विश्वकप क्रिकेट: अफगानिस्तानसामु भारत आच्छुआच्छु, योगदान भारतकै

  • 23 जुन 2019
राशिद खान अन्य खेलाडीसँग तस्वीर कपीराइट AFP

"इमान्दारीपूर्वक भन्दा हामीले वास्तवमा सानदार क्रिकेट खेल्यौँ। टस जितेर धेरै रन बनाउने आशा थियो। २६० देखि २७० सम्म बनाउन सकेको भए अत्यधिक हुने थियो, २५० देखि २६० रन नै बढी नै हुन्थ्यो तर प्रतिभाले भरिएको अफगानिस्तानले यस्तो खेल देखायो कि जसको तपाईँले आशा नै गर्नु भएको थिएन होला। खेल आधा भएपछि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने शङ्का उत्पन्न भयो। तर जित्छौँ भन्ने सामूहिक विश्वास थियो।"

यो भनाइ हो भारतीय टोलीका कप्तान विराट कोहलीको।

एकदिवसीय विश्वकप क्रिकेटमा शनिवार भएको एउटा रोमाञ्चक प्रतिस्पर्धामा भारतले अफगानिस्तानलाई ११ रनले हराएपछि उनले यसतो भनेका हुन्।

टस जितेर पछि भारतले पिचको अवस्था अनुमान गरेर ब्याटिङ रोजेको थियो।

हारेर पनि मत जित्यो

विकेट खेर गएपछि तीनजना सानदार स्पिनरका सामु खेल्नु निकै गाह्रो थियो, त्यसमाथि मोहम्मद नबीले बलिङ पनि निकै राम्रो गरे।

आफ्ना बलरको पनि प्रशंसा गरेका कोहलीले आफूले रणनीति बनाएअनुसार हुन नसकेको स्वीकार गरेका छन्।

अर्कोतिर अघिल्ला पाँचवटा खेल हारेर आत्मविश्वास डगमगाएको अफगानिस्तानले भारतविरुद्ध भएको खेलमा सबैको मन जित्यो।

अन्तिम बलसम्म खेल रोमाञ्चक बनिरह्यो। भारतले नजित्दासम्म के होला भन्ने अनिश्चितता बाँकी थियो। यो अफगान टोलीको सङ्घर्षकै कारण भएको थियो।

रङ्गशालामा उपस्थित कैयौँ भारतीय समर्थकलाई रूँदै प्रार्थना गर्दै गरेको देखियो। उनीहरूलाई सम्भवत: भारतले हार्ने आशङ्काले पीडित थिए।

सङ्घर्ष गर्न जानेको टोली

अफगानिस्तानले शनिवार जुन प्रकारको सङ्घर्ष गर्‍यो त्यस्तै सङ्घर्षका कारण उसले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो परिचय बनाएको छ। गजबको कुरा त जुन अफगानिस्तानले भारतलाई कडा टक्कर दियो उसको खेल सुधारेको पूरा श्रेय भारतलाई नै जान्छ।

खेल पत्रकार विजय लोकपल्लीले धेरै मानिसले ट्विटरमा अफगानिस्तानले खेल जित्नुपर्थ्यो भन्ने धारणा राखेको बताए। तिनैमध्ये पर्ने लोकपल्ली भन्छन्, "यति नयाँ, कमजोर र अन्तर्राष्ट्रिय तहमा अनुभवहीन टीमले लगभग भारतलाई हराइ नै दिएको हो। यो हारमा पनि अफगानिस्तानको जित छ।"

तस्वीर कपीराइट AllSPORT/GETTY IMAGES

उनका विचारमा अफगानिस्तानले विश्व क्रिकेटमा नयाँ समर्थक भेटेको छ, यो खेल उनीहरूका निम्ति स्मरणयोग्य हुनेछ। जितेको भए त झनै बढी हुन्थ्यो नै। तर हार भविष्यको निम्ति शिक्षा बनेको छ। आज नभए पनि भोलि त एकदिवसीय क्रिकेटमा भारतलाई हराउनेछ।

त्यसो त एक पटक अफगानिस्तानले भारतसँगको खेल बराबरीमा पुर्‍याएको पनि छ।

पत्रकार लोकपल्लीले शनिवारको खेल हेरेपछि आफू अफगानिस्तानको 'फ्यान' (प्रशंसक) बनेको सुनाए।

रोचक कथा

अफगानिस्तान क्रिकेट कसरी अघि बढ्यो भन्ने कथा निकै रोचक छ।

लोकपल्लीका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आफैले अफगानिस्तानको जिम्मेवारी लिँदै उसलाई तमाम सुविधाहरू उपलब्ध गरायो।

पहिले त बीसीसीआईले नोएडाको रङ्गशालालाई अफगानिस्तानको घरेलु मैदान बनायो। अहिले उनीहरूले देहरादूनमा अभ्यास गर्छन्।

