चीनको जनमुक्ति सेनासँग किन बढ्दै छ नेपाली सेनाको सहकार्य

  • 18 जुन 2019
चिनियाँ रक्षामन्त्री तस्वीर कपीराइट NEPAL ARMY
Image caption डेढ दशकपछि चिनियाँ रक्षामन्त्रीले नेपाल भ्रमण गरे लगत्तै पहिलो संयुक्त तालिम सुरु भएको थियो

प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले चीन भ्रमणमा छन्। प्रधानसेनापति भएपछिको उनको यो पहिलो चीन भ्रमण हो।

सैनिक मुख्यालयले यसलाई चीनको जनमुक्ति सेनाको निमन्त्रणामा 'मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा' भएको भ्रमण भनेको छ।

नेपाली सेनाले विज्ञप्तिमार्फत् 'यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास' लिएको छ।

प्रधानसेनापति सुरूमा भारत भ्रमण गरी त्यहाँको सेनाको मानार्थ महारथीको उपाधि लिन्छन्। सामान्यतया त्यसपछि अन्य देशको भ्रमणमा जाने चलन छ। थापाले पनि त्यसै गरे।

आतङ्कवादको असर?

असार १ गते काठमाण्डूबाट उडेका प्रधानसेनापति थापा चीनको सिचुवान प्रान्तको राजधानी चेङ्दु हुँदै मङ्गलबार मात्र राजधानी बेइजिङ उत्रिएका छन्।

बेइजिङ पुग्न यति समय लागे पनि दुई देशबीचको सैन्य सम्बन्ध र सहकार्यको गति केही वर्षयता तीब्र बनेको छ।

त्यस्तै समय लगाएर उनले चीनका अन्य क्षेत्रमा बिताउने समयले सम्बन्धको आयतनको सङ्केत पनि गर्छ।

नेपाली सेनाका पूर्व रथी चित्रबहादुर गुरूङका अनुसार विश्व जगतसँगै क्षेत्रीय रूपमा देखा परेको आतंकवादप्रतिको चिन्ता र सरोकारले यो सम्बन्ध-सहकार्य केही वर्षयता बढेको छ।

उनी भन्छन्, "साझा रूपमा त्यसको कसरी सामना गर्ने भन्नेमा सबै मित्रराष्ट्रहरूबीच समझदारी बन्नुपर्छ। त्यसैले कार्ययोजना र चुनौतीलाई लिएर गएको एक-दुई वर्षदेखि त्यसदिशामा दुई देशका सेनाबीच सहकार्य र सम्बन्ध अवश्य नै बढेको देखिन्छ।"

संयुक्त 'अभ्यास' को उद्देश्य

दुई देशबीचको सम्बन्ध दशकौं पुरानो हो। नेपाली सैनिक अधिकारीहरूले चीनमा तालिम लिन थालेको पनि दशकौं भइसक्यो।

त्यहाँ न्यासनल डिफेन्स कोर्स गरेका छत्रमानसिंह गुरूङले प्रधानसेनापतिबाट अवकास नै पाइसके। तर दुई देशका सेनाले संयुक्त सैन्य तालिम/अभ्यास गर्न थालेको सन् २०१७ को एप्रिलदेखि हो।

'सगरमाथा फ्रेण्डशिप' नामको त्यो तालिम दोस्रो पटक करिब डेढ वर्षपछि सन् २०१८ को सेप्टेम्बरमा चीनमा भएको थियो। अब सम्भवत: यही साउन महिनामा नेपालमा तेस्रो तालिम हुने बताइएको छ।

राजेन्द्र क्षेत्री प्रधानसेनापति भएका बेला सुरू भएको त्यो 'फ्रेन्डशिप' तालिमले दुई देशबीचको सैन्य सम्बन्धलाई नयाँ उचाइ दिएको ठानिन्छ।

पूर्वप्रधासेनापति क्षेत्रीका भनाइमा विभिन्न मित्रराष्ट्रहरूबीच प्राकृतिक विपद् र प्रतिआतङ्कवाद लगायतका विषयमा अनुभव र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले त्यो 'अभ्यास' सुरू गरिएको हो। कुनै अर्को देश लक्षित रूपमा त्यसलाई हेर्न नहुने उनको धारणा छ।

