लन्डनमा ओलीले भने, 'नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि फर्किँदैन'

  • 12 जुन 2019
ओली तस्वीर कपीराइट BISHNU RIMAL/TWITTER

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालमा सरकारले स्वतन्त्र प्रेस तथा संविधान प्रदत्त नागरिक हक सङ्कुचित गर्दै लगेको भनी चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।

हाल युरोपको भ्रमणमा रहेका ओलीले बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्दै समारोहमा उपस्थित ब्रिटिश सरकारका एक प्रतिनिधिलाई आफ्नो सरकारले साँचो अर्थमा प्रजातन्त्रलाई बलियो बनाउन काम गरिरहेको सन्देश पुराइदिन आग्रह पनि गरे।

ब्रिटेनको परराष्ट्र मन्त्रालयका राज्यमन्त्री मार्क फिल्डले स्वतन्त्र मिडिया, नागरिक समाज तथा स्वतन्त्र न्यायपालिकालाई बलियो बनाउन नेपाल सरकारलाई आग्रह गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो जवाफ दिएका हुन्।

आग्रह

खासगरी मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार ऐनमा गर्न खोजिएको संसोधन, सूचना तथा प्रविधि व्यवस्थापन विधेयकजस्ता प्रस्तावित ऐनहरूले अभिव्यक्ति स्वतन्त्रता तथा सरकारको आलोचना गर्न पाउने हकलाई सङ्कुचित गर्न खोजेको भनी विरोध भइरहेको छ।

तर आफ्नो मन्तव्यमा प्रधानमन्त्री ओलीले अमेरिकी रास्ट्रपति अब्राहम लिङ्कनको प्रजातन्त्र जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन पद्धति हो भन्ने भनाइलाई उद्धृत गर्दै आफ्नो सरकारले साँचो र पूर्ण प्रजातन्त्र स्थापना गर्न काम गरिरहेको बताए।

ब्रिटिश राज्यमन्त्री मार्क फिल्डले ब्रिटिशहरूमा नेपाल र नेपालीप्रति गहिरो स्नेह रहेको बताउँदै ब्रिटेनले नेपाललाई दिँदै आएको सहयोगको चर्चा गरेका थिए।

तस्वीर कपीराइट BISHNU RIMAL/TWITTER

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गएको दुई सय वर्षभन्दा बढी समयदेखि कुनै पनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको भन्दै अब त्यसको तयारी गर्नुपर्ने जनाएका थिए।

स्विट्जरल्यान्डको जिनिभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेपछि सोमवार प्रधानमन्त्री ओली ब्रिटेन पुगेका थिए।

उनले मङ्गलवार ब्रिटिश प्रधानमन्त्री टरिजा मेसँग भेट वार्ता गरेका थिए।

वार्तामा ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूको विषय लगायत दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

लन्डनमा ब्रिटिश सांसदहरू, बेलायतस्थित प्रवासी नेपाली समुदायका अगुवाहरू, भूतपूर्व गोर्खाहरू लगायतलाई भेटेका प्रधानमन्त्री ओलीको तालिका निकै व्यस्त थियो।

उनले मगङ्गलबार बेलुका स्याण्डहर्स्टस्थित ब्रिगेड अफ गोर्खाजको मुख्यालयको पनि भ्रमण गरेका थिए। त्यहाँ उनलाई ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लांकास्टरले स्वागत गरेका थिए भने ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरुले सलामी अर्पण गरेका थिए।

आफ्नी श्रीमती तथा सल्लाहकारहरूको टोलीसहित ब्रिटेन पुगेका प्रधानमन्त्री ओलीले ब्रिटेनमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँ आफ्नो कारोबार टुङ्ग्याएर सकभर छिटो नेपाल फर्कन आह्वान पनि गरेका थिए।

उनी बुधवार नै भूमिगत रेल चढेर फ्रान्स प्रस्थान गरेका छन्।