'पुरुषमात्रै भएको मञ्च बहिष्कार' गर्ने अभियान नेपालमा किन छेडियो

  • 28 मे 2019
महिला समूह
Image caption पोखरामा केही समय अघि वडा नम्बर छका महिलाहरूले मञ्चमा पुरुषहरू मात्र राखिएको भनेर कार्यक्रम बहिस्कार गरेपछि आयोजकले माफी मागेका थिए

राजनीतिक, साहित्यिक, आर्थिक वा कुनै पनि विषयमा हुने कार्यक्रममा मञ्चमा महिलाको उपस्थिति भएको या नभएको भन्नेबारे नेपालमा बहस हुन थालेको छ।

हालसालै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक गैरसरकारी संस्थाको 'पुरुषमात्र हुने मञ्च इन्कार गरौं' भन्ने अभियानको थालनी गरे।

चैत महिनाको अन्त्यमा पोखरामा भएको नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा स्थानीय आमा समूहले मञ्चमा सबै पुरुषमात्रै भएको भनी गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको कार्यक्रम बहिष्कार गरे।

प्रगति दिदी बहिनी समूह पोखरामा आबद्ध विष्णु केसी भन्छिन्, "त्यसबेला हामी सारा ६ नम्बर वडाका महिलाहरूले कार्यक्रम बहिस्कार गरेका हौं।"

मञ्चमा महिला सहभागिताको बहस सङ्ख्या र सहभागिताका लागि भन्दा पनि महिलामैत्री नीति निर्माणका लागि हुनुपर्ने आवाज उठ्न थालेको छ।

मञ्चमा महिला किन?

महिला अधिकारका विषयमा कलम चलाउँदै आएकी अमृता लम्साल महिलाको भूमिका परिवर्तन गर्नका लागि मञ्चमा महिलाको उपस्थिति आवश्यक ठान्छिन्।

उनले भनिन्, "छलफल र बहसहरू हुने मञ्चमा महिलाको धारणाको पनि कदर हुनुपर्छ। महिलाले जहिले पनि पुरुष अतिथिलाई माला लगाइदिने वा उद्घाटन गर्दा ट्रे बोकेर सघाइदिने दृश्य परिवर्तन गर्न आवश्यक छ।"

उनले अढाई दशकको अनुभवमा मञ्चमा महिलाको उपस्थितिमा खासै परिवर्तन नभएको बताइन्।

उनले भनिन्, "त्यतिबेला महिलाहरू संघसंस्थामा निकै कम हुन्थे। आवाजहरू उठ्न थालेपछि सदस्य र कोषाध्यक्षसम्म हुन थाले।"

"अहिले मञ्चमा पनि महिला हुनैपर्छ भनेर आवाज उठाउनुपर्छ किनकि महिलाका आवाज सुनिन आवश्यक छ।"

धेरैजसो कार्यक्रममा महिलाको योग्यता नभएकाले चाहँदाचाहँदै पनि महिलाहरू ल्याउन नसकिएको भन्ने गुनासो पनि सुनिन्छ।

मञ्चमा महिला हुनुपर्ने आवाज उठिरहेका बेला हालसालै बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले यसबारे आफ्नो धारणा लेखेका थिए।

प्रधानले प्रश्न गरेका छन्: "मञ्चमा बसेर कुनै विचार व्यक्त गर्न नसक्ने एउटा महिला थपना राखेर महिला हित आत्मसात गर्न नसकेको पुरुषको भेलामा सहभागिता जनाउन जानुभन्दा महिला हितका लागि राष्ट्रिय नीतिमा परिवर्तन ल्याउन दबाब सिर्जना गर्नसक्ने पुरुषमात्र भएको मञ्च बढी सान्दर्भिक होइन र?"

तस्वीर कपीराइट RSS

कार्यक्रमको गुणस्तरमा सम्झौता?

समय समयमा महिलालाई ल्याउँदा बहस वा कार्यक्रममा गुणस्तरमै सम्झौता भएको सुनिन्छन्।

लम्साल भन्छिन्: "शैक्षिक योग्यताका कारण हेर्ने हो भने सबै कार्यक्रममा महिला पुरुष सरह नै ल्याउन नसकिएला तर के महिलाका अनुभव कम छन्?"

