महिला जनप्रतिनिधिका दुई वर्ष: स्रोतको अभाव र 'पुरुषप्रधान सोच'ले असन्तुष्ट

  • 31 मे 2019
महिला जनप्रतिनिधि

नयाँ संविधान बमोजिम अधिकारसम्पन्न स्थानीय तहहरूको निर्वाचन भएर काम हुन थालेको पनि करिब २ वर्ष भएको छ।

देशभरका ७५३ स्थानीय तहमध्ये ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका तथा ४६० गाउँपालिकाहरूमा ३५ हजार जनप्रतिनिधि चुनिए।

त्यसमध्ये ४० प्रतिशत अर्थात् १४ हजारभन्दा बढी महिला रहेका छन्।

खासगरि नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख पदमा अधिकांश महिला चुनिएका छन्।

तर धेरै ठाउँमा महिलालाई अझै पनि काम देखाउन विविध अप्ठेरा खडा भएका गुनासो आउने गर्छन्।

महिला भएकैले अधिकारविहीन पारिने तथा निर्णय प्रक्रियामा सामेल नगराइने जस्ता गुनासा पनि छन्।

यसै साता राजधानी काठमाण्डूमा सरकारले आयोजना गरेको प्रथम राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देशभरबाट महिला जनप्रतिनिधि भेला भएका थिए।

सोही मौकामा हामीले उक्त भेलास्थल सभागृहमा रहेका केही महिला जनप्रतिनिधिहरूसँगको बीबीसी नेपाली सेवाका लागि कमल परियारले कुराकानी गरेका छन्:

कालिका पाठक

उपाध्यक्ष, कालिञ्चोक गाउँपालिका, दोलखा

आफ्नो कामप्रति सोचेजति सन्तुष्टि हुन सकेको छैन।

सिंहदरबार गाउँमा गयो भनेर जुन खालको परिकल्पना गरिएको छ, त्यस अनुसार नीतिनियम, ऐनकानुन र कर्मचारी अभाव, हामी आफैँमा रहेको अनुभवको कमी र जनताको निकै धेरै अपेक्षाका कारणले भनेजस्तो काम गर्न सकिएको छैन।

पदममाया तामाङ

उपाध्यक्ष, तीनपाटन गाउँपालिका, सिन्धुली

यो दुई वर्षको अनुभवमा सन्तुष्टि भन्दा पनि अलिकति काम गर्न चुनौती बढी भएको अवस्था विद्यमान छ।

स्थानीय तहमा उपाध्यक्षहरू धेरै महिला भएका कारणले अलिकति महिलाहरू कहिँ न कहिँ हेपिएको अवस्था छ। कार्यालय चलाउने देखि निर्णायक ठाउँमा पुग्ने कुरामा पनि अलिकति हेपाइ नै हुन्छ।

अनुभव बटुल्दै छौँ। हिजो अनुभव नभएका कारणले हरेक कुराहरू थाहा नदिकन निर्णय गर्ने परिपाटी थिए। तर अहिले अनुभव बटुल्दै आएकाले केही अगाडि बढ्दैछौँ।

प्रमिला सदा

वडा सदस्य, धनुषाधाम नगरपालिका, धनुषा

हामीलाई अधिकार नै छैन। न त बजेट नै छ। सदस्यको के नै अधिकार हुन्छ र?

नगरप्रमुखलाई महिलाका लागि केही गर्नुपर्‍यो भन्यो भने उहाँ केही स्रोत छैन भन्नुहुन्छ। गाउँगाउँमा दिन रात हिँड्नुपर्छ गाडीघोडाको सुविधा नि छैन। धेरै दु:ख छ, धेरै गाह्रो छ हामीलाई।

टासी ल्हामु शेर्पा

उपाध्यक्ष, खुम्बु पासाङ्ल्हामु गाउँपालिका, सोलुखुम्बु

हामी निर्वाचित भइसकेपछि यो दुई वर्षको अवधिमा कर्मचारीको पूर्ति नभएका कारण काम गर्न अप्ठेरो परेको छ। तर पनि समग्रमा हाम्रो कामप्रति म सन्तुष्ट नै छु।

