सुडान सङ्कट: सैन्य दमनमा मृत्यु हुनेको सङ्ख्या बढ्दो, विपक्षीद्वारा वार्ता अस्वीकार

  • 6 जुन 2019
सुडान तस्वीर कपीराइट Reuters

सुडानमा विपक्षी कार्यकर्ताहरूले देशको सैन्य परिषद्ले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्।

प्रदर्शनकारीहरूमाथि सैन्य परिषद्ले गरेको हिंसात्मक दमनपछि उनीहरूमाथि विश्वास गर्न नसकिने विपक्षीले बताएका हुन्।

अर्धसैनिक बलले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि हिंसात्मक आक्रमण गर्दा कम्तीमा एक सय जनाको मृत्यु भएको र राजधानी खार्तुममा नाइल नदीबाट ४० वटा शव निकालिएको दाबी विपक्षी कार्यकर्ताहरूले गरेका छन्।

तर सुडानको स्वास्थ्य मन्त्रालयले सय जनाको मृत्यु भएको भन्ने विवरणको खण्डन गर्दै अहिलेसम्म हताहत हुनेको सङ्ख्या ४६ मात्र भएको दाबी गरेको छ।

खार्तुमबाट प्राप्त विवरणहरूका अनुसार र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) भनिने अर्धसैनिक बल सहरका सडकमा घुमिरहेको छ र उसको निसानामा सर्वसाधारण परेका छन्।

स्थिति कस्तो छ?

सुरक्षाकर्मीको दमनका कारण सर्वसाधारणले आफू भयभीत भएको बीबीसीलाई बताएका छन्।

विपक्षीसँग निकटस्थ सुडानका चिकित्सकको एउटा समूहले फेसबुकमा "४० जना सहिदको शव" नाइल नदीबाट निकालिएको जनाएको छ।

उक्त समूहका एक सदस्यले अस्पतालमा आफूहरूले ती शव देखेको र सनाखत गरेको जानकारी दिँदै मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको बीबीसीलाई बताए।

तस्वीर कपीराइट AFP

नाम उल्लेख नगरिएका एक भूतपूर्व सुरक्षा अधिकारीलाई उद्धृत गर्दै च्यानल फोरका पत्रकार युस्रा एल्बागिरले केही व्यक्तिलाई कुटेर, गोली हानेर वा धारिलो हतियारले काटेर नाइल नदीमा फालिएको बताएका छन्।

ती स्रोतले यसलाई "नरसंहार" भनेका छन्।

परिस्थिति कति भयावह छ भन्ने चित्रण गर्दै खार्तुमकै एक बासिन्दाले बीबीसीसँग कुरा गर्दै मानिसहरू घरबाट निस्कँदा पनि सैनिकले पिटिहाल्छन् वा मारिहाल्छन् कि भन्ने डरमा रहेको बताएका छन्।

निर्वाचन कहिले?

सुडानमा यतिबेला सेनाको शासन छ।

सैन्य परिषद्का प्रमुख जनरल बुर्हानले मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्दै यो घटनाको अनुसन्धान गरिने बताएका छन्।

मङ्गलवार वार्ता स्थगित भएको घोषणा गरेका उनले भोलिपल्ट वार्ताका लागि पुन: आह्वान गरेका थिए। तर प्रदर्शनकारी र विपक्षीहरूले सो प्रस्ताव अस्वीकार गरेका छन्।

एप्रिल ६ तारिखदेखि नै विपक्षी कार्यकर्ताहरूले सेनाको मुख्यालयअगाडि भेला भएर विरोधप्रदर्शन गर्दै आएका छन्।

तीस वर्षसम्म सत्तामा रहेका राष्ट्रपति अमिर अल बशिरलाई सेनाले पदच्युत गरिदिएको थियो। त्यसपछि प्रदर्शनकारीहरूले गैरसैनिक शासन फर्काउन सेनासँग सहमति गर्ने प्रयास गरेका थिए।

उनीहरूबीच तीन वर्षपछि सुडानमा निर्वाचन गर्ने एउटा सहमति पनि भएको थियो।

तर सोमवार नै अर्धसैनिक बलले प्रदर्शनकारीमाथि गोली चलायो।

मङ्गलवार सैन्य परिषद्का प्रमुखले वार्ताको अर्थ नरहेको भन्दै अब नौ महिनापछि निर्वाचन हुने घोषणा गरे।

तर विपक्षीले निष्पक्ष निर्वाचन गर्न लामो समय चाहिने बताएका छन्।

कहिले के भएको थियो?

तस्वीर कपीराइट AFP

डिसेम्बर १९, २०१८ - इन्धन र पाउरोटीको मूल्य बढेपछि विरोधप्रदर्शन सुरु

फेब्रुअरी २२, २०१९ - राष्ट्रपति बशिरद्वारा सरकार भङ्ग

फेब्रुअरी २४ - सुरक्षाकर्मीले गोली हाने पनि विरोधप्रदर्शन जारी

एप्रिल ६ - राष्ट्रपति बशिरले पदत्याग नगरेसम्म नहट्ने भन्दै सैन्य मुख्यालयमा धर्ना

एप्रिल ११ -‍ वरिष्ठ सैन्य अधिकारीहरूद्वारा बशिरलाई हटाइएको घोषणा, तर गैरसैनिक शासनको माग गर्दै धर्नालाई निरन्तरता

एप्रिल २० - सैन्य शासक र नागरिक प्रतिनिधिहरूबीच वार्ता सुरु

मे १३ - सैन्य मुख्यालयबाहिर गोली चल्दा छ जनाको मृत्यु

मे १४ - सेना र नागरिक प्रतिनिधिबीच तीनवर्षे सङ्क्रमणकालबारे सहमति

मे १६ - केही स्थानबाट अवरोध हटाउने सेनाको मागपछि वार्ता पछि सारियो

जुन ३ - सेनाले धर्ना हटाउन बल प्रयोग गरेको आरोप लगाउँदै अभियानकर्ताहरूद्वारा सेनासँगको वार्ता स्थगित भएको घोषणा

सम्बन्धित सामग्री