यसरी भयो मानव लेखनको विकास

  • 9 जुन 2019
लेखन इतिहास तस्वीर कपीराइट Getty Images
Image caption विचार लेखन

अहिले तुरुन्तै केही लेख्नु पर्‍यो भने तपाईँ कलम लिएर कागजमा लेखिहाल्नुहुन्छ अथवा प्रविधिले सुसज्जित हुनुहुन्छ भने आफ्नोअगाडि भएको ट्याब्लटको स्क्रिनतिर लागिहाल्नुहुन्छ।

गएको पाँच हजार वर्षमा यो पृथ्वीभरका मानिसहरू आफ्ना विचारहरू प्रस्तुत गर्ने माध्यमहरू पत्ता लगाउँदै र उपयोग गर्दै आइरहेका छन् र विभिन्न सभ्यताहरूले आआफ्ना प्रणाली विकास गरेका छन्।

हस्तलेखनको इतिहास र यसको विकासक्रम खोज्न लण्डनस्थित ब्रिटिश लाइब्रेरीले उसको आफ्नो वृहत् भण्डारमा आधारित भएर सर्वसाधारण समक्ष १०० वटा आश्चर्यजनक वस्तुहरू प्रस्तुत गरेको छ।

३००० बीसीमा मेसोपोटामियन माटोका ट्याबलेटहरूमा कुँदिएका तस्बिरदेखि अहिलेको डिजिटल कुराकानीसम्म, लेखनी कसरी विकास भयो त?

यी हुन् केहि महत्त्वपूर्ण बस्तुहरू:

१.चिनियाँ हड्डीहरू

तस्वीर कपीराइट British Library Board
Image caption शाङ वंशमा इश्वरसँग सोधिने प्रश्नहरू हड्डीमा लेखिन्थे

चीनमा शाङ बंश (१३००बीसीदेखि १०५०बीसी) भगवा‌न्‌सँग परामर्श लिन चाहन्थे - चिनियाँ लिपि प्रयोग गरेर- हड्डीमा प्रश्नहरू कुँदिन्थ्यो र तिनलाई विशेष शक्ति भएकाहरूसँग परामर्शका लागि प्रयोग गरिन्थ्यो।

लेखन "तामा, ढुङ्गा, मैन र माटोबाट बनेका वस्तुहरूमा छापेर वा कुँदेर शुरु भएको थियो," ब्रिटिश लाइब्रेरीकी चिनियाँ सङ्ग्रहकी क्युरेटर तथा पूर्वी एसिया विज्ञ एम्मा ह्यारिसन भन्छिन्।

२. जापानी शाही हस्तलेखन

तस्वीर कपीराइट British Library Board
Image caption सम्राट शोमु र साम्राज्ञी कोम्योको दुर्लभ हस्तलेखनको उदाहरण, एडी-७५०

पाँचौ शताब्दी एडी देखि जब चीनबाट जापानमा लेखनी भित्रियो, कलात्मक हस्तलेखन जापानमा उच्चकोटीको कलाका रूपमा लिन थालियो- र अहिलेसम्म त्यसबारे त्यस्तै धारणा छ।

जापानी सम्राट शोमु र साम्राज्ञी कोमोयोको हस्तलेखन मध्य आठौँ शताब्दी एडीको रहेको छ।

तिनमा दुई फरक बौद्ध सुत्रबाट निकालिएका भनाइ छन् (सूत्र भनेको संस्कृत शब्द हो। जसको अर्थ हुन्छ–धार्मिक शिक्षा); एउटा सूत्र 'बुद्धिमान र मूर्ख,' र अर्को 'कमल' सूत्र।

३. हिरा सूत्र

तस्वीर कपीराइट British Library Board
Image caption हिरा सूत्र संसारको छपाइ पुस्तकको प्रारम्भिक दिनको मिति सहितको उदाहरण हो

