जापान: चक्कु आक्रमण हुँदा बच्चा सहित तीनको मृत्यु

  • 28 मे 2019
जापान तस्वीर कपीराइट Reuters

जापानको राजधानी टोकियो नजिकैको शहर कावासाकीमा एकजना चक्कुधारीले बस कुरिरहेका स्कुले बालबालिकामाथि आक्रमण गरेका छन्।

बसोबास क्षेत्रमा भएको उक्त घटनामा परेर कम्तिमा १८ जना घाइते भएका थिए। त्यसमध्ये एक ११ वर्षीय बालिका र एकजना ३९ वर्षे पुरूषको निधन भएको छ।

आक्रमणकारी ठानिएका एकजना ५० वर्ष माथिका व्यक्तिले घटनापछि आफ्नो घाँटीमा चक्कु रोपेका थिए।

अस्पतालमा उनको मृत्यु भएको छ।

कारण

जापानमा यस्ता खाले हिंसात्मक घटनाहरू एकदमै कम हुने गर्छन्।

उक्त घटनाको उद्देश्य के थियो भन्ने पत्ता लागेको छैन।

दुवै हातमा चक्कु लिएको आक्रमणकारीले बालबालिकाहरूलाई आक्रमण गरेको थियो।

पीडितमध्ये १६ जना स्कुले बालिका रहेका छन्।

तस्वीर कपीराइट AFP

पीडित

प्रहरीले घटनामा मारिनेमा ६ कक्षाकी एकजना बालिका हानाको कुरिबायासी रहेको बताएको छ।

त्यस्तै अर्का व्यक्ति त्यहाँको विदेश मन्त्रालयका एकजना अधिकारी सातोशी ओमाया रहेका छन्।

उनी स्कुले बालबालिककाकै अभिभावक हुनसक्ने विश्वास गरिएको छ।

शंकास्पद आक्रमणकारी व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उक्त घटना विरूद्ध "तीव्र आक्रोश" उत्पन्न भएको बताउँदै आक्रमणको निन्दा गरेका छन्।

जापान विश्वकै कम हिंसात्मक घटना हुने मुलुकमा पर्छ। बालबालिकाहरू आफैँ विद्यालय जानु जापानमा सामान्य रहेको जापानस्थित बीबीसी संवाददाताले जनाएका छन्।

तर पछिल्ला वर्षहरूमा त्यहाँ चक्कु प्रहार गरि हिंसात्मक घटनाहरू भइरहेको देखिएको छ।

सन् २००१ मा ओसाकामा प्राथमिक विद्यालयमा भएको आक्रमणमा ८ जना केटाकेटी मारिएका थिए।