ठूला हत्याकाण्ड सम्झिँदै प्रचण्ड: ‘हामी पनि मारिन सक्छौं’

  • 29 जुन 2019
प्रचण्ड तस्वीर कपीराइट Prachanda/facebook

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भएका तीनवटा हत्याकाण्डलाई 'रहस्यमय' रूपमा प्रस्तुत गर्दै विभिन्न प्रसङ्गमा अर्थपूर्ण लाग्ने धारणा व्यक्त गरेका छन्।

मदन भण्डारी फाउन्डेशनद्वारा काठमाण्डूमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले नेता मदन भण्डारी, त्यसपछि उनका चालक अमर लामाको हत्या अनि नारायणहिटी दरबारमा भएको संहारबारे ताजा धारणा व्यक्त गरेका हुन्।

ती घटनाका दोषी पत्ता लगाउन नसकेकाले राजनीतिक हत्याको सम्भावना अन्त्य गर्न आफूहरू विफल भएको उनको भनाइ छ।

त्यसक्रममा उनले 'आफूहरू पनि मारिन सक्ने' पनि बताए।

नेकपा एमालेसँग पार्टी एकता गरेर सिद्धान्त र बिचारलाई तिलाञ्जलि दिएको भनि आफ्नै एकथरी पूर्वमाओवादी सहकर्मीले आरोप लगाइरहेका बेला मदन भण्डारी र उनले अघि सारेको जनताको बहुदलीय जनवादबारे पनि प्रचण्डले बिस्तारमा आफ्नो बुझाइ प्रस्तुत गरेका थिए।

प्रचण्डको भाषणको मुख्य अंश:

विदेशी शक्ति हो कि? नाम भन्न सक्ने अवस्था छैन

मदन भण्डारीको रहस्यमय अवसान भयो। हामी प्राय: सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो। त्यो कुनै दुर्घटना होइन। त्यो नियोजित हत्या हो भन्ने हामी सबैलाई लागेको छ। तर आजका मितिसम्म पनि हत्यारा फलानो हो या यो-यो शक्ति नै हुन् भनेर किटेर भन्नसक्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं।

हामी सबै आम नेपाली जनतालाई लाग्छ- त्यो अवसान एउटा भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो। हामी सबै त्यसको खोजीमा पनि हुन्छौं, साँच्चै को होला? हामीलाई मोटोमोटी लाग्छ पनि, तर मोटामोटी लागेकै आधारमा कसैलाई आरोपित पनि गर्न सक्दैनौं।

हामीलाई यो विदेशी शक्ति हो कि भन्ने लाग्छ, उ विदेशी शक्ति हो कि भन्ने लाग्छ, देशभित्रको यो शक्ति र त्यो तत्व हो कि भन्ने पनि लाग्छ। तर हामीले नाम लिएर भन्न सक्ने स्थिति छैन।

कता-कता उहाँहरूको गाडी चलाउने ड्राइभर (अमर लामा) को हत्या जसरी हुन गयो त्यो पनि एउटा प्रमाण नष्ट पो हुन गएको हो कि भन्ने पनि हामीलाई लाग्ने गर्छ। उसलाई मात्र बचाइ राख्न सकेको भए कुनै दिन त्यो यथार्थ बाहिर आउँथ्यो कि भनेजस्तो लाग्छ। दुर्घटनावश उसको पनि हत्या भयो, त्यो पनि सिद्धियो।

नेपालको इतिहासका यी सबै हत्या-प्रतिहत्याका घटनाहरूमा धेरै जसो हत्याराहरू पत्ता लागेका छैनन्।

हत्याराहरूलाई जनसमक्ष ल्याएर, दोषी ठहर गरेर, उसलाई कारबाही गरेर फेरि ठूल्ठूला राजनीतिक हत्या-प्रतिहत्याका घटनाहरू रोक्ने प्रयासमा हामी सफल छैनौं।

दरबार हत्याकाण्ड: मैले सकिन

त्यसपछि दरबार हत्याकाण्ड भयो। त्यसमा पनि किटेर यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौँ।

मैले पहिलो चोटि प्रधानमन्त्रीको रूपमा नारायणहिटीको अगाडि उभिएर भने- यसको पत्ता लगाएरै छोडिन्छ।

तर पत्ता लगाउन सकिएन। कहिले अनौठो लाग्छ- केले (पत्ता लगाउन) दिँदैन हामीलाई?