हिरा सूत्र अहिलेसम्मकै सबभन्दा पुरानो मिति उल्लेख गरिएको पुस्तक मानिन्छ। "सांसारिक भ्रम के हो र के चाहिँ वास्तविक र चिरस्थायी हुन्छ भन्नेबारे हिराको धारले झैँ काट्ने" भन्ने सूत्रमा आधारित भएर यसको नाम राखिएको देखिन्छ।

कागजमा छापिएको यो सूत्र आधुनिक चीनको डुनहुआङ क्षेत्रको एउटा गुफामा फेला परेको थियो।

यो काठको ब्ल्क प्रिन्टिङको शुरुवातकालीन उदाहरण हो। छाप्ने पहिलो तरिका विकास हुँदै थियो- त्यो सात खण्डम बाँडिएको थियो, हरेक कुरा एउटा खण्ड बनाएर छापिन्थ्यो र एक आपसमा टाँस्दै जाँदा ५ मीटर भन्दा लामो हुन्थ्यो।

४. मायन स्टेला

तस्वीर कपीराइट The Trustees of the British Museum)
Image caption मायन चुनढुङुगा स्टेलामा लेखन एडी ६४७, बलिज

ह्यारिसन भन्छिन् "हामी स्वतन्त्र रूपमा लेखन विकास भएको विश्वास गरिएका सबै ठाउँको लेखनको विविधता देखाउन चाहन्थ्यौँ, त्यसरी लेखन विकास भएको एक ठाउँ मेसोअमेरिका पनि हो।"

मेसोअमेरिका- ऐतिहासिक क्षेत्र। जहाँ अहिलेको मेक्सिको, ग्वाटेमाला, हुण्डुरस, बेलिज, एल साल्भाडोर, निकारागुअ र कोस्टारिका पर्छन्- त्यहीँ एक समयमा मायन सभ्यता विस्तार भएको थियो र उनीहरूले त्यहाँ आफ्ना स्तम्भहरू अथवा कुँदिएका ढुङुगाहरू ठड्याएका थिए।

उनीहरूको लक्ष चाहिँ मायन राजाहरू र उनका सहयोगीहरूको गुणगान गाउनु थियो, ति बिलबोर्डजस्तो काम गर्थे।

प्रदर्शनीको स्टेला उदाहरण आकर्षक छ- एडी ६००- एडी ८०० को २.२ मीटर लामो चुनढुङ्गा, जसले शासक काक उटी चानको शासनकाल दर्शाउँछ र यो ब्रिटिश सङ्ग्रहालयमा पुसिल्हा, बेलिजबाट सन् १९२९ मा ल्याइएको हो।

यसको एकापट्टी ११२ वटा एक प्रकारको ग्लीफ छ। जसलाई प्रारम्भिक लेखन सङ्केत मान्ने गरिन्छ। र अर्कोतिर लोगोग्रामको सङ्ग्रह छ। जसले वस्तु र धारणाको तस्बिर वा अक्षर जनाउँछ।

"यसमा "सिलेबीक मार्कर"हरू पनि छन्, जसले तिनको उच्चारण कसरी गर्ने भन्न सघाउँछन्।"

५. गुटेनबर्गको पोपको दस्तावेज

तस्वीर कपीराइट British Library Board
Image caption गुटेनबर्गको पोपको दस्तावेज युरोपमा यताउता लैजान मिल्ने प्रविधिमा छापिएको सबभन्दा पहिलो दस्तावेज भएको ठानिन्छ।

सबैभन्दा पहिलेको युरोपको पूर्ण पुस्तक जोहानस गुटेनबर्गको बाइबल हो, जुन माइन्ज जर्मनीमा सन् १४५५ मा प्रकाशित भएको थियो।

त्यसबेलासम्ममा युरोपमा किताबहरू प्रकाशित गर्ने एउटै मात्र तरिका ध्यानपूर्वक हातले नै पटक पटक लेखिरहने थियो।

