सुडान सङ्कट: इथियोपियाको हस्तक्षेपपछि ‘सेना र प्रदर्शनकारी वार्तामा फर्किँदै’

  • 12 जुन 2019
बजार तस्वीर कपीराइट AFP
Image caption आन्दोलनकारीले हडताल फिर्ता लिएपछि पसलहरू खुल्न थालेका छन्

लामो राजनीतिक अन्योलमा परेको सुडानमा सहमतिको निम्ति छिट्टै पुन: वार्ता गर्न प्रदर्शनकारी र सैनिक नेतृत्व तयार भएका छन्।

एक इथियोपियाली मध्यस्थकर्ताले यो जानकारी दिएका हुन्।

विपक्षी गठबन्धनले नागरिक अवज्ञा र आमहडताल रोक्न सहमति जनाएको छ।

लामो समयदेखि राष्ट्रपति रहेका ओमार अल बशिर एप्रिलमा अपदस्थ गरिएपछि सेनाले सत्ता हातमा लिएको छ।

सेना तयार

राजनीतिक बन्दीलाई रिहा गर्न सेना तयार भएको इथियोपियाका विशेष दूत मोहम्मुद दिरिरले संवाददाताहरूलाई जानकारी दिए।

प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूले नागरिक सरकार पुनर्स्थापना गर्न माग गरिरहेका छन्।

जुन महिनाको ३ तारिखमा धर्ना अन्त्य गर्न गरिएको सुरक्षा कारबाहीमा दर्जनौँको सङ्ख्यामा प्रदर्शनकारी मारिएपछि वार्ता भङ्ग भएको थियो।

त्यसपछि विपक्षीले घोषणा गरेको अनिश्चितकालीन हडतालका कारण देशका अधिकांश भाग प्रभावित भएका थिए।

चिकित्सकहरूले पछिल्लो हिंसा हुँदा ११८ जना मारिएको जानकारी दिएका थिए। तर सैन्य अधिकारीहरूले ६१ जनाको मृत्यु भएको दाबी गरेका छन्।

त्यसपछि अधिकांश व्यवसाय ठप्प भए र सेनाले सुडानका सडकमा गस्ती गर्न थाल्यो।

अहिले के भयो?

दुई पक्षका इथियोपियाली मध्यस्थकर्ताले नागरिक प्रशासनको पुनर्स्थापनाबारे छिट्टै वार्ता सुरु हुने बताएका थिए।

उनका अनुसार विश्वासको वातावरण बनाउने उपायस्वरूप राजनीतिक बन्दीहरू रिहा गर्न सेना तयार भएको छ।

विपक्षी गठबन्धन अलाएन्स फर फ्रीडम एन्ड चेन्जले बुधवार मानिसहरूलाई काममा फर्किन आग्रह गरेको छ।

सैनिक नेताहरूले वार्तामा फर्किने कुरा औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ।

कस्तो सम्झौता हुनसक्छ?

तर सङ्क्रमणकालीन सैन्य परिषद्का सदस्य सलाह अब्देलखालेकले बीबीसी अरेबिकलाई बताएअनुसार विपक्षीसँग समान सत्ता साझेदारीमा सहमति हुनसक्छ।

यद्यपि उनले नयाँ परिषद्को प्रमुख सेनाबाटै हुनुपर्नेमा सैन्य परिषद् दृढ रहेको बताए।

उनले जुन महिनाको ३ तारिखमा भएको दमनमा केही सैनिक अधिकारीहरू जिम्मेवार रहेको र अधिकृतसहित सयौँ सुरक्षाकर्मी पक्राउ परेको जानकारी दिए। उक्त हिंसाको अन्तर्राष्ट्रिय अनुसन्धानको योजना अनुमोदन पनि गरिरहेको उनको भनाइ छ।

