'जय श्री राम': प्रणामदेखि उद्दण्ड समूहको नारा

  • 10 जुलाई 2019
तब्रेज अन्सारी तस्वीर कपीराइट BBC Hindi
Image caption आफ्नो जीवनको लागि याचना गरिरहेका तब्रेज अन्सारीको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो

भारतका धेरै ठाउँमा हिन्दूहरूले प्रणाम गर्दा भगवान रामको नाम प्रयोग गर्छन्। तर हालैका वर्षमा समुदाय विशेषका व्यक्तिविरूद्ध घातक आक्रमण गर्ने गरेका भिडले रामको नामलाई उद्दण्ड नाराको रूपमा प्रयोग गरेको पाइन्छ। दिल्लीस्थित बीबीसीकी गीता पाण्डेको विश्लेषण:

अघिल्लो महिना समाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बन्यो जसमा भारतको पूर्वी राज्य झारखण्डमा एक त्रसित मुसलमान युवालाई पोलमा बाधेर हिन्दू पुरुषहरूको एउटा भिडले आक्रमण गरिरहेको देखाइएको छ।

त्यो भिडिओमा २४ वर्षका तब्रेज अन्सारीले जीवनको याचना गरिरहेका छन्। उनको अनुहारबाट रगत र आँसु बगिरहेको देखिन्छ।

उनलाई आक्रमण गर्नेहरूले तब्रेजलाई बारम्बार 'जय श्री राम' भन्न लगाउँछन्।

अन्सारीले भिडले भने अनुसार गर्छन् र आफ्नो काम सकाएपछि उक्त जत्थाले उनलाई प्रहरीलाई बुझाइदिन्छ।

प्रहरीले उनलाई थुनामा राख्छ र परिवारलाई तब्रेजसँग भेट्न दिइँदैन्। आक्रमणका क्रममा व्यहोरेको चोटका कारण चार दिनपछि उनको मृत्यु हुन्छ।

धार्मिक हिंसा

यस्तो प्रकृतिको दुर्व्यवहार बेहोर्ने अन्सारी एक्ला होइनन्। भारतमा मुसलमानहरूका लागि गत जुन महिना विशेष रूपमा रक्तपातपूर्ण बन्यो र कैयौँ यस्ता आक्रमणहरूमा उनीहरूलाई निशाना बनाइयो।

पूर्वोत्तर भारतको आसामस्थित बरपेटामा मुसलमान पुरूषहरूको एउटा समूहमाथि आक्रमण गरियो र त्यसपछि उनीहरूलाई 'जय श्री राम', 'भारत माताकी जय' र 'पाकिस्तान मुर्दाबाद' जस्ता नारा लगाउन लगाइयो।

भारतको वित्तीय राजधानी मुम्बइमा एक २५ वर्षिय मुसलमान ट्याक्सी ड्राइभरलाई दुर्व्यवहार र कुटपिट पछि एउटा समूहले 'जय श्री राम' नारा लगाउन लगायो।

फैजल उसमान खान भन्छन्, ट्याक्सी ब्रिगिएपछि त्यसलाई मर्मत गर्ने प्रयास गरिरहेका बेला उनीमाथि आक्रमण गरियो। एक यात्रुले प्रहरीलाई टेलिफोन गरेपछि हमलाकारीहरू भागेका थिए।

पूर्वको कोलकातामा मदरसामा पढाउने २६ वर्षका एक मुसलमान शिक्षक हाफिज मोहमद साहरुख हलदारलाई रेलमा यात्रा गरिरहेका बेला 'जय श्री राम' उच्चारण गरिरहेका पुरूषहरूको समूहले हुलहुज्जत गर्‍यो।

उनले संवाददाताहरूलाई भने अनुसार उक्त समूहले उनको पोशाक र दाह्रीलाई लिएर ठट्टा गरेका थिए। त्यसपछि हुलले उनले पनि नारा लगाउनुपर्ने अड्डी कसेको थियो।

तर त्यसो गर्न अस्वीकार गरेपछि उनीहरूले हलदारलाई गुडिरहेको रेलबाट बाहिर धकेलिदिए। हलदार घाइते भए तर बाँचेकाले उनले यो कथा सुनाउन पाए।

नारा लगाउने र हुलहुज्जत गर्ने घटना अब भिड र बाटोघाटोमा मात्रै सिमित छैन। चिन्ता लाग्ने किसिमले यसले संसद्‌मा पनि प्रवेश पाएको छ।

चिन्ता

तस्वीर कपीराइट Courtesy: Satish Acharya

नवनिर्वाचित तल्लो सदन लोक सभाको पहिलो बैठक जुन १७ मा बस्दा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) का सांसदहरूले मुसलमान र विपक्षी सांसदहरू सपथ लिन उठ्दा होहल्ला गरे।

अल्पसङ्ख्यकहरू माथि भएका आक्रमणको विपक्षी नेताहरूले निन्दा गरेका छन्। प्रमुख विपक्षी कांग्रेसको अध्यक्षबाट राजीनामा दिनुअघि राहुल गान्धीले भिडद्वारा गरिएको तब्रेज अन्सारीको हत्या 'मनवताविरूद्धको कालो धब्बा' भएको बताएका थिए।

कार्टुनिष्ट सतिस आचार्य सहित कैयौँ आलोचकहरूले यस्ता घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

उत्तर भारतका गाउँहरूमा हिन्दू धर्मावलम्वीहरूले परम्परागत रूपमा 'राम राम', 'जय सिया राम' वा 'जय राम जीकी' जस्ता शब्दावली अभिवादन गर्न प्रयोग गर्छन्।