तर यसपटक गुटेनबर्गले नयाँ तरिका पत्ता लगाए "यतायता सार्न मिल्ने प्रविधि" अर्थात प्रिन्टिङ प्रेस।

र गुटेनबर्गको छपाइको शुरुवाती उदाहरण चाहिँ पोपको एउटा दस्तावेज थियो जसले "कसैले पाउने यातनाको समय कम गर्ने नियतले तयार पारिएको थियो" ह्यारिस बताउँछिन्।

६. फ्लोरेन्स नाइटिङ्गेलको नोटबुक र दैनिकहरू

तस्वीर कपीराइट British Library Board
Image caption क्राइमिया युद्धकी नर्स: फ्लोरेन्स नाइटिङ्गेलले आधुनिक अस्तपालको मापदण्ड निर्धारण गरिदिइन्, सरसफाइ र तथ्याङ्कको प्रयोगमा जोड दिएर बाँच्ने दर बढेको थियो

फ्लोरेन्स नाइटीङ्गेल ब्रिटिश समाज सुधारक थिइन्। जसले क्राइमिया युद्धका बेला (१८५३-६) स्वास्थ्य सेवा कसरी गर्नेभन्नेमा ठूलो परिवर्तन ल्याइदिइन्।

उनको गोप्य औजार थियो, उनको विस्तृत लेखिएको दैनिकी- त्यसमा उनले दैनिक कामको रेकर्ड र अस्पतालको खर्चको हिसाब राख्थिन्।

र उनले आफ्नो जस्तै काम गर्न अरु नर्सलाई पनि तालिम दिएकी थिइन्।

ह्यारिसन भन्छिन्, "उनका नोटबुकहरू र हस्तलेखन मार्फत् हामी हरेक दिन अद्भुत कुराहरू देख्छौँ, हामीले जाने बुझेकी एक व्यक्तिलाई फरक दृष्टिकोणबाट देख्छौँ।"

नाइटिङ्गेलले सङ्कलित सूचना तथ्याङ्क बनोस् भन्ने निश्चित गरेकी थिइन्। जुन पछि गएर तथ्याङ्कशास्त्र र तथ्याङ्कको उपयोग क्षेत्रमा अभूतपूर्व सावित बन्न पुग्यो।

सरसफाइमा उनको विशेष जोड र तथ्याङ्कको आधारमा कसरी अस्पतालहरू सञ्चालन गर्ने भन्ने कुराले अस्पतालहरू सञ्चालनका तरिकामा सुधार ल्यायो। त्यसले गर्दा मानिस बाँच्ने दर बढ्दै गयो। त्यसैले नाइटिङ्गेललाई आधुनिक नर्सिङको संस्थापक बनायो।

७.बङ्गालको विभाजन विरुद्धको विरोधपत्र

तस्वीर कपीराइट British Library Board
Image caption ब्रिटिश राजको इतिहासमै सन् १९०५ मा बङ्गालको विभाजन विरुद्धको विरोध पत्र अभुतपूर्व थियो।

"किताबका रूपमा तयार पारिएको ६०,००० हस्ताक्षर भएको आवेदनले इतिहासको एउटा समयको एउटा असाध्यै महत्त्वपूर्ण दृष्य देखाउँछ," ह्यारिसन भन्छिन्।

सन् १९०५ मा ब्रिटिश राज- ब्रिटिश राज परिवारको भारतीय उपमहाद्वीपमा औपनिवेशिक शासन (सन् १८५८-१९४७)-ले बङ्गाललाई धार्मिक आधारमा विभाजनको प्रस्ताव गरिररहेको थियो, पूर्वमा मुश्लिमहरू र पश्चिममा हिन्दूहरू राखेर।

अन्त्यमा कैयौँ हिन्दूहरूले मानेको "फुटाउ र राज गर" नीति अगाडि बढ्यो तर त्यसले ठूलो विरोध र असन्तुष्टि पैदा गर्‍यो जुन सन् १९११ मा गएर पछाडि फर्कन बाध्य हुनुपर्‍यो।