तर उनले सैन्य परिषद्ले कुनै सर्तबिना छलफल गर्न चाहेको बताए।

तस्वीर कपीराइट Reuters
Image caption हडतालले बजार र व्यवसाय ठम्प पारेको थियो

यसअघि मङ्गलवार अफ्रिकाका लागि अमेरिकाका उच्च कूटनीतिज्ञले दुवै पक्षलाई वार्ता पुन: थाल्न आग्रह गर्न सुडान भ्रमणको घोषणा गरेका थिए।

गतिरोध अन्त्य गर्न दुवै पक्षसँग भेट गरेका इथियोपियाका प्रधानमन्त्रीको हस्तक्षेपपछि पुन: वार्ता हुने समचार आएको छ।

विपक्षीका सर्त

उनले सेनाबाट सात र नागरिकका तर्फबाट आठ सदस्य रहनेगरी सङ्क्रमणकालका निम्ति १५ सदस्यीय परिषद् गठन गर्ने सुझाव दिएको कतिपय समाचारहरूमा जनाइएको छ।

दुई पक्ष सँगै बस्नुअघि छ किसिमका सर्त पूरा हुनुपर्नेमा विपक्षीको जोड छ। ती हुन् -

  • सडकबाट सैनिक फिर्ता
  • हत्याबारे अन्तर्राष्ट्रिय अनुसन्धान
  • सबै बन्दीको रिहाइ
  • इन्टरनेटको पुनर्संचालन
  • प्रेस स्वतन्त्रता
  • प्रदर्शन क्षेत्रमा भएको दमको सैन्य परिषद्ले जिम्मेवारी लिनुपर्ने

यी सर्तमध्ये सैन्य सत्ताले बन्दी रिहाइको मात्र वाचा गरेको छ। तर यदि छिट्टै कुनै सहमति भयो भने पनि त्यो पुरानै वृत्तमा उही मुद्दामा घुम्नेछ। के सेनाले नागरिक सरकारलाई शक्ति सुम्पिनेछ?

सैनिक जनरलहरूको कदमले कुनै पनि त्यो सम्भावित सम्भावना भएको कुनै सङ्केत गरेको छैन।

सडकमा सुरक्षा दबाव कायम रहेका बेला उनीहरूले कुनै पनि छलफललाई विपक्षीबीच विभाजन ल्याउन प्रयोग गर्ने डर छ।

कहिले के भएको थियो?

तस्वीर कपीराइट Getty Images

डिसेम्बर १९, २०१८ - इन्धन र पाउरोटीको मूल्य बढेपछि विरोधप्रदर्शन सुरु

फेब्रुअरी २२, २०१९ - राष्ट्रपति बशिरद्वारा सरकार भङ्ग

फेब्रुअरी २४ - सुरक्षाकर्मीले गोली हाने पनि विरोधप्रदर्शन जारी

एप्रिल ६ - राष्ट्रपति बशिरले पदत्याग नगरेसम्म नहट्ने भन्दै सैन्य मुख्यालयमा धर्ना

एप्रिल ११ -‍ वरिष्ठ सैन्य अधिकारीहरूद्वारा बशिरलाई हटाइएको घोषणा, तर गैरसैनिक शासनको माग गर्दै धर्नालाई निरन्तरता

एप्रिल २० - सैन्य शासक र नागरिक प्रतिनिधिहरूबीच वार्ता सुरु

मे १३ - सैन्य मुख्यालयबाहिर गोली चल्दा छ जनाको मृत्यु

मे १४ - सेना र नागरिक प्रतिनिधिबीच तीनवर्षे सङ्क्रमणकालबारे सहमति

मे १६ - केही स्थानबाट अवरोध हटाउने सेनाको मागपछि वार्ता पछि सारियो

जुन ३ - सेनाले धर्ना हटाउन बल प्रयोग गरेको आरोप लगाउँदै अभियानकर्ताहरूद्वारा सेनासँगको वार्ता स्थगित भएको घोषणा