निर्मला महतो: जसले आँट र अठोटले सामाजिक दृष्टिकोण परिवर्तन गर्‍यो

  • 18 जुन 2019
निर्मला

सर्लाहीकी निर्मला महतोले केही समयदेखि महिला तथा बालबालिकाका लागि जुत्ता र चप्पल बनाई गाउँमै मनग्गे आम्दानी गरिरहेकी छन्।

काम सुरु गर्दा गाउँलेहरूले 'जुत्ता बनाउने र सिलाउने काम कथित तल्लो जातको हो' भन्दै उनको परिवारलाई बहिष्कार गर्ने निर्णय गरे।

तर उनी विचलित नभई विदेशमा रहेका श्रीमान्‌लाई समेत स्वदेशमै काम गर्नुपर्छ भन्दै फिर्ता बोलाइन् र आफूसँगै व्यवसाय गर्न प्रेरित गरिन्।

महतोको त्यो अठोटले अहिले मनग्ने आम्दानी हुनुका साथै सामाजिक दृष्टिकोण पनि परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको समाजका अगुवाहरू बताउँछन्।

हौसला भएका महिलाले अवसर पाएमा सफल मात्रै होइन उदाहरणीय पनि बन्ने गरेका छन्। र, यस्तै उदाहरणीय बनेकी छन् निर्मला महतो।

पहिला अपमान, अहिले सम्मान

हालै महतोको घर पुग्दा उनी, उनका श्रीमान्, गाउँका केही महिला र कामदार आ-आफ्नो काममा व्यस्त थिए। उनी पनि महिलाका लागि जुत्ता र चप्पल बनाउने काममै तल्लीन थिइन्।

केही वर्ष विद्यालयमा पढाउँदा तलब कम तर घरायसी खर्च बढ्न थालेपछि आफैँले केही गर्नुपर्छ भन्ने सोचका साथ ११ महिनाअघि शिक्षिकाको जागिर छाडेर विदेशमा रहेका श्रीमान्‌लाई समेत स्वदेश फर्काई चप्पल, जुत्ता बनाउने व्यवसाय सुरु गरेको उनले बताइन्।

"सामुदायिक विद्यालयमा पढाइरहँदा विद्यालयमा कोटा खारेज भयो र त्यसपछि निजी विद्यालयमा पढाउँदा तीन हजार रुपैयाँ मात्रै तलब पाउँथेँ र घर खर्चका लागि त्यो अपुग हुन्थ्यो।"

उनले थपिन्, "श्रीमान् विदेश बसेर आउँदा पनि एक पैसा ल्याएनन्। आफ्नै गाउँठाउँमा मिलेर केही गरौँ भनेर काम सुरु गरेँ।"

जुत्ता, चप्पल बनाउने र विक्री गर्ने व्यवसाय सञ्चालन गरेपछि सुरुका दिनमा उनले आफन्तका साथै समाजको अपमानजनक व्यवहार सहनुपरे पनि त्यसलाई अघि बढ्ने प्रेरणाको रूपमा लिएको उनी बताउँछिन्।

महतोले समाजका मानिसहरूले कथित तल्लो जातिले गर्ने काम गर्न थालेको भन्दै बाटोमा हिँड्दा अपमानजनक कुरा गर्ने गरेका बेला केही गरेर देखाउने अठोट गरेको उनले बताइन्।

त्यसबाहेक श्रीमान्‌ले समेत आफ्नो व्यवसाय गर्नु भनेको दिवास्वप्नजस्तो भएको भन्दै सुरुमा अलि हच्किए पनि अहिले पूर्ण रूपमा साथ दिने गरेको उनी बताउँछिन्।

ससुराबाको सहयोगमा एक लाख रुपैयाँ ऋण लिएर काम थालेकी उनले आफ्नै व्यवसाय भएपछि छुट्टै खालको जोश र जाँगर बढेको उनले बताइन्।

कथित तल्लो जातिले गर्ने काम गरी गाउँका अरू बुहारीलाई समेत बिगार्न खोजेको भन्दै गाउँलेले उनको परिवारलाई बहिष्कार गर्न निर्णय गरे पनि अहिले सम्मान पाएको देखेपछि गाउँका बुहारीहरू पनि काम सिक्न र व्यवसाय गर्न आकर्षित भएको उनी बताउँछिन्।