लाखौंले न्याय र करूणाका प्रतिकका रुपमा पुज्ने भगवानका नाममा यस्ता आक्रमण र हत्या गर्न थालिएकोमा धेरैले एक प्रकारको असहजता महसुस गरिरहेका छन्।

'जय श्री राम' अहिले आक्रमणको चित्कारमा परिणत भएको हुन्छ जसको उद्देश्य फरक किसिमले पूजा गर्नेहरूलाई तर्साउने र धम्काउने बन्न पुगेको छ।

नारा

प्रार्थना गर्दा प्रयोग गरिने जय श्री रामलाई राजनीतिक नाराका रूपमा सन् १९८० को अन्ततिर बीजेपीले प्रयोग गरेको थियो।

तस्वीर कपीराइट Getty Images

त्यसबेला अयोध्यास्थित विवादित भूमीमा राम मन्दिर निर्माण गर्ने अभियानका क्रममा ठूलो संख्यामा हिन्दुहरूलाई परिचालन गरिएको थियो।

तत्कालीन पार्टी अध्यक्ष लालकृष्ण आणवाणीले मन्दिरको निर्माणको समर्थन गर्दै आयोजना गरिएको र्‍यालीको नेतृत्व गरेका थिए।

सन् १९९२ को डिसेम्बरमा 'जय श्री राम' नारा लगाउँदै एउटा भिडले उत्तरी शहर प्रवेश गरी १६ औँ शताब्दी पुरानो बाबरी मस्जिद भत्काइदिएको थियो।

त्यहाँ कुनै बेला रहेको रामको मन्दिरलाई भत्काएर मस्जिद निर्माण भएको विश्वास बिजेपीले राख्दै आएको छ।

उक्त अभियानले हिन्दू मतादातामाझ बीजेपीको लोकप्रियता बढायो र भगवान रामलाई व्यक्तिबाट राजनीतिक पहिचान दिलायो। त्यसयता उक्त दलले सन् २०१९ सहित हरेक चुनावमा भगवान रामको नामको प्रयोग गर्ने गरेको छ।

आलोचकहरू अल्पसङ्ख्यकहरूलाई संसद भित्र र बाहिर हुलहुज्जत गर्ने समूहले चुनावमा बीजेपीले प्राप्त गरेको जितले त्यस्तो व्यवहारको अनुमोदन गरेको ठान्ने गरेको टिप्पणी गर्छन्। दोस्रो कार्यकालका लागि सत्तामा आउने क्रममा प्रधानमन्त्री मोदीको बीजेपीले ५४३ मध्ये ३०० सीट जितेको थियो।

प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा पनि अल्पसंख्यकहरू विरूद्ध हिंसाका घटनाहरू भएका थिए। गाईको रक्षा गर्नुपर्ने माग गर्ने भिजिलान्ते समूहले गाईको मासु खाएको वा गाईको तस्करी गरेको आरोपमा मुसलमानहरूलाई आक्रमण गरेका कैयौं घटनाहरू प्रकाशमा आएका थिए। गाईलाई हिन्दु धर्मावलम्वीहरूले पवित्र जनावारका रूपमा पुज्ने गर्छन्।

प्रधानमन्त्रीले त्यस्ता आक्रमणहरूको निन्दा गरेनन् तर त्यस्तो नगरेको भन्दै उनको आलोचना गरियो।

तस्वीर कपीराइट Getty Images

तर मे महिनामा चुनावमा शानदार जितपछि उनले आफ्नो विगतको 'सबका साथ, सबका विकास (सबैको साथ लिएर विकास)' भन्ने नारालाई विस्तार गर्दै त्यसमा 'सबका विश्वास (सबैको विश्वास)' पनि जोडे। त्यसले यसपटकको कार्यकाल फरक हुने आशा जगाएको थियो।

तब्रेज अन्सारीको निधनको केहि दिनपछि उनले संसदमा उक्त घटनाले आफूलाई 'पीडा' दिएको र 'दोषीलाई कडा दण्ड दिइनुपर्ने' बताए।

तर धेरै भारतीयहरू यस्ता आक्रमणमा संलग्न हुनेहरूलाई गम्भीर कारबाही गरिनेमा शङ्का व्यक्त गर्छन्।

संरक्षण

भिडले सन् २०१४ यता गरेका आक्रमणमा कैयौँ दर्जन मानिसहरूले ज्यान गुमाएका छन् भने सयौंको सङ्ख्यामा मानिसहरू घाइते भएका छन्। तर एकाध घटनामा मात्र दोषीलाई सजाय भएको छ।

अन्य घटनाका आरोपीहरू प्रमाणको अभावमा खुलेआम हिँडिरहेका छन् र कतिपयलाई मोदीकै पार्टीका नेताहरूले संरक्षण दिइरहेको देखिन्छ।

बीजेपीका नेताहरूले यस्ता घटनालाई साधारण रूपमा प्रस्तुत गर्छन् र सञ्चारमाध्यमले 'सरकारको छवी बदनाम गरेको' आरोप लगाउँछन्।

एक जना बीजेपी सांसदले हालै एउटा समाचार वेबसाइटलाई 'जय श्री राम' को लोकप्रियता 'निश्चित प्रकृतिको पक्षधरता र अल्पसंख्यकको पक्षमा देखीएको राजनीतिक झुकाव' विरूद्ध हिन्दुहरूको एक प्रकारको विरोधको परिणाम भएको बताए।

"उनीहरूले हामी हिन्दू हौँ र हिन्दूको रूपमा हाम्रो महत्व छ भनेर स्थापित गरिरहेका छन्," ती सांसदले भने।

तर आलोचकहरू चाहिँ त्यसो गर्न पनि अरू राम्रा तरिकाहरू भएको बताउँछन्।