बीबीसी नेपाली सेवा: ५० वर्ष प्रवेश गर्दासम्मका महत्त्वपूर्ण मिति

  • 7 जुन 2019

बीबीसी नेपाली सेवा स्थापनाको५०‌औँ वर्षमा प्रवेश गरेको छ। बीबीसीमा नेपाली भाषा सेवाको प्रथम प्रसारण सन् १९६९ जुन ७ मा भएको थियो।

पहिलो कार्यक्रम पूरन अग्रवालले प्रस्तुत गरेका थिए।

प्रारम्भिक वर्षहरूमा हप्ताको एक दिन शनिवार ३० मिनेट कार्यक्रम प्रसारण हुनेगर्थ्यो।

पूरन अग्रवाल, नेपालीभाषी आरोही लेफ्टिनेन्ट कर्नेल वाइली र नेपाली कार्यक्रम निर्माता हेदर बोन्ड
Image caption बीबीसी नेपाली सेवाका प्रथम कार्यक्रम प्रस्तोता पूरन अग्रवाल, नेपालीभाषी आरोही लेफ्टिनेन्ट कर्नेल वाइली र नेपाली कार्यक्रमकी संयोजक हेदर बोन्ड बीबीसीको बुश हाउसमा जुलाई २८, १९६९ मा
ब्रिटेनका लागि तत्कालीन नेपाली राजदूत सरदार ईश्वरीराज मिश्र
Image caption ब्रिटेनका लागि तत्कालीन नेपाली राजदूत सरदार ईश्वरीराज मिश्र बीबीसी नेपाली सेवाको पहिलो कार्यक्रममा सन्देश दिँदै

सन् १९७४ देखि बीबीसी नेपाली सेवा हप्ताको तीन पटक (सोमवार, बुधवार र शुक्रवार) प्रत्येक दिन १५ मिनेट प्रसारण हुन थाल्यो।

राजा महेन्द्रको अन्तर्वार्ता लिँदै यादव खरेल
Image caption सन् १९७० सेप्टेम्बर ३ मा बीबीसी नेपाली सेवाका लागि राजा महेन्द्रको अन्तर्वार्ता लिँदै यादव खरेल

जुलाई ३०, १९८४ देखि बीबीसी नेपाली सेवाको प्रसारण समय बढेर ३० मिनेट भयो। कार्यक्रम हप्तामा तीन दिन (सोमवार, बुधवार र शुक्रवार) प्रसारण हुन्थ्यो।

पछि जेनुअरी १९८८ देखि कार्यक्रम सोमवारदेखि शुक्रवारसम्म दैनिक २० मिनेट प्रसारण हुन थाल्यो।

जोन रेनर, खगेन्द्र नेपाली, मणि राना र हेदर बोन्ड
Image caption सन् १९८४ मा बीबीसी नेपाली सेवाका बारेमा छलफल गर्दै नेपाली सेवा प्रमुख जोन रेनर, खगेन्द्र नेपाली, मणि राना र हेदर बोन्ड

एप्रिल ७, १९९० देखि बीबीसी नेपाली सेवा सोमवारदेखि शनिवारसम्म हप्ताको छ दिन प्रसारण हुन थाल्यो।

सोअी वर्ष जुलाई महिनादेखि देखि कार्यक्रम प्रसारणका लागि भू-उपग्रह सम्पर्क प्रयोगमा ल्याइयो। रेडियो नेपालका फ्रिक्वेन्सीहरूमा बीबीसी नेपाली सेवाको कार्यक्रम प्रसारण भयो।

अधिराजकुमार ज्ञानेन्द्र शाहको अन्तर्वार्ता लिँदै बीबीसी नेपाली सेवाका खगेन्द्र नेपाली
Image caption सन् १९८१ मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको अन्तर्वार्ता लिँदै बीबीसी नेपाली सेवाका खगेन्द्र नेपाली
बीबीसी नेपाली सेवाको कार्यक्रम रेडियो नेपालको स्टुडियोबाट प्रस्तुत गर्दै खगेन्द्र नेपाली
Image caption सन् १९९० मा प्रजातन्त्र पुर्नबहाली भएपछि बीबीसी नेपाली सेवाले रेडियो नेपालको स्टुडियोबाट विशेष परिसंवाद कार्यक्रम प्रस्तुत गरेको थियो। त्यसमा सहभागी हुँदै नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई

जेनुअरी १९९२ देखि बीबीसी नेपाली सेवा हप्ताको सातै दिन प्रसारण हुन थाल्यो।

अगस्ट १, २०१३ देखि बिहानीपख १५ मिनेट लामो प्रसारण सुरु भयो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बीबीसी नेपाली सेवाको पहिलो प्रसारण यस्तो थियो

मार्च ११, २०१९ देखि डिजिटल सेवा विस्तार गर्दै बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रम हप्ताको पाँच पटक (सोमवारदेखि शुक्रवार) प्रत्येक दिन ४५ मिनेट प्रसारण हुँदै आएको छ।

सबै तस्बिरको सर्वाधिकार बीबीसीमा

सम्बन्धित सामग्री