चन्द्रमामा मानव पाइला: अमेरिकी अभियानबारे विद्यमान षड्यन्त्रका सिद्धान्तको भण्डाफोर

  • 14 जुलाई 2019
अपोलो ११ तस्वीर कपीराइट Getty Images
Image caption अपोलो ११ चन्द्रयान चन्द्रम नजिक पुग्दाको क्षण

सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए।

तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको छ।

यो सङ्ख्या सानो जस्तो लाग्छ तर षड्यन्त्रको सिद्धान्त (कन्स्पिरसी थीअरी) जीवितै राख्न यो सङ्ख्या पर्याप्त छ।

'द मून होक्स'अभियान

तस्वीर कपीराइट Billkaysing.com
Image caption सन् २००५ मा दिवङ्गत बिल केसिङ 'द मून होक्स'का प्रणेता थिए

चन्द्रमामा नक्कली अवतरण भन्ने सिद्धान्त मान्नेहरूको मुख्य तर्क के हो भने सन् १९६० मा अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग चन्द्रमामा पुग्न सफल हुनका लागि आवश्यक प्रविधि थिएन।

उनीहरूको तर्क छ - यो असम्भव कुरा भन्ने बुझेपछि नासाले रुससँग अन्तरिक्षमा जाने होडको प्रतिस्पर्धामा निर्णायक धक्का पुर्‍याउन कतै नक्कली अवतरण गरेको थियो। त्यसबेला सोभियत सङ्घ चन्द्रमामा जाने कुरामा अमेरिकाभन्दा अगाडि थियो र उनीहरूको यान चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

नील आर्मस्ट्रङको "मानवका लागि एक पाइला तर मानवताका लागि ठूलो फड्को" भन्ने उक्तिको आधिकारिताबारे प्रश्न गर्ने किसिमका कथाहरू अपोलो ११ घर फर्किएदेखि फैलिन थाले।

'वी नेभर वेन्ट टु द मून: अमेरिकाज् थर्टी बिलियन डलर स्विन्डल' नामक पुस्तक सन् १९७६ मा प्रकाशित भएपछि अमेरिका चन्द्रयात्राको कथा मिथ्या भएको विश्वास गर्नेको सङ्ख्या बढ्यो।

त्यो बिल केसिङ नामक पत्रकारले लेखेका थिए। उनी नासासम्बद्ध एक निकायमा जनसम्पर्क अधिकृतका रूपमा कार्यरत थिए।

उक्त पुस्तकमा थुप्रै तर्कहरू प्रकाशित थिए जुन पछि कोही पनि चन्द्रमामा पुगेको छैन भन्ने तर्क गर्नेहरूले प्रयोग गर्न थाले।

'हावा नभएको ठाउँमा' झण्डा कसरी फरफरायो

तस्वीर कपीराइट Getty Images
Image caption आर्मस्ट्रङ र एल्ड्रिनले गाडेको झण्डामा मुजा पर्नुको कारण लट्ठी गाडिएकाले हो भन्ने वैज्ञानिकहरूको भनाइ छ

त्यो सूचीमा पत्रकारहरूले उपलब्ध गराएको "प्रमाण" संलग्न छ - चन्द्रमाको सतहको पृष्ठभूमिमा ताराहरू देखिन्नन् र हावा नभएको वातावरणमा अमेरिकी झण्डा फहराएको छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका अन्तरिक्ष अनुसन्धानकर्ता माइकल रिच यो दाबी काट्ने वैज्ञानिक आधार भएको बताउँछन्।

आर्मस्ट्रङ र बज एल्ड्रिनले झण्डा गाड्न चन्द्रमाको सतहमा लगाएको बलका कारण झण्डा खुम्चिएको हो।

र, चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको भन्दा छ गुणा कम भएकाले त्यही आकारमा बसेको हो भन्ने ती वैज्ञानिकको भनाइ छ।

'ताराविहीन आकाश'

तस्वीर कपीराइट NASA
Image caption चन्द्रमाको सतहका तस्बिरमा ताराविहीन कालो आकाश आउनुको कारण सूर्यको प्रकाश परावर्तनका कारण हो

चन्द्रमामा मान्छे पुगेकै छैनन् भन्नेहरूले चन्द्रमाको तस्बिरमा आकाशमा तारा नदेखिएको तर्क अगाडि सार्छन्।

तस्बिरमा अँध्यारो र उज्यालोबीच उच्चतम फरक देखिन्छ।

किन त? रोचेस्टर इन्स्टिट्युट अफ टेक्नोलजीका एस्ट्रोफिजिक्सका प्राध्यापक ब्रायन कोबर्लिन चन्द्रमाको सतहले सूर्यको किरण परावर्तन गर्ने र त्यसैले तस्बिरमा असाध्यै चम्किलो देखिने तर्क गर्छन्।

उनी भन्छन्, "यही चम्किलोपनले तुलनात्मक रूपमा ताराहरूको कम चम्किलो प्रकाशलाई झन् कालो बनाइदियो। त्यसैले हामीले अपोलो ११ लक्ष्यका तस्बिरमा हामी तारा देख्दैनौँ।"

फोटो खिच्न पनि अलि बढी समय लागेको हुनुपर्छ।

'नक्कली पाइलाहरू'

तस्वीर कपीराइट Getty Images
Image caption चन्द्रमामा वायुको सतह नभएका कारण नील आर्मस्ट्रङ र अन्य अन्तरिक्षयात्रीका पाइलाहरू संरक्षित छन्