हस्ताक्षरकर्ताहरूले जे जान्दछन् त्यही भाषा अङ्ग्रेजी या बङ्गालीमा लेखेका थिए।

विरोधपत्र राजनीतिक या साङ्केतिक शक्तिका लागि आफ्नो नामको उपयोगको उदाहरण बन्न पुग्यो: हस्ताक्षर गर्नु भनेको आफ्नो पहिचानको प्रस्तुति बन्न पुग्यो।

अहिलेको कम्प्युटरमा आधारित प्रशासन, मुहारको पहिचान र बायोमेट्रिक्सको जमानामा पनि हस्ताक्षरको उस्तै भूमिका रहला?

८. डबल पिजन टाइपराइटर

तस्वीर कपीराइट British Library Board
Image caption अक्षर होइन- डबल पिजन टाइपराइटरमा रहेका चरित्रहरू।

चिनियाँ डबल पिजन टाइपराइटर अद्भुत इतिहास भएको विशेष उपकरण हो, भन्छिन् ह्यारिसन। किनभने "यसले चिनियाँ लेखन प्रणालीलाई विभिन्न चरणको एक शताब्दी लामो परीक्षण पछि एउटा निस्कर्षमा पुर्‍यायो।"

चिनियाँ तस्बिरमा आधारित भाषा हो, जसमा हरेक अक्षरले वस्तु र धारणालाई प्रत्यक्ष बुझाउँछन्।

आधारभूत साक्षरता प्राप्त गर्न कम्तिमा २००० अक्षरहरू चिन्नुपर्छ र साहित्यिक भाषाका दक्षताका लागि कम्तीमा ६००० अक्षरहरू चिन्नुपर्ने हुन्छ।

ल्याटिन अक्षर प्रयोग हुने कुनै पनि भाषालाई अहिले प्रयोगमा रहेको क्यूडब्लूइआरटीवाई सानै किबोर्डमा समेट्न सकिन्छ।

तर प्रभावकारी चिनियाँ टाइपराइटरका भने धेरै चुनौती हुन्छ, किनभने त्यसमा जम्माजम्मी ५०,००० चरित्र/अक्षरहरू समेट्नुपर्ने हुन्छ।

त्यसैले डबल पिजनले एउटा सरल समाधान निकाल्यो: २,४१८ वटा यताउता सार्न मिल्ने, हेर्दा उस्तैउस्तै देखिने र प्रयोगमा आधारित अक्षरहरूको समूहलाई एकातिर राखियो। दुईवटा थप बाकस पनि बनाइयो। प्रत्येकमा थप १,७१६ अक्षरहरू पनि अटाउँथ्यो।

चिनियाँ टाइप गर्ने व्यक्तिले प्रति मिनेटमा २० अक्षर टाइप गरे राम्रो गरेको मानिन्छ जबकी क्यूडब्लूईआरटीवाई किबोर्ड प्रयोगकर्ताहरूले औसतमा प्रतिमिनेट २०० क्यारक्टर टाइप गर्न सक्ने मानिन्छ।

९.एल सिड स्ट्रिट कला

तस्वीर कपीराइट Tony Antoniou
Image caption फ्रेन्च-ट्युनिसियन कलाकार एल सीडले खलिल जिब्रानबाट प्रेरणा लिएर "म तिमी जस्तै जीवित छु" शीर्षकमा कला तयार पारेका थिए।

अरेबिक भाषाको हस्तलेखक बन्न वर्षौँको तालिम र प्रशस्त अभ्यास चाहिन्छ र शताब्दियौँ देखि यो -मुस्लिम पवित्र ग्रन्थ कुरानसँग नजिकबाट जोडिएको छ।

कुरान अरेबिकमा लेखिएको सबभन्दा पुराना किताबमा पर्छ। यसले नै मध्यपूर्वको अधिकांश स्थानमा हस्तलेखनलाई महत्त्वपूर्ण र सम्मानित कलाको मान्यता दिलाउन र भाषाको मापदण्ड कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