आँट र जाँगरले सफलता

"समाजमा फलानाकी बुहारी त बिग्रिएको भनेर सुनाउँथे। तर अहिले धेरै परिवर्तन भइसक्यो। अहिले त आफैँ आउँछन् र मेरी बुहारीलाई पनि काम सिकाइदिनू भनेर आग्रह गर्छन्।"

उनले थपिन्, "अब यसैबाट बालबच्चालाई पढाउने र घर खर्च धान्ने सबै काम भएको छ। अहिले आफूसँग ५० हजार रुपैयाँ जति नगद सधैँजसो हुने गरेको छ।"

ग्राहकलाई लक्षित गरी समयको माग अनुसार सामान उत्पादन गर्ने गरेकोले बजारीकरण गर्न खासै समस्या नरहेको निर्मला बताउँछिन्।

पहिले जागिर गर्दा आम्दानीभन्दा खर्च बढी भएर ऋण समेत लागेको अवस्थामा अहिलेको व्यवसायले घरको आर्थिक स्थिति सबल बनेको उनले बताइन्।

कुनै पनि काम सानो वा ठूलो नहुँने अनि आँट र जाँगर हुने हो भने सफल हुने उनको बुझाइ छ।

विगतमा आफूलाई काममा असहयोग गर्नेहरू पनि अहिले घरखर्च चलाएर बचत गर्दा छक्क पर्ने गरेको महतो बताउँछिन्।

घर बाहिर निस्किन नहुने भन्दै बिरामी पर्दा चिकित्सकहाँ लैजानलाई समेत गाह्रो मान्ने घरपरिवारका सदस्यले हाल उनले जस्तै सीप सिकी आत्मनिर्भर बन्नुपर्छ भनेर सिक्न पठाउने गरेको उनकै गाउँकी एक बुहारी सपना देवी बताउँछिन्।

देवी भन्छिन्: "ससुराबाले सीप सिक्न जानू, केही पैसा आम्दानी पनि हुन्छ भनेर अहिले पठाउँछन्। पहिला घरबाट बाहिर जान मिल्दैन भनेर बिरामी पर्दा पनि चिकित्सककहाँ नलगी घरमै डाक्टर बोलाउनुहुन्थ्यो। तर अब रोक्दैनन्।"

व्यवसाय सञ्चालन गर्दा गाउँका मानिसले राम्रो नमाने पनि हाल सीप सिक्न आफै इच्छुक भई आउने गरेको उनका श्रीमान् उमेश महतो बताउँछन्।

सकारात्मक परिवर्तन

विदेश जाँदा दुःख भोग्नुका साथै ऋण पनि थपिएको अवस्थामा श्रीमतीको यो व्यवसायले ऊर्जा थप्ने काम गरेको उमेशले भने।

उनले गाउँबाट बहिष्कार नै गर्ने निर्णय गरेका गाउँलेहरू हाल आफू लगायत घर परिवारका सबैलाई सम्मान गर्दा औधी खुशी लाग्ने गरेको बताए।

साथै घर परिवारमा मात्रै नभई रूढिवादी सोचले गाँजिएको गाउँमा सकारात्मक परिवर्तन ल्याउनमा आफ्नी श्रीमतीको ठूलो योगदान रहेको उनी बताउँछन्।

मधेशी समुदायकी महिला निडर भएर अगाडि बढ्दै सामाजिक परिवेश तथा संस्कारमा पनि सकारात्मक परिवर्तन ल्याउन सफल भएको समाजका अगुवा केशव थापा बताउँछन्।

व्यवसाय गरेदेखि आत्मविश्वास तथा चुनौती सामना गर्ने क्षमता र सृजनशीलता बढेको उनले बताइन्।

काम गर्न लाज मान्न नहुने बताउँदै काम शुरू गरेकी महतोले अहिले गाउँकी पाँचजना बुहारीलाई रोजगारी समेत दिएकी छन्।

आफू महिला भएकाले पनि महिलालाई नै रोजगारमा प्राथमिकता दिएको उनी बताउँछिन्।

पहिले चुल्होचौकामा मात्रै सीमित निर्मलाजस्ता कैयौँ महिला पछिल्लो समय घरबाहिर निस्केर पुरुषले जस्तै काम गर्न सक्ने हैसियतमा पुगेको सामाजिक अगुवाहरू बताउँछन्।

यसमा पनि गाउँठाउँमै बसेर आयआर्जन गर्ने महिलाको सङ्ख्या बढ्दै गएको उनीहरू बताउँछन्।

सम्बन्धित सामग्री