इथियोपिया सङ्कट: सेनाप्रमुखको हत्या भएपछि जातीय हिंसाको खतरा

  • 24 जुन 2019
सेना प्रमुख साअर मकोननको हत्याको खबर टेलिभिजनहरूले दिएका थिए। तस्वीर कपीराइट ETHIOPIAN TV
Image caption सेना प्रमुख साअर मकोननको हत्याको खबर टेलिभिजनहरूले दिएका थिए

इथियोपियामा सत्ता हत्याउने प्रयासबीच सेनाप्रमुख र एक प्रान्तीय नेताको हत्या भएपछि संयुक्त राष्ट्रसङ्घले त्यहाँका नागरिकहरूलाई संयम अपनाउन र थप हिंसा भड्किन नदिन आग्रह गरेको छ।

इथियोपियाको उत्तरी अम्हारा क्षेत्रका नेताको गोली हानी हत्या गरिएको केही घण्टापछि राजधानी आदिस अबाबामा सेना प्रमुख साअर मकोननलाई अङ्गरक्षकले मारिदिएका छन्।

इथियोपियाली सरकारले दुवै आक्रमणहरू सुनियोजित भएको बताएको छ। सोमवार त्यहाँ राष्ट्रिय शोक मनाइँदैछ।

सरकारको भनाइमा अम्हारा प्रान्तमा त्यहाँका सुरक्षा प्रमुख असामिनअ सिगेले सत्ता हत्याउने प्रयास गरेका थिए। तर उनी अहिले बेपत्ता रहेको बताइएको छ।

अम्हारा प्रान्तमा त्यहाँ प्रान्तीय प्रशासक अम्बाचेव मकोनेन र उनका एक सल्लाहकारको हत्या भएको थियो।

सेनाप्रमुखको के गदै थिए?

तस्वीर कपीराइट Reuters

सेना प्रमुख मकोनन उत्तरी भेगमा भएका सत्ता हत्याउने प्रयास रोक्न लागि प्रयासरत थिए।

आक्रमणहरू भएपछि कैयौँ व्यक्ति पक्राउ गरिएको र त्यसपछि स्थिति सहज बन्न थालेको सरकारको भनाइ छ।

पछिल्ला आक्रमणपछि प्रधानमन्त्रीले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै देशलाई विभाजन गर्न उद्यत शक्तिहरूविरुद्ध एकजुट हुन आग्रह गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले आदिस अबाबास्थित आफ्ना कर्मचारीहरूलाई नियोगभित्रै रहन चेतावनी दिएको छ।

अम्हारा र इथियोपियाका अन्य स्थानहरूका हालैका वर्षहरूमा जातीय हिंसा चर्किएका थिए।

जातीय हिँसाको इतिहास

अम्हारा इथियोपियाको दोस्रो ठूलो जातीय जनसङ्ख्या भएका मानिसहरूको बहुमत रहेको क्षेत्र हो।

त्यहाँ यसअघि पनि अम्हारा र गुमुज जातीय समूहबीच हिंसा भएका थिए। गत महिनामा त्यहाँ भएको हिंसाका कैयौँ मानिस मारिएका थिए।

गत वर्ष निर्वाचित भएपछि प्रधानमन्त्री अबियी अहमदले देशमा राजनीतिक दमनको अन्त्य गर्दै राजनीतिक दलहरूमाथिको प्रतिबन्ध फुकुवा गर्दै मानव अधिकार हननमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीको क्रम अघि बढाएका थिए।

जनसङ्ख्याको हिसाबले इथियोपिया नाइजिरियापछि अफ्रिकाको दोस्रो ठूलो देश हो। त्यहाँ ८० वटा जातीय समूहका दश करोड मानिसहरू बसोबास गर्दछन्।

इथियोपिया विश्वकै द्रुत गतिमा विकास भइरहेका अर्थतन्त्रहरू मध्येको एक हो। तैपनि त्यहाँ थुप्रै मानिसहरू बेरोजगार छन्।

नाइरोबीस्थित बीबीसी अफ्रिकाका इमानुएल इगुन्जा भन्छन् देशको राजनीतिक वातावरण विषाक्त भइरहेको अहिलेको समय प्रधानमन्त्री अबियीका लागि निकै कठिन साबित भइरहेको छ।

उनले यो भन्दा पहिलेदेखि नै जातीय तनावहरूको सामान गरिरहेका छन्।

उनी भन्छन् सेना प्रमुखको हत्याले प्रधानमन्त्रीको नेतृत्वप्रति सेनाभित्र व्याप्त असन्तुष्टिहरूलाई उजागर गरिदिएको छ।