चेन्नई पानी सङ्कट: कसरी जुझ्दैछ भारतको छैटौँ ठूलो शहर

  • 21 जुन 2019
पानीको हाहाकार तस्वीर कपीराइट Getty Images

पानीको लागि लाइनमा लागेका मानिसहरूबीच मारपिट, नुहाउन नपाएका कैयौँ र पानी प्रयोग बारे सावधान गराउँदै होटलहरू।

यो अवस्था हो, भारतको छैटौँ ठूलो शहर चेन्नईको।

यो साता त्यहाँको चारवटा पानी भण्डारणस्थल सबै सुख्खा भए।

थोरै मात्र खानेपानी त्यहाँ बाँकी छ र त्यो पनि कहिले सकिने हो भन्न सकिँदैन।

परिणामस्वरूप चेन्नई शहरमा बस्ने ४० लाख जनसङ्ख्या खानेपानीका लागि अब सम्पूर्ण रूपमा सरकारी ट्याङ्करहरूमा निर्भर भएका छन्। अन्य मानिसहरूले धेरै रकम खर्च गरेर निजी ट्याङ्कर कम्पनीमार्फत आफ्ना घरमा पानीको बन्दोबस्त गरिरहेका छन्।

केही ठाउँमा मानिसहरूले इनारबाट पानी झिक्न खोजिरहेका छन् तर त्यसको गुणस्तर निकै खराब छ।

तस्वीर कपीराइट Getty Images

पानीको हाहाकार

अधिकांश भारतीय शहरहरूमा सधैँ नै पानीको सङ्कट केही हदसम्म भइ नै रहन्छ। शहरका बासिन्दाहरू चौबिसै घण्टा धारामा पानी आउने अपेक्षा राख्दैनन्। त्यसैले उनीहरू पानीको भण्डारण गर्छन्।

तर यसपटक मनसुन यामको आगमनमा ढिलाइ भएको छ। यसले चेन्नईको पानी सङ्कट झन् गम्भीर बनाइदिएको छ।

साना रेस्टुरेन्टहरू त बन्द नै भएका छन्। केही मानिसहरूलाई तिनका कार्यालयले कार्यस्थलमा पानी जोगाउन घरबाटै काम गर्न भनेका छन्।

शहरको मेट्रो प्रणालीले पानी बचाउन आफ्ना स्टेशनहरूमा एसी चलाउन छाडेको छ।

तस्वीर कपीराइट Reuters

होटलहरूले आफ्ना पाहुनालाई पानी अड्कलेर मात्र दिन थालेका छन्।

एउटा सानो होटल आनन्दका व्यवस्थापक पी चन्द्रशेखरले पाहुनाहरूलाई पानीको हरेक थोपाको महत्त्व बुझ्न भनेका छन्, "हामी मात्र होइन, सबै होटलहरू बन्द हुनसक्छन् किनभने पानी नै छैन।"

समस्यै समस्या

बिहीवार शहरमा केही पानी पर्‍यो। मानिसहरूले सामाजिक सञ्जालमा पछिल्ला १९० दिनमा पहिलोपटक पानी परेको भन्दै खुसी व्यक्त गरे।

एक रेडियो प्रसारक जोहाले बीबीसीलाई बताए, "यो शहरले मौसमको निकै धेरै समस्या भोगेको छ। गएको १० वर्षमा यति लामो समयसम्म पानी नपरेको यसैपटक हो।"

"पानी किन्न अहिले जति पैसा भए पनि पुग्दैन…यस्ता मानिसहरू छन् जो केही लिटर पानीका लागि हजारौँ रुपैयाँ तिर्न पनि तयार छन्। तर पनि पानी पाएका छैनन्।"

तस्वीर कपीराइट Getty Images

"शहरका मलहरू सञ्चालन भएका छैनन्। साथै सार्वजनिक शौचालयदेखि लिएर धेरै काम पानी सङ्कटका कारण प्रभावित छन्। हामी छिट्टै वर्षाको आशमा छौँ।"

दुई सन्तानकी आमा पुनीथाले एनडिटिभीसँग कुरा गर्दै सरकारी ट्याङ्करबाट पानी लिन उनले हरेक दुई दिनमा दुई घण्टा प्रतीक्षा गर्ने गरेकी छन्।

प्रत्येक दोस्रो दिन आफूले केवल सात बाल्टिन पानी पाउने गरेको उनले बताइन्।

"हाम्रा बालबालिका स्कूल वा कलेज जान पाएका छैनन्। हामी रातको १ वा २ बजे पानी सङ्कलन गर्दैछौँ।"

केही सार्वजनिक पानी ट्याङ्कको लाइनमा बसेका मानिसहरूबीच झगडा समेत भएका छन्।