सहायता बृद्धि

दोस्रो तालिम समापनको अवसरमा बोल्दै चिनियाँ सैनिक अधिकारीले तालिमलाई 'दुई देशबीचको सहकार्यमा महत्त्वपूर्ण कोशेढुङ्गा' को संज्ञा दिएको चिनियाँ सैनिकको वेवसाइटमै उल्लेख थियो।

भारतले चीनसँगको संयुक्त अभ्यास/तालिमप्रति 'चिन्ता मिश्रित' चासो र सरोकार देखाएको खबर आएको थियो।

तस्वीर कपीराइट NEPAL ARMY

डेढ दशक लामो अन्तरालपछि चिनियाँ रक्षामन्त्री पहिलो संयुक्त सैन्य तालिम/अभ्यासको ठीक अघि नेपाल भ्रमणमा आएका थिए।

हालसालै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि चीन भ्रमण गरेका थिए। त्यसबेला मानवीय सहायता र विपद् व्यवस्थापनको निम्ति चीनले अढाई अर्ब नेपाली रुपियाँ बराबरको सहयोग गर्ने घोषणा पनि गरेको थियो।

प्रधानसेनापति थापाको भ्रमणका क्रममा त्यस सहयोगको प्रारूपबारे टुङ्गो लाग्न सक्ने नेपाली अधिकारीहरूको आकलन छ।

भूराजनीतिक अर्थ

त्यसअघि १० करोड चिनियाँ युआन बराबरको सहयोग गर्ने घोषणा चीनले यसपटक ५० प्रतिशत बढाएर १५ करोड युआन अर्थात् करिब अढाई अरब रुपियाँ पुर्‍याएको हो।

कतिपयले नेपालमा पश्चिमा देशहरूको बढ्दो चासो, लम्बिँदो राजनीतिक संक्रमण र भूराजनीतिक अवस्थितिका कारण पनि चीनले सैन्य कूटनीति बलियो बनाउन खोजेको ठान्छन्।

सैन्य मामिला जानकार इन्द्र अधिकारीको बिचारमा सुरक्षा मामिलामा नेपाल परम्परागत रूपमा भारतप्रति निर्भर खालको सहकार्यमा थियो। अहिले नेपालले त्यसमा विविधता ल्याउन खोज्दा दुबै देशबीच मिलेको स्वार्थले सहकार्य बढाएको हो।

तस्वीर कपीराइट NEPAL ARMY

उनी भन्छिन्, "सैन्य कूटनीति फराकिलो पार्ने हाम्रो चाहना र चीनले रणनीतिक र सुरक्षा चासो बढाउँदै गएकाले सैन्य सम्बन्ध बढेको हो। यो हामीले चाहेर मात्र भएको होइन।"

पृष्ठभूमिमा नाकाबन्दी

नेपालले चीनभन्दा अघिदेखि संयुक्त सैन्य तालिमहरू गर्दै आएको छ। भारतसँग गरिने 'सूर्यकिरण' सैन्य अभ्यास त नेपाली सेनाले विदेशी सेनासँग गर्ने सबैभन्दा ठूलो तालिम/अभ्यास मानिन्छ।

नेपाल र चीनबीच सैन्य तहमा बढ्दो सम्बन्धलाई लिएर भारतीय सुरक्षाविज्ञहरूले भने बेला बेलामा चासो र चिन्ता व्यक्त गर्ने गरेका छन्।

तर पूर्वरथी श्रेष्ठका बिचारमा आपसी सम्बन्ध विस्तार अरू देशको चासो र आवश्यकता भन्दा आफ्नो राष्ट्रिय हितमा केन्द्रित हुनु पर्ने बताउँछन्।

भारतसँगको सिमानामा भएको नाकाबन्दीको पृष्ठभूमिमा चीनसँगको सैन्य सम्बन्ध सघन भएको हो।

तर सैनिक अधिकारीहरूले त्यस प्रकरणसँग तालिम वा सहकार्यलाई जोड्न चाहँदैनन्।