरी समाजमा केक अनिवार्य जस्तै हुन थालेको छ।

परम्परागत मिठाई या परिकार साँस्कृतिक उत्सवका महत्वपूर्ण अंग हुने गरेतापनि कतिपय उपभोक्ता केक नभए महत्वपूर्ण चाडपर्वसमेत अपूरो हुने ठान्छन्।

तर यसरी हरेक चाडवाड, भोजभतेर र खाजाको रुपमा प्रयोग हुन थालेको केक स्वास्थ्यका लागि हितकर नभएको विज्ञहरू बताउँछन्।

केक नभइ हुन्न

काठमाण्डू धापासीकी संगीता डंगोल हरेक वर्ष केकमा मात्र कम्तीमा १० हजार रुपैयाँ खर्चिन्छिन्।

आमाको मुख हेर्नेदेखि कसैको जन्मदिन वा वार्षिकोत्सवको प्रसँग उठ्ने बित्तिकै उनी सबैभन्दा पहिला केक नै अर्डर गर्छिन्।

"अरु केही गर्न सकिएन भनेपनि केक मात्रै काटेर भएपनि रमाइलो गर्ने गर्छु," उनी सुनाउँछिन्। "केक नभए कुनै पनि अवसर फिक्का लाग्ने र रमाइलो समेत कम हुन्छ।"

"केक विना कसैको जन्मदिन वा एनिभर्सरी वा अरु कुनै उत्सव पूर्ण हुन्छ जस्तो लाग्दैन। केक हुन्छ र त केटाकेटी रमाउँछन्। केक काट्ने, मैनवत्ती निभाउने, स्प्रे छर्ने यी सबैले केटाकेटी खुशी हुन्छन्। उनीहरूको खुशी हेर्नै पनि केक अनिवार्य भएको छ," सँगीता भन्छिन्।

चितवनका सुनिल थापाले केही दिनअघिमात्र २१ औँ जन्मोत्सवमा दुई वटा केक काटे। एउटा घरमा अर्को आफ्नो साथीहरूसँग रेस्टुरेन्टमा।

उनले जन्मदिनमा यसरी केक काट्न थालेको करीब ९ वर्ष भयो।

उनका आमा बुवाले पनि विवाहको ४० वर्ष पुगेको अवसरमा ठूलै केक काटेर मनाएका थिए।

उनका भाइबहिनीको जन्मदिनमा पनि केक काटिन्छन्। उनका साथीभाइका जन्मदिनमा पनि केक नकाटि हुन्न।

कुनै कारणवस यस्ता अवसरमा केक काटिएन भने रमाइलो नहुने तर्क उनको पनि छ।

लहर

आजभोलि साना साना कुरामा पनि खुशी मनाउने लहर चलेको भक्तपुरका एक जना परम्परागत मिठाइ पसले रुपेश बज्राचार्य बताउँछन्।

कतिपयले जन्मदिन पनि नेपाली, अंग्रेजी र तिथिअनुसार वर्षमा तीनपटकसम्म मनाउने गरेको देखेका उनी किशोर किशोरीहरू प्राय: उनको पसलमा केक किन्न आउने सुनाउँछन्।

कुनै नयाँ कामको शुरुवात गर्दा होस् वा कुनै काम सम्पन्न हुँदा पनि केक काट्ने अनि खाँदै पश्चिमा शैलीमा शुभकामना दिने चलन मौलाउँदै आएको अनुभव रुपेशको छ।

आफ्नो मिठाइ पसल नजिकै अलग्गै विगत ९ वर्षदेखि बेकरी उद्योग समेत चलाउन थालेका उनी केकको बजार ठूलो देख्छन्।

बज्राचार्य भन्छन्: "लाखामरी, जेरी, सेल, मालपुआ, रसबरी, अनरसा जस्तो पहिल्यैदिख चलि आएका मिठाइको बिक्री खासै कम भएको त होइन।

"तर पछिल्लो १० वर्षयता केकको माग निकै बढेको छ। बेबी शावर, वेडिङ, एनिभर्सरी जस्ता नेपालीले मनाउन थालेका नयाँ खुशीयालीका साथै परम्परागत चाडपर्व जस्तै आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने, भाइटीका, परीक्षामा उत्तीर्ण भएपछि पनि केक काटेर खुशी मनाउने चलन चलेको देखिन्छ।"

शून्य पोषण

नेपाली समाज खुला बन्दै गएपछि विदेशी संस्कृतिको प्रभाव पनि बढ्न थालेको र त्यसपछि केकका उपभोक्ता बढेको बताइन्छ।

नेपालको खासगरी शहरी क्षेत्रमा बसोबास गर्ने समुदायबीच यतिविघ्न प्रयोग हुने केककतिको स्वस्थकर छ त?

डा अरुणा उप्रेती भन्छिन्: "केक बनाउन विशेषत मैदा, चिनी र क्रिमको प्रयोग हुन्छ। ग्लुकोजको मात्रा अत्यधिक हुन्छ।

"केटाकेटीले केकको स्वाद थाहा पाएभने उनीहरूले अरु खानेकुराहरू खान मन गर्दैनन्। उनीहरू कुपोषणको शिकार बन्न पुग्छन्। त्यस्तै मधुमेह लागेका र मोटोपनको शिकार भएका मानिसहरूका लागि त यो विष नै हो।"

"पोषणको हिसाबले केकले हामीलाई केही पनि पोषण दिँदैन भन्ने कुरामा ढुक्क भए हुन्छ।"

विस्थापित हुँदै नेपाली मिठाइ

धार्मिक, सांस्कृतिक र परम्परागत महत्त्वका चाडपर्व अवसर र स्थानमा समेत केकको व्यापक प्रयोग तर नेपाली मिठाइ र रोटीको उपेक्षाप्रति चिन्ता व्यक्त गर्छिन् संस्कृतिविद् विणा पौड्याल।

उनी सहभागी एउटा विवाहमा केक समावेश गर्ने नगर्ने बारे बहसै भएको र अन्ततः केक ल्याउने र काट्ने निर्णयमा पुगेको सम्झना गर्दै उनी भन्छिन्, "हिजोसम्म केक भनेको के हो थाहै थिएन। तर आज हरेक पूजा र संस्कारको अभिन्न अङ्ग बन्न थालिसकेको छ।"

"विदेशी चिज भन्दैमा खाँदै नखाने, हेर्दै नहेर्ने वा चाख्दै नचाख्ने म भन्दिनँ । सिक्नु पर्छ,खानु पनि पर्छ तर आफ्नै मिठाइ रोटी तथा खानालाई पाखा लगाइ विदेशबाट आयातित खानालाई प्रमुख बनाउनु भनेको चिन्ताको कुरा हो।"

"यसले हाम्रा रैथाने रोटी तथा परिकारहरू विस्थापित हुँदै जानेछन्। त्यससँग सम्बन्धति सिप, संस्कार, दर्शन र व्यवहार हराउने छ र हाम्रो हरेक चाडपर्वको महत्त्व ओरोलो लाग्दै जानेछ।"

केक उपभोगको चलनलाई नकारात्मक रुपमा लिन र त्यस्को विरोध गर्न आवश्यक नरहेपनि नेपाली मिठाइ र रोटी तथा परिकारहरूको महत्त्व, तिनमा हुने पौष्टक गुण र तिनको प्रयोगको खास कारणबारे नयाँ पुस्तालाई बुझाउन भने जरुरी रहेको संस्कृतिविद्हरू बताउँछन्।

सम्बन्धित सामग्री