किन हटायो बोत्स्वानाले हात्ती सिकारको प्रतिबन्ध

  • 24 मे 2019
हात्ती तस्वीर कपीराइट Getty Images

बोत्स्वानाले हात्तीको शिकार गर्न लगाएको प्रतिबन्ध हटाएको छ। मानिस र वन्यजन्तुबीच बढेको द्वन्द्व र बालीनालीमा पुगेको नोक्सानी घटाउन त्यसो गरिएको त्यहाँ सरकारको तर्क छ।

सन् २०१४ मा सिकार गर्न रोक लगाइएपछि आलोचकहरूले त्यसबाट साना किसान र त्यसअघि सिकारी गर्दै आएकाहरू अप्ठेरोमा परेको बताउँछन्।

बोत्स्वानामा विश्वकै सबैभन्दा बढी झन्डै एक लाख ३० हजार हात्तीहरू छन्।

प्रतिबन्ध हटाउने निर्णयको वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेहरूले विरोध गर्ने ठानिएको छ। उनीहरूले त्यसलाई राजनीतिक कदम मानेका छन्।

यो निर्णयले वन्यजन्तु संरक्षणमा बोत्स्वानाको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि बिगार्न सक्छ। र, त्यसको प्रभाव पर्यटन उद्योग र राजस्वमा पर्न सक्छ।

बोत्स्वानामा र हीरा खानीपछि विदेशी मुद्रा आर्जनको अर्को मुख्य स्रोत पर्यटन हो।

सरकारले के भनेको छ?

राष्ट्रपति मोक्गेत्सी मासिसीले गत वर्षको जुनमा एक समिति गठन गरेर उनका पूर्ववर्ती इयन खामाले सन् २०१४ मा गरेको निर्णयको समीक्षा गर्न लगाएका थिए।

फेब्रुअरीमा उक्त समितिले सिकारलाई पुन: अनुमति दिन सिफारिस गरेको थियो।

"मानिस र हात्तीबीचको ठूला खाले द्वन्द्वका सङ्ख्या बढेका छन् र मानिसका दिनचर्यामा त्यसका असर बढेको छ," वातावरण, प्राकृतिक स्रोत संरक्षण र पर्यटन मन्त्रालयले एउटा वक्तव्यमा भनेको छ।

"हिंसक जनावरहरू बढेसँगै त्यसले मारेका घरेलु जनावरलाई मार्ने दर पनि बढेको छ।"

मन्त्रालयले "सिकारलाई ब्युँताउने काम व्यवस्थित र विवेकपूर्ण ढङ्गबाट गरिएको" बताएको छ।

पृष्ठभूमि

सर्वेक्षणहरूले देखाएअनुसार हात्ती घुम्ने क्षेत्र पनि बढेको छ। विज्ञहरूले यसपछाडि जलवायु परिवर्तन लगायतका थुप्रै कारण रहेको बताएका छन्।

मानवबस्ती र खेतबारीमा छिरेपछि हात्ती निकै आक्रामक हुन सक्छ। त्यसले बालीनालीमा असर पार्नुका साथै कहिलेकाहीं मानिसहरूको ज्यान पनि लिन सक्छ।

त्यहाँका अधिकांश हात्तीहरू देशको उत्तरी भागमा बस्छन् र उनीहरू नामिबिया र जिम्बाब्वेसम्म घुम्छन्।

एउटा पछिल्लो सर्वेक्षणका अनुसार ग्रामीण भेगका मानिसहरूले सोचेजसरी धेरै वन्यजन्तुको सङ्ख्या बढेको पाइँदैन। संरक्षणकर्मीहरूले भन्न सक्छन्- यो निर्णयले आगामी अक्टोबरमा हुने चुनावअघि राष्ट्रपतिको लोकप्रियता बढाउन सक्छ।

इन्टरन्याश्नल युनियन फर कन्जर्भेशन अफ नेचर (आयूसीएन)का अनुसार अफ्रिकामा झन्डै चार लाख १५ हजार हात्तीहरू छन्। हस्तिहाडको ठूलो तस्करीका कारण तिनको सङ्ख्या घटेको छ।

सबैखाले हस्तिहाडको बिक्री प्रतिबन्ध गरेर अवैध सिकार रोक्ने अन्तर्राष्ट्रिय अभियान ले गति लिएको छ।

तर मानवबस्तीमा असर पारिरहेका धेरै सङ्ख्याका हिंसक हात्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा भने मत विभाजित हुने गरेको छ।

सम्बन्धित समाचार