वैदेशिक रोजगार: खाडी मुलुकमा अफ्रिकी कामदार बढ्दा नेपाली घटे

  • 11 जुलाई 2019
कामदार तस्वीर कपीराइट AFP

खाडी देशहरू अफ्रिकी कामदारतर्फ आकर्षित हुन थालेपछि त्यसले नेपाली वैदेशिक रोजगारी क्षेत्रलाई प्रभावित पार्न सक्ने अधिकारीहरूले बताएका छन्।

नेपाल सहित दक्षिण एशियाली कामदारका लागि खाडी राष्ट्रहरू मुख्य श्रम गन्तव्यका रूपमा रहँदै आएका छन्।

हाल वैदेशिक रोजगारीमा रहेका ४५ लाख नेपाली कामदारको ६० प्रतिशत खाडी राष्ट्रहरूमा काम गरिरहेको ठानिन्छ।

सरकारी अधिकारी भने नेपाली कामदार कम भएको कुरा आएपनि वर्षको अन्त्यमा तथ्याङ्क आएपछि समीक्षा गर्ने बताउँछन्।

फेरबदल

गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) आबद्ध कतार, साउदी अरेबिया, युनाइटेढ अरब एमिरेट्स, बहरेन र ओमानमा नेपाली कामदारहरूको मुख्य गन्तव्यका रूपमा रहँदै आएका छन्।

गएको फागुनसम्मको तथ्याङ्क उल्लेख गर्दै आर्थिक सर्वेक्षणले जनाए अनुसार पछिल्लो एक दशकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका ४५ लाखभन्दा बढ्ता नेपाली मध्ये ३० प्रतिशत मलेसियामा र ६० प्रतिशतभन्दा बढी खाडी देशहरूमा काम गरिरहेका छन्।

खाडी मुलुकमा नेपाली कामदार

खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि जान अन्तिम श्रम स्वीकृती प्राप्त गरेका नेपालीहरूको सङ्ख्या

* आव २०७१/७२ र २०७२/७३ को तथ्याङ्क उपलब्ध छैन। #आव २०७५/७६ को तथ्याङ्क विसं २०७६ जेठ मसान्तसम्मको मात्र।
स्रोत: वैदेशिक रोजगार विभाग

तर बीबीसीले प्राप्त गरेका सरकारी आँकडाको विश्लेषणले पछिल्ला केही वर्षमा खाडी राष्ट्रमा काम गर्न जाने कामदारहरूको सङ्ख्या घटिरहेको देखाएको छ।

आर्थिक वर्ष २०७०-७१ मा दुई लाख ९७ हजारभन्दा बढी कामदार खाडी राष्ट्रहरूमा काम गर्न गएकोमा यो आर्थिक वर्षको पहिलो ११ महिनामा अन्तिम श्रम स्वीकृति पाउने कामदारको सङ्ख्या लगभग एक लाख ७५ हजारमा झरेको छ।

तर त्यसरी कामदारको सङ्ख्या घट्नुको यकिन कारणबारे खासै समीक्षा भएको पाइँदैन।

तस्वीर कपीराइट AFP

कामदारहरूलाई विदेश पठाउने म्यानपावर व्यवसायीहरूको छाता सङ्गठनका अध्यक्ष रोहन गुरूङ निशुल्क भिसा र टिकट दिनुपर्ने एवम् अन्य प्रशासनिक झमेलाहरू पनि बेहोर्नु पर्ने भएकाले पछिल्लो समयमा कतिपय खाडी देशका कम्पनीमा नेपाली कामदारको माग कम हुन थालेको बताउँछन्।

गुरूङ भन्छन्, "नेपाली कामदार लैजान पनि खर्चिलो अनि कागजी प्रक्रिया पूरा गर्न पनि विदेशस्थित नेपाली नियोग नै पुग्नुपर्ने बाध्यताजस्ता कारणले खाडी देशहरूले आफ्नो श्रम आवश्यकता अन्यत्रबाट पनि पूर्ति गर्न थालेका छन्।'

उनले विगतमा नेपाली कामदारहरूले सुरक्षा गार्ड र भवन जस्ता संरचना निर्माणमा राम्रो छवि कायम गरेपनि विस्तारै ती क्षेत्रहरूमा खाडी देशहरूले अफ्रिकी कामदार ल्याउन थालेको बताए।

कामदार

खाडी राष्ट्रहरूमा काम गरिरहेका श्रमिकको वास्तविक सङ्ख्या प्रष्ट नभएपनि अफ्रिकी क्षेत्रीय संगठन अन्तर्गतको इन्टरनेसनल ट्रेड युनियन कन्फिडेरेशनले सन् २०१८ मा गरेको एउटा अध्ययनले त्यहाँ अफ्रिकी मुलुकका श्रमिकको सङ्ख्या बढ्दै गइरहेको देखाउँछ।

