तराईका नेताको पहाड अनुभव: "पहाडमा मधेशप्रति राम्रो भावना पाएँ, त्यही कुरा तराईमा पनि हुनुपर्छ"

  • 11 जुन 2019
रामकृष्ण यादव तस्वीर कपीराइट Facebook / Ram Krishna Yadav

पूर्वमन्त्री रामकृष्ण यादवले झन्डै तीन साता दोलखाका गाउँगाउँमा बिताउँदा जीवनकै 'अमूल्य अनुभव' सँगाल्ने अवसर पाएको बताएका छन्।

नेपाली कांग्रेसको 'राष्ट्रिय जागरण अभियान' को क्रममा ५४ वर्षीय यादव पहाडी जिल्ला पुगेका एकमात्र मधेशी नेता हुन्।

सुरुमा मधेशी भएका कारण पहाडमा नमीठो व्यवहार होला भन्ने आशङ्का भएको तर राम्रो व्यवहार पाएको यादवले बताएका छन्।

उनले बीबीसी नेपाली सेवाका शरद केसीसँग भने: "साथीहरूले जुन किसिमको ममता, सम्मान र स्नेह दिनुभयो र मधेशप्रति जुन किसिमको (राम्रो) भावना पाएँ त्यो आजीवन बिर्सिन सक्दिनँ। त्यही कुरा यता (तराई-मधेश) तिर पनि हुनुपर्छ।"

भीरमा घर

यसअघि म तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग रामेछापसम्म गएको थिएँ।

त्यस बेला दोलखाको जिरीमा एक रात बसेका थियौँ। सदरमुकाम चरीकोट पनि पुगेको थिएँ।

तर यस पटक जब गाउँगाउँ पुगेँ, मैले धेरै अनुभव गर्न पाएँ।

तस्वीर कपीराइट Nepali Congress Dolakha
Image caption नेता यादव पार्टीको जागरण अभियानमा दोलखाका गाउँगाउँ पुग्दा त्यहाँका मानिसहरूले भोगिरहेको कष्ट देखेर आश्चर्यमा परेको बताउँछन्

साथीहरूले मलाई विकट क्षेत्रहरूमा लग्नुभयो, त्यहाँ गएर खाएँ, त्यही सुतेँ। विकट गाउँको कष्ट देखेँ। टाढाटाढा बसोबास छ।

गाउँपालिकाको केन्द्रबाट घर पुग्न पनि ४-५ घन्टा लाग्दो रहेछ। एउटा घर एकदमै ओरालोमा छ, अर्को घर एकदमै उकालोमा। कसरी आवतजावत गर्दाहुन्, कसरी बसिरहेका छन्? त्यो हेरेर त मलाई त आश्चर्य नै लाग्यो।

त्यहाँबाट पटकपटक सांसद हुँदा पनि किन विकास हुन नसकेको होला जस्तो लाग्यो। अहिलेको एक्काइसौँ शताब्दीमा दिनुपर्ने सुविधा किन नपुगेको होला भन्ने लाग्यो।

कार्यक्रममा जान गाडीबाट ओर्लिएर साथीहरू हिड्न थाल्थे। मैले कहाँ जान लागेको भनेर सोध्दा 'माथि गाउँपालिकामा कार्यक्रम छ' भने।

म त तराईको मान्छे। तैपनि जवान नै भएकाले सबै हिँडिरहेका बेला हिँडिहाल्थेँ। यसो माथि उकालो चढ्दा थकाइ त लाग्थ्यो। तैपनि साथीहरूको स्नेहका अगाडि थकाइ सबै बिर्सिइन्थ्यो।

त्यस्तो विकट क्षेत्रमा बसेर पनि साथीहरू इमान्दारीपूर्वक सङ्गठन र विकासको काममा लागेको देखेँ। अत्ति खुसी लाग्यो।

पहाड-मधेशको राजनीति

हुन त म डडेल्धुरा, दार्चुला, बझाङ, लमजुङ, भोजपुर, धनकुटा, गुल्मीजस्ता धेरै पहाडी जिल्ला पुगेको थिएँ। तर यसरी विकट गाउँगाउँसम्म पुगेको थिइनँ।

यसपटक पार्टीको प्रतिनिधिको रूपमा मैले आफ्नै आँखाले त्यहाँका समस्याहरू हेर्न/बुझ्न पाएँ। त्यहाँ राम्रो अस्पतालको अभाव देखेँ। स्कूल/कलेजको अभाव पाएँ। बाटोहरू धेरै पहिले बन्न सुरु भए पनि अझै सम्पन्न भएका छैनन्।

गौरीशङ्कर पनि विकट गाउँपालिका रहेछ। त्यहाँ त एउटा वडाबाट अर्को वडामा पुग्न तीन दिनसम्म लाग्दो रहेछ। एउटा गाउँपालिकाबाट अर्कोमा पुग्न र घुम्न नौ दिनसम्म लाग्दो रहेछ।

तस्वीर कपीराइट Nepali Congress Dolakha

पहाड नघुमेको मान्छेले पहाडमा धेरै विकास भयो भनेर पहाड र मधेशबीच फाटो ल्याउन खोजिरहेका छन्। त्यो राजनीतिक कारणले मात्र भनिरहेका छन्।

