जुलिअन असान्ज: बलात्कारको मुद्दामा पक्राउ गर्ने अनुरोध स्वीडनमा अस्वीकृत

  • 4 जुन 2019
जुलिअन असान्ज तस्वीर कपीराइट Reuters

स्वीडनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ। यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ।

सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा सहयोग नगरेका कारण उनीसँग थप सोधपुछ गर्नुपर्ने माग अभियोजनकर्ताहरूको थियो।

अभियोजनकर्ताहरूको पक्षमा निर्णय गरिएको भए यूकेबाट असान्जलाई सुपुर्दगी गराउने प्रक्रिया अघि बढ्ने थियो।

तर स्वीडनका एक न्यायाधीशले असान्ज हाल ब्रिटेनको हिरासतमा रहेको बताउँदै उक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए।

स्वीडनको कानुनअनुसार कुनै व्यक्ति विदेशमा भएको वा लुकेको भए उनको अनुपस्थितिमा पक्राउका लागि आदेश जारी हुन सक्छ।

यसलाई एउटा सामान्य प्रक्रियाका रूपमा हेरिन्छ र यसले अभियोजनकर्ताहरूलाई 'युरोपियन एरेस्ट वारेन्ट' जारी गरेर अर्थात् युरोपमा पक्राउ गर्ने अधिकार दिएर स्वीडन ल्याउने अधिकार दिन्छ।

अदालतको फैसलापछि स्वीडनकी सार्वजनिक अभियोजन निकायकी उपनिर्देशक इभा-मारी पेर्सनले बलात्कारबारे अनुसन्धान जारी रहने बताएकी छन्।

उनले असान्जसँग थप सोधपुछ गर्न युरोपभरि मान्य हुने अनुसन्धानसम्बन्धी आदेश जारी गर्ने बताएकी छन्।

तस्वीर कपीराइट EPA

अस्ट्रेलियाका नागरिक असान्जले स्वीडन पठाइनबाट जोगिन सात वर्षअघि लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिएका थिए। आफूमाथि लगाइएको बलात्कारसम्बन्धी आरोप असान्जले अस्वीकार गर्दै आएका छन्।

गत मे महिनामा असान्ज पक्राउ परेपछि स्वीडनका अभियोजनकर्ताहरूले फेरि अनुसन्धान सुरु गरेका थिए।

हाल ब्रिटेनको हिरासतमा रहेका विकिलिक्सका यी संस्थापकमाथि अमेरिकी सरकारको गोप्य दस्ताबेज चुहाएको आरोप छ जसका कारण उनलाई अमेरिकाले पनि आफ्नो देशमा लैजान खोजिरहेको छ।

आरोप लागेका सबै अभियोग पुष्टि भएमा असान्जलाई १७५ वर्ष सम्म जेल सजाय हुन सक्छ।

सुपुर्दगीको माग स्वीडेनले स्वीकार गरेको खण्डमा असान्जलाई कहाँ पठाउने भन्ने कुरा ब्रिटेनको हातमा रहनेछ।

सम्बन्धित समाचार