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
राजा वीरेन्द्रको निवासको अहिलेको अवस्था

जनताले नदिएको त पक्कै होइन। अहिले हामी सरकारमा छौं, नेतृत्व गरेका छौं। तर हामी भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौं। बरू यसलाई ढिलो हुन दिउँ त्यसै ठीक हुन्छ भने जस्तो अवस्था हाम्रो छ।

मेरो प्वाइन्ट कता हो भने, मदन भण्डारीको अवसान किन भयो? भोली त्यस्तै हुँदैन भन्ने ग्यारेण्टी किन गर्न सकिरहेका छैनौं?

हामी मारिन पनि सक्छौं

कहिले काहीँ चिन्ता लाग्ने कुरा के हो भने, हामी आजभोली आफ्नो छाला बचाउनेतिर त छैनौं?

प्रतिक्रियावादी धेरै नरिसाउन् भन्ने तिर हाम्रो जान थालेको त कतै छैन भन्ने मात्रै हो फेरि, आरोप होइन।

हामी त मारिएका छैनौं आजसम्म त। मारिन पनि सक्छौं। यहाँ बिचारणीय छ।

मैले दुईवटा कुरा भने, एउटा हामीले पत्ता लगाउन सकेका छैनौं। त्यसकारण फेरि त्यस्ता घटना दोहरिदैन भन्ने सुनिश्चित गरेका छैनौं।

अर्कोतिर फेरि त्यस्तो नदोहरियोस् भनेर हामी छाला जोगाउन तिर लाग्ने खतरा पैदा भएको छ। किन भने दोषी पत्ता लगाएर त्यसलाई जनताको बिचमा ल्याउन सक्दा हामीले छाला जोगाउनु पर्दैन। होइन भने प्रश्न उठ्छ। त्यसकारण यी गम्भीर प्रश्नहरूबारेमा हामी घोत्लिन आवश्यक छ।

'जबज'मार्फत लोकप्रियता

कमरेड मदन भण्डारीले २०४६ सालको जनआन्दोलन र त्यसपछि नेकपा एमाले बन्ने प्रक्रियासम्म आफूलाई एउटा परिपक्व नेता, बिचारक र जननेताको रूपमा स्थापित गर्दै लाग्नु भयो।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले ठूल्ठूला धक्का खान थालेका बेला, नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको रक्षा कसरी गर्नेभन्ने बारेमा आफ्नो गतिशील बुझाइ र सृजनशील मानसिकतासहित उहाँले शान्तिपूर्ण र प्रतिस्पर्धाको माध्यमबाट आफूलाई खरो उतार्ने र त्यसको निम्ति जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यक्रमको रूपमा अगाडि सार्ने र कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन उहाँले बिलकुल ढिलो गर्नु भएन।

उहाँले परिस्थितिको दबाबलाई तुरुन्तै बुझ्नु पनि भयो। अन्तर्राष्ट्रिय परिस्थितिले कम्युनिस्ट आन्दोलनलाई कसरी रक्षात्मक दिशातिर धेकेलेको छ भन्ने पनि आत्मसात गरेर त्यो कार्यक्रम अगाडि सार्नु भयो।

उहाँ कुनै जड, सङ्कीर्ण, एउटा कुरा भनेपछि त्यही मात्र भनिरहनुपर्छ, एउटा सङ्गठनमा लागेपछि त्यसैमा मात्रै लागिराख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थेन।

उहाँ देशकाल परिस्थिति अनुसार आफूलाई बदल्न पनि तयार हुनुहुन्थ्यो। आफ्ना नीति, योजना र कार्यक्रमलाई विकसित गर्न र बदल्न पनि तयार हुनुहुन्थ्यो।