अन्तरिक्षयात्रीका पदचिह्नहरू पनि षड्यन्त्रको सिद्धान्त मान्नेहरूको तारोमा परेका छन्।

उनीहरूको तर्क छ - चन्द्रमामा आर्द्रताको अभावमा एल्ड्रिनका आश्चर्यजनक पाइलाका छाप बन्न असम्भव छ।

तर एरिजोना स्टेट युनिभर्सिटिका प्राध्यापक मार्क रबिन्सनले त्यसको वैज्ञानिक विश्लेषण गरेका छन्।

उनको भनाइ छ- चन्द्रमाको माटोमा चट्टानको तह र रेगोलिथ भनिने धुलोको तहले छोपिएको छ।

यो तह असाध्यै कोमल छ र त्यसमा पाइला टेक्दा पर्ने दबावले प्रष्ट छाप बस्छ।

माटोका कणहरू एकअर्कासँग टाँसिने प्रकृतिका हुने भएकाले जुत्ता हटाउँदा पनि पाइलाको छाप बाँकी रहन्छ।

रबिन्सन भन्छन्, "चन्द्रमाको सतहमा रहेका पाइलाका छाप दशौँ लाख वर्षसम्म पनि त्यहीँ रहिरहनेछन् किनभने त्यहाँ वायुमण्डल पनि छैन र वायु पनि छैन।"

तस्वीर कपीराइट Getty Images
Image caption एउटा प्रसिद्ध षड्यन्त्रको सिद्धान्तअनुसार पृथ्वीवरिपरि रहेको विकिरणको घेराले अन्तरिक्षयात्रीको ज्यान लिनसक्थ्यो

एउटा लोकप्रिय मान्यता चाहिँ यस्तो छ- पृथ्वीवरिपरि हुने विकिरणको घेराले अन्तरिक्षयात्रीहरूको ज्यान लिएको हुनुपर्छ।

तिनलाई भ्यान एलन बेल्ट्स भनिन्छ र सौर्य वायु र पृथ्वीको चुम्बकीय प्रकृतिबीचको सम्बन्धका कारण बन्छ।

अन्तरिक्षयात्रीमा विकिरणको घातक प्रभाव पर्ने डरले गर्दा प्रारम्भिक चरणमा विकिरणबारे वैज्ञानिकहरूको ठूलो चासो थियो।

तर नासाका अनुसार अपोलो ११ का चालकदल भ्यान एलन बेल्ट्स क्षेत्रमा चन्द्रमा यात्राका क्रममा दुई घण्टाभन्दा कम समयका लागि बसेका थिए। उच्च विकिरण हुने स्थानमा पाँच मिनेटजति मात्र बसेकाले उनीहरू प्रभावित नभएको नासाको तर्क छ।

यस्ता मान्यताविरुद्ध कस्ता प्रमाण छन्

नासाले हालै सार्वजनिक गरेका तस्बिरमा अपोलो ११ अवतरण गरेको क्षेत्र अहिले कस्तो स्थितिमा छन् भन्ने देख्न पाइन्छ।

तस्वीर कपीराइट NASA
Image caption नासाले सन् २०१२ मा सार्वजनिक गरेका तस्बिरहरूमा चन्द्रमाको सतहमा अपोलो ११ अन्तरिक्ष यानको अवशेषहरू र वैज्ञानिक उपकरणहरू देखाइएको छ

सन् २००९ देखि चन्द्रमालाई घुमिरहेको यान एलआरओले पठाएका तस्बिरहरूले चन्द्रमामा साँच्चिकै अवतरण भएको थियो भन्ने देखाउँछन्।

तस्बिरमध्ये अपोलो ११ अवतरण गरेको स्थानमा त्यहाँको माटोमा परेको छाप र अन्तरिक्ष यानको अवशेष देख्न सकिन्छ।

एलआरओले छ जनाको समूहले गाडेको झण्डा अहिले पनि गाडिको अवस्थामा रहेको देखाउँछ र त्यसले चन्द्रमाको सतहमा परेको छाया पनि खिचेको छ।

तस्वीर कपीराइट Getty Images
Image caption सोभियतहरूले चन्द्रमामा अवतरणमाथि कहिल्यै प्रश्न उठाएनन्

माथि उल्लेख गरिएका षड्यन्त्रका सिद्धान्तहरूको भण्डाफोर गरिएको भए पनि ती अझै पनि निकै लोकप्रिय छन्।

तर सत्य चाहिँ के हो भने २० जुलाई सन् १९६९ मा नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए भन्ने प्रमाणित गर्न यथेष्ट वैज्ञानिक प्रमाणहरू छन्।

षड्यन्त्रका सिद्धान्तका प्रणेताहरूलाई बारम्बार सोधिने प्रश्न के हो भने अमेरिकासँग शीतयुद्धको बीचमा रहेको र आफैँ चन्द्रमामा गोप्य रूपमा मानिस पठाउने काममा लागिरहेको सोभियत सङ्घ किन उनीहरूसँग मिल्न गएनन्?

"यदि हामीले चन्द्रमामा अवतरण गरेका थिएनौँ र नक्कली काम गरेका थियौँ भने सोभियतहरूसँग हाम्रो खण्डन गर्ने इच्छा र क्षमता दुवै थियो," नासाका भूतपूर्व प्रमुख इतिहासकार रोबर्ट लुनियसको तर्क छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
नील आर्मस्ट्रङ कसरी चन्द्रमामा टेक्न छानिए

उनले भने, "उनीहरूले त्यसबारे एक शब्द बोलेनन्। त्यो मेरा लागि असाध्यै बलियो कुरा हो।"

सम्बन्धित समाचार