पत्रकार लोकपल्लीका अनुसार अफगानिस्तानसँग निकै प्रतिभाशाली खेलाडी छन्।

तस्वीर कपीराइट Icc/twitter
Image caption देहरादूनमा क्रिकेट खेल्दै अफगानिस्तानका खेलाडी

राशिद खान सानदार स्पिनरको रूपमा उदाएका छन्। भारतविरुद्ध ५२ रन बनाएका मोहम्मद नबी अन्तर्राष्ट्रिय स्तरमा रोमाञ्चकारी क्रिकेटर हुन्।

हशमतुल्लाह शाहिदी र रहमत शाहजस्ता राम्रा खेलाडी छन्। शाहले त यदि उनी अरू थोरै समय टिकेको भए उनले म्याच जिताइदिन्थे भन्ने देखाए।

विश्व क्रिकेटका निम्ति वेस्ट इन्डिज जसरी निकै महत्त्वपूर्ण छ, त्यस्तै किसिमले नयाँ टोली आउन आवश्यक छ।

जिम्बाब्वे र केन्याजस्ता टोली निकै पछि परिसके। अफगानिस्तानका अतिरिक्त आउँदो समयमा उदीयमान नेपाली टोली पनि अगाडि आउनेछ।

अप्ठ्यारो काट्यो

अफगानिस्तान क्रिकेट बोर्डले पछिल्ला दिन भारतमा अफगानिस्तान लीग टी-२० च्याम्पियनशिप गराउने माग राखेको थियो। तर त्यो कुरा बीसीसीआईले अस्वीकार गर्‍यो।

पत्रकार लोकपल्लीका विचारमा बीसीसीआईले अफगानिस्तानलाई भारतमा प्रथम श्रेणीको क्रिकेट खेल्ने अवसर दिनु अझ राम्रो हुन्छ। रणजी या दिलीप ट्रफीमा अफगानिस्तानको एउटा टीमले खेल्न सक्छ। किनभने अफगानिस्तान लीगमा त विश्वभरिका खेलाडी आउँछन्।

भारतले अफगानिस्तानका खेलाडीको प्रतिभा थप निखार्न न्याश्नल क्रिकेट एकेडमी (एनसीए) मा उनीहरूलाई खेल्ने सुविधा दिन सक्छ।

अफगानिस्तानले आफ्नो पहिलो टेस्ट म्याच भारतविरुद्ध गत वर्ष बेङ्ग्लोरमा खेलेको थियो।

तस्वीर कपीराइट Allsport/getty images
Image caption जितेपछि खुसी मनाउँदै भारतीय खेलाडी

भारतका भूतपूर्व ब्याट्सम्यान लालचन्द राजपूत सन् २०१६ देखि २०१७ सम्म अफगानिस्तान टीमको कोच थिए।

छिमेकी पाकिस्तान र भारतमा क्रिकेटप्रतिको जुन आकर्षण छ अफगानिस्तान पनि कसरी त्यसबाट जोगिन्थ्यो।

तर युद्ध र युद्धको जस्तो अवस्थामा खेल्नु सजिलो थिएन। त्यो देखेर उसलाई सहयोग गर्न भारत अघि सर्नैपर्‍यो।

त्यसपछि अफगानिस्तानले यति तीव्र गतिमा उन्नति गर्‍यो कि खेल सुरु गरेको एकदिवसीय खेलेको पाँच-छ वर्षमात्रै भएको थियो आईसीसीबाट उसले टेस्ट राष्ट्रको मान्यता पायो।

अफगान क्रिकेटलाई अघि बढाउन उसका पूर्व कप्तान नवरोज मङ्गलको पनि ठूलो योगदान छ। जसको कप्तानीमा टीम सफलताको पहिलो खुड्किलो उक्लिएको थियो।

उनकै कप्तानीमा सन् २०१२ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि पहिलो म्याच पाकिस्तानसँग शारजाहमा खलेको हो।

बलिवुडप्रतिको मोह

अफगान खेलाडीले बलिवुड फिल्म रुचाउँछन् भन्ने कुरा निकै चर्चित छ। खासगरी अमिताभ बच्चनका कैयौँ चलचित्रका संवाद पनि उनीहरूलाई कण्ठस्थ भएको बताइन्छ।

उनीहरूलाई हिन्दी पनि बोल्न आउँछ। राशिद खान त आईपीएलका स्टार खेलाडी हुन्, उनी हिन्दी बोल्न सिपालु छन्। नबी पनि आईपीएलमा खेल्छन्।

भारत र अफगानिस्तानबीच अहिलेसम्म तीनवटा एकदिवसीय खेल भएका छन्। दुईवटा भारतले जितेको छ भने एउटा बराबर भएको छ।

कल्पना गर्नूस् त शनिवार अफगानिस्तानले जितेको भए क्रिकेटका प्रेमीहरूको देश भारतमा के हुन्थ्यो?