निश्चय नै तराईमा पनि आफ्नै किसिमको समस्या छ। तर पहाडमा पनि कम दु:ख छैन।

यस्तो ठाउँमा मान्छे बसेका छन्, जहाँ खानेपानीको अभाव छ। उपचारको समस्या छ। बिजुलीबत्ती, बाटोघाटो छैन। अहिले पनि त्यहाँ सरकारको ध्यान जति पुग्नु पर्ने हो त्यति पुगेको पाइन। त्यहाँ गाउँ र नगरपालिका नौवटा छन्। म सबै पालिकामा सभा गर्दै पुगेँ।

सहोदर भाइको माया

हुन त म कांग्रेसको कार्यकर्ता, तर पार्टीले त्यहाँ खटाउँदा मलाई धेरै साथीहरूले नभए पनि गाउँगाउँमा अरू साथीहरूले अर्कै दृष्टिकोणले हेर्नुहुन्छ कि जस्तो लागेकै हो।

तर जब गाउँगाउँ पुगेँ, जुन किसिमको सत्कार पाएँ, सहोदर भाइभन्दा पनि बढ्ता माया र स्नेह गरेको जस्तो लाग्यो।

भावनात्मक रूपले अलिकति पनि दूरी अनुभव हुन दिनु भएन। यसबाट एउटा अनुभव भएको छ- मधेशीप्रति पनि पहाडमा बस्ने दाजुभाइ दिदी बहिनीहरूको एकदम श्रद्धा रहेछ।

केही व्यक्तिले आपसमा विभाजन गराएर आफ्नो राजनीति स्वार्थपूर्ति गर्नका निम्ति मुलुकलाई जातीय र साम्प्रदायिक द्वन्द्वमा लग्न खोजिरहेका छन्। तर आम मान्छेमा त्यस्तो भावना नरहेको पाएँ।

तस्वीर कपीराइट .

आफ्नै आँखाले आफ्ना जनताका समस्या

वास्तवमा हरेक पार्टीले तराई-मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरूलाई पार्टीको काम र सङ्गठनात्मक गतिविधि गर्नका निम्ति पहाड र हिमालमा पनि पठाउनुपर्छ। किनभने कुनै पनि पहाडी जिल्लाको सदरमुकाममा पुगेर मात्रै पहाडको अनुभव र सबै जानकारी हासिल गर्न गाह्रो छ।

त्यसैले विकट ठाउँमा नेतालाई पठाउन सकियो भने नेपाली जनता यस्तो ठाउँमा पनि बसिरहेका छन् जहाँ एक्काइसौँ शताब्दीमा कल्पना नगरिएका समस्या छन्, जो सरकारले अहिले पनि हल गर्न सकिरहेको छैन भनेर आफ्ना जनताको समस्या आफ्नै आँखाले हेर्न त पाउँछन्।

त्यो अनुभव प्राप्त गरेपछि नीति निर्माण र त्यहाँको निम्ति गर्नुपर्ने कामबारे धारणा बनाउन सजिलो हुन्छ। त्यसपछि मात्रै वास्तवमा नेपालमा कहाँ कस्तो समस्या छ र कहाँ के गर्नुपर्ने हो त्यो गर्न सकिन्छ।

पहाड भ्रमणले ल्याएको परिवर्तन

यसअघि अन्य नेताहरूसँग पहाडी जिल्ला गएको थिएँ। तर यसरी सङ्गठनको काममा विकट गाउँगाउँ गएको थिइन।

यो मेरो पहिलो अनुभव हो।

आफैँले नेतृत्व गरेर दोलखा जाँदा मैले जे अनुभव गरेँ त्यसले मेरो जीवनमा धेरै ठूलो महत्त्व राख्छ। र, मेरो धेरै कुरामा भित्रैबाट परिवर्तन भएको अनुभव गरेको छु।

पहाड, त्यहाँको भूगोल, प्रकृति, वातावरणको बारेमा जुन किसिमले राजनीतिमा कुरा उठिरहेको छ, त्यसलाई सम्बोधन गर्न पनि पहाडका नेताले मधेश र मधेशका प्रतिनिधिले पहाडका विकट गाउँहरूको अनभुव र समस्या आफ्नै उपस्थितिमा र आफ्नै आँखाले सङ्कलन गर्नुपर्छ।

जो पहाडी वा हिमाली जिल्ला जानुभएको छैन उहाँहरूले त्यो अवसर गुमाउनुभयोजस्तो लाग्छ।

मञ्चमा पोखिएको आँसु

एउटी बहिनीलाई भेटेँ। स्थानीय चुनावमा उहाँको श्रीमान्‌को बुथमै हत्या गरिएको रहेछ। सानो बच्चा छ।

हाम्रो कार्यक्रममा मञ्चमा आएर यति रोइन् कि त्यसको सीमा छैन।

उनको अवस्था थाहा पाउँदा मेरो निकै चित्त दुख्यो। र, धिक्कारिरहेको छु - यस्ता मान्छे र कार्यकर्ता पनि छन्, जो मान्छे मारेर पार्टी बलियो बनाउन चाहन्छन्।

दोलखाका विकट गाउँगाउँबाट थुप्रै अनुभव बोकेर धनुषा आइपुग्दा कहिल्यै नबिर्सिनेगरी मन कुँडिने त्यो दृष्य पनि सँगसँगै ल्याएको छु।