राष्ट्र संघको तथ्याङ्कलाई उदृत गर्दै प्रकाशित एउटा अध्ययन अनुसार खाडी देशमा सन् २००० मा १२ लाख रहेको अफ्रिकी आप्रवासीको सङ्ख्या सन् २०१७ मा आइपुग्दा ३४ लाख नाघेको छ।

त्यसको ठूलो हिस्सा इजिप्ट, सुडान र इथियोपिआका कामदारले ओगटेका छन्।

संयुक्त अरब एमिरेट्सस्थित नेपाली श्रम सहचारी मोतिराम भुसालले सरकारी नीति अन्तर्गत नै कम्पनीहरूले विभिन्न देशहरूबाट कामदार लिनलाई कोटाहरू छुट्याउन थालेकोले नेपाली कामदारहरूका लागि त्यहाँको बजार सङ्कुचित जस्तै देखिएको बताए।

तस्वीर कपीराइट Reuters

भुसालले भने, "पहिला नेपाली कामदारहरूमात्रै देखिने क्षेत्रमा अहिले अरू देशका कामदारहरू पनि छन्।"

"सुरक्षा गार्ड, घरेलु कामदार, होटलजस्ता क्षेत्रहरूमा अहिले अफ्रिकी देशहरूबाट पनि कामदारहरू आइरहेका छन्।"

उनी थप्छन्, "उनीहरूले नेपाली श्रमिकभन्दा कम ज्यालामा काम गर्छन्। व्यवसायीहरूले कामदार ल्याउने कागजी प्रक्रिया पनि सरल भएकाले यो प्रवृत्ति देखिएको हो भनेर हामीसँग भनेका छन्।"

सम्भावित श्रम शोषणलाई ध्यान दिँदै नेपालले तीन वर्ष यता महिलाहरूलाई घरेलू कामदारका रूपमा खाडी तथा मध्यपूर्वका देशमा जान प्रतिबन्ध लगाएको छ।

त्यसका कारण कतिपयले गैरकानुनी बाटो अँगालेको र खाडी तथा मध्यपूर्व देशमा रहेका महिला घरेलु कामदार नेपाल फर्कन समेत नपाएको भन्दै पुरानो निर्णय पुनर्विचार हुनुपर्ने माग समेत उठेको छ।

समीक्षा

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले खाडी देशहरूले अफ्रिकी कामदारहरू लिन थालेको बारे व्यवसायीहरूले बेला बेला कुरा राखेको भएपनि त्यसबारे ठोस छलफल नभएको बीबीसीलाई बताए।

तस्वीर कपीराइट AFP

उनी भन्छन्, "अफ्रिकी कामदारका कारण दबाब बढेको भन्ने कुरा आएपनि त्यो कतिको साँचो हो भनेर हेरिएको छैन। यो आर्थिक वर्षको अन्तिममा तथ्याङ्क आएपछि यसबारे हामी समीक्षा गर्छौँ।"

अघिल्लो हप्ता राजधानीमा आयोजित एक कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठनका अप्रवासी कामदार सम्बन्धी दक्षिण एशिया विशेषज्ञ साबरी नायर र माइग्रेन्ट फोरम एशियाका विलियम गोइसले खाडी देशहरूमा अफ्रिकी कामदारहरू बढिरहेको र रोजगारीका अवसरहरू कम हुँदै गइरहेको धारणा राखेका थिए।

खाडी देशमा नेपाली कामदारहरूले गर्ने परम्परागत रोजगारीका क्षेत्र विस्तार हुँदै गएको र हाल सेवामूलक क्षेत्रमा पनि उनीहरूले काम गर्न थालेको उनीहरूको भनाइ थियो।

खाडी देशमा वैदेशिक कामदारको माग अहिले जस्तो नभईराख्ने भन्दै त्यस्तो अवस्थामा के गर्ने भनेर नेपालले तयारी गर्नुपर्ने उनीहरूको सुझाव थियो।

नेपाली बर्सेनि पाँच लाख व्यक्ति श्रम बजारमा थपिएपनि देशभित्र रोजगारीको अवसर सीमित हुँदा उनीहरूमध्ये धेरैको रोजाई वैदेशिक रोजगारी हुने आँकडाहरूले देखाएका छन्।

विदेशमा खटिएका कामदारहरूबाट प्राप्त रेमिट्यान्सले नेपालको कुल गार्हस्थ उत्पादनको करिब एक तिहाइ हिस्सा ओगट्ने अध्ययनहरूले देखाएका छन्।

त्यही भएर विशेषगरि खाडी राष्ट्रको श्रम बजारमा देखिने परिवर्तन र चुनौतीले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने जानकारहरू बताउँछन्।

सम्बन्धित सामग्री