चीनमा अलपत्र नेपाली महिला कामदार: कसरी पुगे, किन फर्कन चाहन्छन्

  • 2 जुलाई 2019
चीनमा नेपाली महिला तस्वीर कपीराइट Chetnath Acharya
Image caption परिचय बचाउन तस्बिर सम्पादन गरिएको छ

चीनमा ४० जनाभन्दा बढी नेपाली महिला म्यान पावर कम्पनीमार्फत् एउटा गार्मेन्ट फ्याक्ट्रीमा पुगेको तर ती महिलाहरूसँग कामका लागि आवश्यक किसिमको राहदानी नभएको, आवश्यक सीप पनि नरहेको र भनेको भन्दा निकै कम तलबमा काम गर्नुपरेको खबर सार्वजनिक भएका छन्।

ती महिलासँग सम्पर्कमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआइ नेपाली सेवा बेइजिङमा कार्यरत पत्रकार चेतनाथ आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश:

चेतनाथजी, गार्मेन्ट फ्याक्ट्रीमा ४४ जना दुःख पाएर बसेको खबरहरू आए। अहिले चीनमा नेपाली महिलाहरू काम गर्न जाने सङ्ख्या बढेको हो?

चीनमा काम गर्न आउने नेपाली महिलाको सङ्ख्या बढेको होइन। यसभन्दा अगाडि यसरी खासै आएका पनि थिएनन्।

नयाँ 'केस' हो। चीनको ल्याओनिङ प्रान्तको एउटा गार्मेन्ट फ्याक्ट्रीले नेपालको म्यानपावर कम्पनीसँग सम्झौता गरेर र नेपालको श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाएको रहेछ।

चीनमा अरू देशबाट पनि विदेशी कामदार ल्याउने गरिएको छ?

आएका छन्। जस्तो म आफैँ पनि चीनमा 'वर्किङ भिसा'मा काम गरिरहेको छु। यहाँ काम गर्न आउन पहिलो कुरा त स्नातक पास गरेको हुनुपर्छ। र उसको कामको क्षमता के हो त्यो काम कुन ठाउँमा आवश्यक छ भन्ने कुरा पुष्टि हुनुपर्छ।

चीन सरकारले स्वीकृति दिएपछि मात्रै कामकाज गर्ने 'जेड' भिसा प्राप्त हुन्छ।

दोस्रो कुरा जुन ठाउँमा अहिले ४४ जना नेपाली महिला अलपत्र छन् त्यो ठाउँ भनेको उत्तर कोरियाको सीमा नजिकै पर्छ र त्यस क्षेत्रमा केही उत्तर कोरियाली नागरिकहरू काम गर्छन्।

तर त्यो चाहिँ अलि फरक घटना हो। जस्तो केरुङमा एक हजार नेपाली काम गर्छन्। उनीहरूले वर्किङ भिसा लिएका छैनन्। त्यसै गरेर हुम्लाको ताक्लाकोटको पारीपट्टि तिब्बततिर पनि लगभग पाँच सय नेपाली काम गर्छन्। उनीहरूलाई पनि वर्किङ भिसा चाहिँदैन।

सीमा क्षेत्रका नागरिकहरूलाई एक प्रकारको समझदारीमा पाँच छ महिना काम गर्छन्। फेरि आउँछन्, त्यो हिसाबले त्यो ल्याओनिङ प्रान्तमा उत्तर कोरियाका नागरिकलाई त्यो सुविधा प्राप्त भएको हुन सक्छ। तर नेपालीलाई छैन।

तस्वीर कपीराइट .

त्यसो भए नेपालीहरूले अवैध रूपमा काम गरिरहेका हुन् त?

सबै कुराको बदमाशी नेपालको म्यानपावर एजेन्सीले गरेको छ।

तर उनीहरूले श्रम मन्त्रालयको स्वीकृति लिएर आएका होइनन र?

हुनत हो। तर जे का लागि जसरी ल्याइनुपर्थ्यो त्यसो गरिएको छैन।गार्मेन्ट फ्याक्ट्रीमा सिलाउने काम गर्न आउनुपर्ने तर अहिले आएका महिला कोही पनि सिलाउन जान्ने मान्छे होइन ।

कोही पढ्दै नपढेको मान्छे र कोही प्लस टुसम्म पास गरेको मान्छे छन् भने एकदुईजना विदेशमा पहिले काम गरेर फर्केको। सिलाइको मेसिन छुँदै नछोएको मान्छेहरू म्यानपावर एजेन्सीले पठायो।

काम नजानेको भएर दु:ख पाए भन्नुभएको?

हो। सम्झौता अनुसार मासिक ३५ हजार नेपाली रुपैयाँ दिने भन्ने थियो। अनि बस्ने ठाउँ दिने, खान दिने। टेलिफोन सुविधाहरू दिने। हप्ताको छ दिन मात्रै काम गर्ने। दिनको आठ घण्टाभन्दा बढी काम नगर्ने।

यहाँ आइसकेपछि महिनाको जम्मा पाँच हजार रुपैयाँ दिइयो। पछि काठमाण्डूमा म्यान पावर कम्पनीलाई गुनासो गरेपछि चिनियाँ कम्पनीको प्रतिनिधि रातको बाह्र बजे आएर तलब बढाइदिएको भन्ने कुरा छ।

तस्वीर कपीराइट Getty Images

अहिले ती महिला कहाँ छन्?