तर पछिल्लो समयमा अरेबिक हस्तलेखन पवित्र लेखनीमा मात्र सिमित नरहेर फ्रेन्च-ट्युनिसियाली सडक कलाकार एल सीड जस्ता व्यक्तिको माध्यमबाट अन्यत्र पनि प्रयोगमा आएको छ।

उनको काममा परम्परागत रूपको सुन्दर लेखन गैर धार्मिक लेखनमा प्रयोग भएको छ। जसलाई उनले क्यालीग्र्याफिटी भन्ने गर्छन्।

यो प्रदर्शनको लागि उनले लेबनानी कवि खलिल गिब्रानको "म तिमिजस्तै बाँचिरहेको छु" बाट प्रोत्साहित भएर कला प्रस्तुत गरेका छन्।

१०. इतिहासका ट्याब्लेटहरू…..

तस्वीर कपीराइट The Trustees of the British Museum
Image caption जहाँ यो शुरु भयो: इजिप्ट र मेसोपोटामियाबाट अक्षरको शुरुवात भएको मानिन्छ

पुरातत्त्वविद्‍हरू केही सबभन्दा पुरानामध्येका लेखन ३००० बीसी तिरका रहेका र ती अहिलेको इराकमा पर्ने मेसोपोटामियाका रहेकोमा सहमत छन्।

प्राचीन सुमेरियनहरूले क्युनिफर्म भनिने लेखन प्रणाली विकास गरे, जसमा माटोका ट्याब्लेटहरूमा छाप बनाइन्थ्यो।

तिनमा जुनसुकै कुरा पनि लेख्न सकिन्थ्यो: थरीथरीका बाली र गेडागुडीको प्रकारको रेकर्ड, भेडा र बस्तुभाउको व्यापार, कर र कानुन।

क्युनिफर्म प्रणाली ३,००० वर्षसम्म प्रयोगमा आएको र सुमेरियनदेखि अक्काडिएन, बेबिलोनियन, असिरिएन, एलामाइट, हिटाइट, युरारटियन र पूर्व पर्सियाली लगायतका १५ भाषाले त्यो तरिका अपनाएको अनुमान गरिन्छ।

हामी अहिले पनि लेखनका लागि ट्याब्लेट प्रयोग गरिरहेका छौँ, तर पहिलेको भन्दा धेरै फरक किसिमको- जसले प्रदर्शनी आयोजकहरूमा प्रश्न उब्जाइदिएको छ…..

लेखनको भविष्य के होला?

तस्वीर कपीराइट Getty Images
Image caption हाम्रा अहिलेका ट्याब्लेटबारे भविष्यका बच्चाहरू के सोच्लान्?

"युरोपमा पाँच सय वर्ष अघि यताउता लैजान मिल्ने ट्याब्लेटको प्रयोगले विभिन्न अवसरहरू पैदा भयो, लेखपढ्को उत्कट चाहना भएकाहरूले त्यो अवसरको उपयोग गरे" डिजाइन प्राध्यापक इवान क्लेटन भन्छन् "जसले यूरोपेली मुलुकका धेरै मानिसको स्व-बुझाइमा ठूलो परिवर्तन ल्याइदियो।"

"आज हामी लेखनीको ठूलो फड्कोको समयमा बाँचिरहेका छौं" उनी भन्छन्।

बढ्दो डिजिटाइजेशन अपरिहार्य भएपनि हातले लेखिने स्क्रिप्ट पनि तत्कालै हराउला जस्तो देखिन्न किनभने धेरै मानिसहरू "विभिन्न प्रविधिको मिश्रण प्रयोग गर्न चाहन्छन्," ह्यारिसन भन्छिन्।

त्यसैले तपाईँको कापी र कलम अहिले नै नफालिहाल्नोस है!

प्रदर्शनी लण्डनमा २७ अगष्टसम्म चल्नेछ।