नयाँ संरचना अनुसार कताकता महिला नेतृत्वलाई स्वीकारी नसकेको अवस्था छ। किनकि उनीहरूले महिलाले विभिन्न पदमा बसेर काम गर्न सक्छन् भनेर पत्याइनरहेको अवस्था छ।

धनिकुमारी खत्री

उपप्रमुख, राप्तीसोनारी गाउँपालिका, बाँके

एक वर्ष लगभग सिकाइमा मै वित्यो। सिकाइमा हुँदाहुँदै पनि हामीलाई साथ दिने मानिसको एकदम कमी भयो।

काम गर्नलाई कठिनाइ नभए पनि सल्लाहसुझाव वा सेवा सुविधाको कठिनाइ छ।

समूहमा काम गर्दा कसको जिम्मेवारी के हो भन्ने कुरा हाम्रो गाउँपालिकामा थाहा छैन।

वडाअध्यक्षले के भन्नुहुन्छ भने उपप्रमुख भनेको वडाअध्यक्ष भन्दा सानो पद हो।

मैले आफ्ना कुराहरू राख्दा उहाँहरूले एकदम छेकबार गर्नुहुन्छ।

महिलाले जति संघर्ष र परिश्रम पुरुषले गर्नसक्दैनन् तर महिलालाई हेर्ने दृष्टिकोणमा सुधार हुन सकेन।

फूलमाया विश्वकर्मा

वडा सदस्य, टोखा नगरपालिका, काठमाण्डू

राज्यले प्रत्येक वडामा दलित महिला अनिवार्य गरे पनि वास्तविक रुपमा दलितहरूको प्रतिनिधित्व हुन सकेको छैन।

लक्षित वर्गमा गाभेर राखिएकोले हामीलाई काम गर्न एकदम गाह्रो भएको छ। पटकपटक नगरसभामा कुरा राखेकी छु तर सुनुवाइ भएको छैन।

कुनै विकास वा अन्य कामहरूमा पनि हामी सहभागी भए पनि हुने नभएपनि हुने खालको अनुभव मेरो छ। अस्तित्व नै छैन हाम्रो उपस्थितिको।

गोमादेवी अधिकारी गौतम

वडा सदस्य, पोखरा महानगरपालिका, कास्की

आफ्नो काम प्रति म सन्तुष्ट नै छु।

देशको नयाँ संरचना भएकाले अलिक विकास निर्माणमा व्यवस्थापनजन्य कुरा नमिलेको कुरामा म सहमत छु।

चुनौती भनेको कार्यकारिणी पदमा पुरुष नै भएकाले महिलालाई केही असुविधा नै छन्।

तर सहयोग र साथ चाहिँ पाइरहेका नै छौँ। हामीले उठाएका ७० प्रतिशत कुरा सुनुवाइ हुन्छ बाँकी हुँदैनन्।

सुनिता चौधरी

उपाध्यक्ष, पौडेना गाउँपालिका, सर्लाही

कुनै कुनै स्थानीय तहमा त ठीकै अवस्था छ। तर सबैठाउँमा ठीक छैन।

जुन अधिकार संविधान कानुनले उपमेयरलाई दिएको छ त्यसअनुसार व्यवहार अनि कार्यान्वयनमा समस्या छन्।

अधिकार प्रयोग गर्न पाइएको छैन।

वीणा वास्तोला

उप-प्रमुख, चाँगुनारायण नगरपालिका, भक्तपुर

हामीले सोचेभन्दा राम्रो काम गर्न सकेको छौँ।

शुरूमा मलाई असहज होला कि जस्तो लागेको थियो तर त्यसो भएन।

प्रतिपक्ष विपक्ष सबैले केही नभनिकन सघाउनुभयो। जे गर्ने हो मिलेर काम गरेका छौँ।

हामी मेयर उपमेयरमा पनि केही झगडा छैन। जनताको मन जितेर काम गर्दा सजिलो हुँदोरहेछ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
महिला जनप्रतिनिधिका दुई वर्ष: गुनासा र असन्तुष्टि धेरै

सम्बन्धित सामग्री