ती ल्याओनिङ प्रान्तमा बसिरहेका छन्। दु:खको कुरा उनीहरूलाई काममा नगएपछि खान दिइँदैन।

तपाईँसँग उनीहरू कसरी सम्पर्कमा आए?

चीनस्थित नेपाली दूतावासमार्फत् त्यहाँ नेपालीहरू काममा आएका छन् भन्ने थाहा पाएँ। त्यसपछि 'वीच्याट' ठेगाना लिएर कुराकानी गरेँ। उनीहरूले भिडिओ कल गरेर बस्ने ठाउँ देखाए। उनीहरूको अवस्था सबै मलाई सुनाए।

अहिले पनि उनीहरू त्यही गार्मेन्ट फ्याक्ट्रीमा छन् उसो भए?

गार्मेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र बस्ने ठाउँ दिएको छ। एउटा कोठामा चारवटा खाट छ जसमा आठजना बस्छन्।

उनीहरू भन्छन् हामी काम गर्न जान्दैनौँ हामी नेपाल फर्किन्छौँ।

त्यहाँ बिहे गरेर जाने नेपाली महिलाले दुःख पाएको समाचार पनि तपाईले प्रेषित गर्नुभएको थियो। अनि चिनियाँ डान्स रेष्टुराँहरूमा पनि नेपाली युवतीहरू पुर्‍याइएका छन् भन्छन् नि।

डान्स रेष्टुराँको कुरा केरुङको हो। अरुतिर चीनमा कहिँपनि त्यस्तो छैन।

पहिला तातोपानीको कुरा पनि थियो।

पहिले तातोपानी सीमा खुला हुँदात्यो कुरा आएको थियो। तातोपानी नाका बन्द भएपछि डान्स रेष्टुराँको कुरा पनि बन्द भयो।

बिहे गरेर आएकामध्ये मैले दुई दर्जन जति भेटेको छु। आठ नौजना नेपाल फर्किसके। बाँकी जो मैले भेटेको छु उनीहरूको राम्रो छ। उनीहरू आफ्ना श्रीमान् र बच्चासँग नेपाल आउजाउ पनि गर्छन्।

नेपालबाट विभिन्न देशमा काम गर्न चाहने महिलाहरू देश छोड्ने क्रम बढ्दो छ। भारत खाडी र अब चीन। चीन जान चाहने महिलाहरूको व्यवस्थापन कसरी गरे ठीक होला?

पहिलो कुरा त चीनमा काम गर्न आउने अवस्था नै छैन। अहिले म्यानपावर कम्पनीले झुक्याएर ल्याएको हो।

चीनमा विदेशीले काम गर्न पाइँदैन। कि ठूलो वैज्ञानिक हुनपर्‍यो वा उच्च दक्षता प्राप्त व्यक्ति हुनुपर्‍यो। सामान्य श्रम काम गर्न चीनमा पाइँदैन।

तर अहिले पनि मानव तस्करी गर्ने दलालहरूले हङकङ जान पाइन्छ, धेरै पैसा कमाउन पाइन्छ भन्ने प्रलोभन देखाएर चीनमा ल्याएर बेलाबेलामा छाडिदिने गरेका छन्। यो सन्देश हामीले सबैलाई पुर्‍याउन आवश्यक छ।

कुरा त्यति प्रस्ट छ भने नेपालको श्रम मन्त्रालयले ती महिलाहरूका लागि कसरी स्वीकृति दियो त? कसरी सम्भव भयो?

श्रम ऐन अन्तर्गत कुनै पनि देशमा श्रमिक आवश्यक भयो भने त्यही देशको दूतावासले स्थलगत भ्रमण गरेर ठीक छ भने सिफारिश गर्न सक्ने ऐन रहेछ।

चीनको कम्पनीले गत अक्टोबरमा बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दियो। दूतावासबाट फेब्रुअरीतिर स्थलगत भ्रमणमा जानुभयो दूतावासका अधिकारीहरू। त्यहाँ देख्दा ठिकै देखियो। तर कानूनी जटिलताको कुरा त्यहाँ खुलेन।

चिनियाँ कम्पनीले भन्यो उत्तर कोरियाका मान्छे पनि काम लगाइरहेको छु। म नेपालीहरू ल्याउन चाहन्छु। तीन सय जनालाई काम दिन्छु। उसले राम्रा शर्त राखेको थियो। सबै खर्च बेहोर्ने हरेक दुई वर्षमा देशमा जाने हवाई खर्च बेहोर्ने पैसा राम्रो दिन्छ भनेपछि दूतावासले सिफारिस गरिदियो।

त्यो म्यानपावर कम्पनीले दूतावासको सिफारिसमा टेकेर नेपालको श्रम मन्त्रालय अन्तर्गतको श्रम विभागबाट त्यो स्वीकृति लिएको देखिन्छ।

यदि उसले दक्ष जनशक्ति पठाएको भए यहाँ समस्या हुँदैनथ्यो। स्नातक पास गरेका सिलाइ कटाइ जानेका मान्छे भएको भए समस्या हुँदैनथ्यो। तर उसले सर्वसाधारण मान्छेहरू खोज्यो। सिलाइ होइन प्याकिङको काम भनेर झुक्याएर म्यानपावर एजेन्सीले पठायो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
नेपाली महिला कामदारहरू सुरक्षित तुल्याउने उपाय के के होलान्।

सम्बन्धित सामग्री