"बालविवाहबारे काम गर्ने हो भने त्यसको सैद्धान्तिक बहस गर्ने पुरुष मात्रै ल्याउनुपर्छ र? बालविवाह गरेर सानैमा बच्चा जन्माएका ग्रामीण भेगका महिलालाई कार्यक्रममा ल्याए उनको अनुभव सशक्त हुँदैन?"

विगत आठ वर्षदेखि 'नेपाल लिटरेचर फेस्टिभल' आयोजना गर्दै आएका अजित बरालले विभिन्न ठाउँमा महिला उपस्थितिबारे कुराहरू उठ्न थालेपछि आफूहरूले पनि सम्भव हुँदासम्म महिला सहभागिता बढाउन खोजेको बताए।

उनले भने, "पचास प्रतिशत नै महिला सहभागिता पुर्‍याउन नसकिएला तर खोजिपस्दा ३० प्रतिशत भन्दा माथि पुर्‍याउन सकिँदोरहेछ भन्ने हाम्रो अनुभव हो।"

उनले थपे: "बगैँचामा थुप्रै रङ्गका फूलहरू राम्रा देखिएजस्तै मञ्चमा पनि फरक फरक पृष्ठभूमि र जातजातिका मानिस ल्याउँदा राम्रो देखिन्छ।"

"साहित्य महोत्सवको मर्म नै विविध खालका विचारलाई स्थान दिनु हो। त्यसैले महिलालगायतका विविध आवाजलाई प्रतिनिधित्व गर्ने समूहको सहभागिता त गर्नैपर्छ। फेरि विभिन्न ठाउँमा महिला उपस्थितिबारे कुराहरू उठ्न थालेका छन्। त्यसले गर्दा पनि महिला सहभागिताबारे हामी अझ सचेत हुन् थालेका छौं।"

तस्वीर कपीराइट KWFC/Facebook
Image caption महिलाकै विषयमा हुने कार्यक्रम र छलफलमा पनि मञ्चमा महिलाहरूको उपस्थिति न्यून हुने गरेको छ

धेरैजसो कार्यक्रमका आयोजक पुरुष नै भएकोले उनीहरूको सङ्गत पनि पुरुषसँग नै हुँनेहुँदा बेलाबेला विषय सुहाउँदो महिला भेट्न समस्या हुने उनको अनुभव छ।

बरालले भने, "तर हामीले आजकाल महिलाहरूको सूची नै बनाउने जमर्को गरेका छौं ताकि हाम्रो मञ्चमा विविधता ल्याउन सकियोस्।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
महिलाका दृष्टिकोणबाट नयाँ कानून कस्तो छ?

'बहिष्कार अन्तिम अस्त्र'

करिब तीन वर्षअघि काठमाण्डूमा भएको 'अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव'को प्यानलमा सबै पुरुषमात्रै राखिएको भन्दै लेखिका अर्चना थापाले कार्यक्रम नै बहिष्कार गरिन्।

उनी भन्छिन#,"महिलाका अनुभवले ठाउँ पाउँदैनन्। उनीहरूको ज्ञानले वैधानिकता पाउने अवसर नै पाएका छैनन्। म प्यानलमा पुरुषमात्रै देखेपछि नगएकी हुँ।"

तर उनले बहिष्कार गर्ने चाहिँ अन्तिम चरण भएको बताइन्।

सकेसम्म यस्ता विषयलाई बहसमा ल्याएर नै मञ्चमा महिलाको उपस्थिति अनिवार्य गराउनुपर्ने उनको तर्क छ।

तर महिला ल्याउने भन्दैमा सधैँ देखेका अनुहार वा सहरका शिक्षित महिलामात्रै हुन नहुने थापा बताउँछिन्।

उनले भनिन्, "बारम्बार उपस्थित भइरहने महिलालाई मात्रै होइन, आदिवासी, दलित, गैरदलित, अपाङ्ग महिला वा फरक परिवेशका महिलालाई मञ्चमा स्थान दिनुपर्छ."

"पुरुषमात्रै मञ्चमा देखिँदा पुरुषमात्रै बौद्धिक हुन्छन्, पुरुषले मात्रै तार्किक कुरा गर्न सक्छन् जस्तो लाग्छ। लामो समय वित्दा विचारधारा नै त्यसैगरी एकतर्फीमात्रै बन्छ।"

त्यसैले फरक पृष्ठभूमि र फरक जातजातिका महिलालाई मञ्चमा उपस्थित गराएर उनीहरूको धारणा सुन्न ढिला भइसकेको उनले बताइन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