यस अर्थमा मदन भण्डारी अरू नेताभन्दा भिन्न हुनुभयो। यसकारण उहाँ हामी सबैको निम्ति श्रद्धा र सम्मानको पात्र बन्नुभयो, राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा राजनीतिक एवम् कम्युनिस्ट आन्दोलनमा उहाँ स्थापित हुनुभयो।

मदन-प्रवृत्तिलाई आत्मसात

उहाँको त्यही प्रवृति, त्यही सृजनशील र गतिशील बुझाइको एउटा उत्तराधिकारीको रूपमा नेकपा एमालेका नेताहरू पछिल्लो चरणमा खासगरी तत्कालीन एमाले अध्यक्ष केपी ओली र त्यसरी नै सङ्कीर्णता, आग्रह र पूर्वाग्रहमा होइन, गति र सृजनामा मार्क्सवादलाई बुझिनुपर्छ भन्ने मान्यताबाट विकसित भएको तत्कालिन नेकपा माओवादी केन्द्र र म समेत, हाम्रो त्यहाँ कहीँ न कहीँ प्रवृत्ति मिलेकै हो।

दुईटै धाराहरू अन्तत: शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धामार्फत निर्वाचनको प्रक्रियाबाट सरकारको नेतृत्व गर्दै समाजवादको आधार तयार पार्ने भन्नेकुरामा एक ठाउँमा आएको हो।

हामी कसैले पनि अब कुनै आग्रह-पूर्वाग्रह राख्न जरूरी छैन। हामीले अप्ठेरो मान्नुपर्ने कुरा पनि छैन। त्यो ठाउँमा हामी आइपुगेकै हौं।

मदन भण्डारीको त्यो प्रवृत्तिप्रति सम्मान मात्रै होइन, त्यसलाई आत्मसात गर्ने। उहाँको सोँच्ने, काम गर्ने, विचार निर्माण गर्ने, नीति-योजना-कार्यक्रम विकास गर्ने तरिका र त्यो तरिका अनुसार आफूलाई ढाल्ने।

त्यसो भएपछि अब राष्ट्रलाई एकता कसरी दिने, राजनीतिक स्थायित्व कसरी दिने, विकास र समृद्धिको जनताको आकाङ्क्षालाई कसरी सम्बोधन गर्ने भन्दा हामीले यो बाहेक अर्को विकल्प छैन भन्ने ठाउँमा आफूलाई पायौं।

देशको एकतामै खतरा

त्यसको सबभन्दा ठूलो प्रमाण-- त्यतिबेला हामी दुबैजना (आफू र केपी ओली) मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकता घोषणा गर्ने निष्कर्षमा पुग्नुका पछाडि पनि हामीले त्यो गतिशीलता, सृजनशीलता, राष्ट्र र जनताको नयाँ आवश्यकतालाई आत्मसात गर्ने, मदन भण्डारीको त्यो प्रवृतिबाट सिक्ने र त्यसलाई समातेर अगाडि बढ्ने सङ्कल्पको प्रतिवद्धताकै परिणाम थियो। यसको केही ऐतिहासिक अर्थ छ, ऐतिहासिक महत्त्व छ।

हामी त्यसरी नै यहाँसम्म आयौं, जसरी मदन भण्डारी सांस्कृतिक मोर्चा, माले, एमाले हुँदै अगाडि आउनु भयो, जसरी उहाँले विभिन्न नीति-कार्यक्रम हुँदै जनताको बहुदलीय जनवादसम्म आउनु भयो, हामी पनि अब सवाजवादको रणनीति अन्तर्गत जनताको जनवाद हुँदै हामी अगाडि बढ्छौं भनेर आयौँ। यही यस्को मर्म हो।

अब यो पार्टीलाई सुदृढ गर्ने र सरकारलाई सफल पार्ने कुरामा र जनआकाङ्क्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने हामी दुईटा नेताको वा पार्टीको मात्र असफलता हुनेवाला छैन, कम्युनिस्ट आन्दोलन फेरि यही रूपमा उठ्न सायदै सम्भव हुन्छ। यो (राजनीतिक) प्रणाली नै जानेवाला छ र देशको एकता पनि खतरामा पर्ने वाला छ।