सुडान सङ्कट: प्रदर्शनकारीविरुद्ध हिंसात्मक भएको भन्दै सेनाको निन्दा

  • 4 जुन 2019
प्रदर्शनकारी तस्वीर कपीराइट AFP
Image caption सुडानका सुरक्षा फौजलाई रोक्ने प्रयासमा प्रदर्शनकारीहरूले टायर बालेका छन्

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि हिंसात्मक आक्रमण भएपछि त्यहाँ सेनाको आलोचना भएको छ।

सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा ३० जनाको ज्यान गएको समाचार सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले अधिकारीहरूले अस्पतालमा पनि गोली चलाइएको भन्ने विवरणबाट आफू चिन्तित भएको भन्दै एउटा स्वतन्त्र अनुसन्धानका लागि आह्वान गरेका छन्।

सुडानमा भएको उक्त घटनालाई अमेरिकाले अमानवीय भनेको छ भने ब्रिटेनले त्यसलाई क्रुर भनेको छ।

अफ्रिकी सङ्घले पनि उक्त घटनाको निन्दा गर्दै तत्काल पारदर्शी अनुसन्धान थाल्न आह्वान गरेको छ।

आमहडताल आह्वान

गत एप्रिल महिनामा राष्ट्रपति ओमार अल-बशिरलाई सत्ताच्युत गरेपछि सुडानमा त्यहाँको सैन्य परिषद्ले शासन गरिरहेको छ।

देश गैरसैनिकले चलाउनुपर्ने माग गर्दै आएका प्रजातान्त्रिक आन्दोलनका नेताहरूले आफूहरूले ट्रान्जिशनल मिलिटरी काउन्सिल भनिने सैन्य परिषद्सँगको सबै सम्बन्ध भङ्ग गरेर आमहडताल आह्वान गरेको बताएका छन्।

सोमवार बिहानै सुरक्षा सेवाका कर्मचारीहरू मुख्य प्रदर्शन क्षेत्रमा गएको बताउँदै त्यहाँ खिचिएको भिडिओमा गोली चलेको सुनिएको बताए।

सरकारी टेलिभिजनमा वाचन गरिएको एउटा विज्ञप्तिमा सैन्य परिषद्ले घटना जसरी तीव्र रूपमा अघि बढ्यो त्यसप्रति आफूलाई दु:ख लागेको बताएको छ। उसले बाधा पुर्‍याउनेहरू र अपराधीहरूमात्रै आफ्नो निसानामा रहेको जनाएको छ।

विज्ञप्तिमा सैन्य परिषद्ले आफूहरू सर्वसाधारणको रक्षाका लागि समर्पित रहेको पनि जनाएको छ।

अस्पतालमा गोली प्रहार

यसअघि सुरक्षा फौजले खार्तुमस्थित एउटा अस्पताल घेरेका र अर्को अस्पतालमा गोली चलाएको अधिकारकर्मीहरूले बताएका छन्।

प्रदर्शनकारीहरूसँग निकट रहेका सुडानका चिकित्सकहरूको केन्द्रीय समितिले एक आठ वर्षीय बालकसहित ३० जनाको ज्यान गएको जनाएको छ।

कति जना हताहत भए भन्नेबारे पूर्ण विवरण आइनसकेको भन्दै उसले मारिनेको सङ्ख्या बढ्न सक्ने पनि जनाएको छ।

सेनाले गोली चलाउँदा सयौँ मानिसहरू घाइते भएको बताइएको छ।

जर्मनी र ब्रिटेनको अनुरोधमा यसै विषयमा मङ्गलवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को गोप्य बैठक हुने भएको छ।

प्रमुख घटना

तस्वीर कपीराइट AFP

डिसेम्बर १९, २०१८ - इन्धन र पाउरोटीको मूल्य बढेपछि विरोधप्रदर्शन सुरु

फेब्रुअरी २२, २०१९ - राष्ट्रपति बशिरद्वारा सरकार भङ्ग

फेब्रुअरी २४ - सुरक्षाकर्मीले गोली हाने पनि विरोधप्रदर्शन जारी

एप्रिल ६ - राष्ट्रपति बशिरले पदत्याग नगरेसम्म नहट्ने भन्दै सैन्य मुख्यालयमा धर्ना

एप्रिल ११ -‍ वरिष्ठ सैन्य अधिकारीहरूद्वारा बशिरलाई हटाइएको घोषणा, तर गैरसैनिक शासनको माग गर्दै धर्नालाई निरन्तरता

एप्रिल २० - सैन्य शासक र नागरिक प्रतिनिधिहरूबीच वार्ता सुरु

मे १३ - सैन्य मुख्यालयबाहिर गोली चल्दा छ जनाको मृत्यु

मे १४ - सेना र नागरिक प्रतिनिधिबीच तीनवर्षे सङ्क्रमणकालबारे सहमति

मे १६ - केही स्थानबाट अवरोध हटाउने सेनाको मागपछि वार्ता पछि सारियो

जुन ३ - सेनाले धर्ना हटाउन बल प्रयोग गरेको आरोप लगाउँदै अभियानकर्ताहरूद्वारा सेनासँगको वार्ता स्थगित भएको घोषणा

सम्बन्धित सामग्री