पाँचथर सामूहिक हत्याकाण्ड: प्रहरी अनुसन्धान जारी, घटना 'रहस्यमय बन्दै'

  • 21 मे 2019
आरुबोटे

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटे गाउँमा भएको सामूहिक हत्याको अनुसन्धान कार्य सुरु भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारीले बीबीसीलाई बताएका छन्।

प्रजिअ मुरारि वस्तीका अनुसार मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँमा धनराज शेर्माको घरमा पाँच जना र बमबहादुर फ्याकको घरमा चार जनाको सामूहिक हत्या भएको पाइएपछि त्यहाँ खटिएको प्रहरी टोलीले घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेको छ।

घटनास्थलबाट भाग्न सफल एक बालिका प्रहरीको आश्रयमा छिन्।

पाँचथर राजधानी काठमाण्डूबाट झन्डै ६०० किलोमिटर पूर्वमा पर्दछ। आरुबोटे गाउँ पाँचथर-इलाम सीमाक्षेत्रबाट पश्चिमतिर अवस्थित छ।

अनुसन्धानको लागि प्रदेश १ का अन्य नगरबाट पनि प्रहरी टोली पाँचथर खटिएको उनले बताए।

उनले बीबीसीसँग भने, "घटनाबारे बिहान ५:३० बजेतिर खबर पाएलगत्तै प्रहरी टोली खटिएका छन्। भारतसँगको सीमा जोडिएको क्षेत्रमा घटना भएकोले चारैतिर सुरक्षा व्यवस्था कडा बनाइएको छ।"

उनका अनुसार घटनास्थलबाट भाग्न सफल एक बालिकाले प्रहरीलाई बताएअनुसार हत्यामा संलग्न व्यक्तिले कपडाले अनुहार छोपेका थिए।

"धारिलो हतियार प्रयोग गरि दुई परिवारका सदस्यको हत्या भएको पाइएको छ।"

सामूहिक हत्याकाण्ड कसरी बन्यो रहस्यमय?

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार घटनास्थलमा प्रहरी टोलीहरूले आफ्नो काम गरिरहेका छन्।

तस्वीर कपीराइट Miklajung RM/Facebook

उनले बीबीसीसँग भने, "प्रहरी अनुसन्धान टोली एउटा घटनास्थलबाट अर्को घटनास्थलमा जाने काम भइरहेको छ।"

प्रमुख जिल्ला अधिकारीका अनुसार "हत्यामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति गाउँनजिकै एउटा रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।"

माखिम र वस्तीका अनुसार पाँचथरमा अहिलेसम्म यस्तो खालको विभत्स सामूहिक हत्या नभएकोले जिल्लावासीहरू स्तब्ध भएका छन्।

उनले भने, "एक पछि अर्को घटना भइरहेकोले घटना रहस्यमय भएको छ।"

घटनामाथि घटना थपिएकोले प्रहरी टोलीहरू अनुसन्धानका लागि अहिले तीनतिर छरिएको उनले बताए।

सम्बन्धित सामग्री