हर्मुज स्ट्रेट: ब्रिटिश जहाजहरूलाई खाडीको जल क्षेत्रमा सावधानी अपनाउन निर्देशन

  • 11 जुलाई 2019
एचएमएस मोन्ट्रोस नामक ब्रिटिश पानीजहाज तस्वीर कपीराइट Reuters

ब्रिटेनले आफ्नो देशको ध्वजाबाहक पानीजहाजहरूलाई खाडी क्षेत्रको स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ।

तीन वटा इरानी जहाजले एक ब्रिटिश तेल ट्याङ्करको बाटो छेक्न खोजेको विवरण आएपछि त्यस्तो निर्देशन दिइएको हो।

ब्रिटेनको यातायात मन्त्रालयले ब्रिटिश पानीजहाजहरूलाई दिनको समयमा तीव्र गतिमा अघि बढ्ने सुझाव दिएको बुझिएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले चाहिँ समुद्र क्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाजहरूको स्वतन्त्र आवतजावतका लागि कुनै समस्या उब्जिए त्यसको अन्तर्राष्ट्रिय समाधान खोजिनु पर्ने बताएको छ।

इरानी पानीजहाजहरूले खाडीमा ब्रिटिस तेल ट्याङ्करलाई रोक्ने प्रयास गरेको विवरणहरू सार्वजनिक भएलगत्तै ब्रिटिस प्रधानमन्त्रीका एक सल्लाहकारले उक्त क्षेत्रमा जारी तनाव कम गर्न आग्रह गरेका छन्।

चेतावनी

तीन वटा इरानी पानीजहाज तथा ब्रिटिस ट्याङ्करकाबीचमा ब्रिटिस नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेपछि इरानी जहाजलाई मौखिक चेतावनी दिनुपरेको रक्षा मन्त्रालयले जनाएको छ।

इरानको रेभोल्युशनरी गार्डले भने आफूहरू उक्त घटनाका संलग्न भएको भन्ने विवरणहरूको खण्डन गरेको छ।

तर इरानको सैन्य निकायका एक सहायक कमाण्डरले भने अमेरिका र ब्रिटेन गत हप्ता जिब्राल्टर नजिकै एउटा इरानी तेल ट्याङ्कर कब्जामा लिएको विषयमा ‍पछुताउनुपर्ने बताएका छन्।

ब्रिटिस सरकारका प्रवक्ताले इरानले गरेको कार्य 'अन्तर्राष्ट्रिय कानुन विपरीत' भएको बताएका छन्।

इरानले गत साता जिब्राल्टरनिर उसको ट्याङ्कर कब्जा गरिएको कार्यको बदला लिने धम्की दिइरहेको थियो।

अवरोध गर्ने प्रयास

तस्वीर कपीराइट EPA

अमेरिकी सञ्चारमाध्यमहरूमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आएका विवरण अनुसार इरानको रिभोल्युसनरी गार्ड कोरको स्वामित्वमा रहेका ठानिएका जहाजहरूले ब्रिटिस हेरिटेज नामक ट्याङ्करलाई खाडीबाट स्ट्रेट अफ होर्मुजतर्फ लग्दै गर्दा अवरोध गर्ने प्रयास गरेका थिए।

गत साता ब्रिटिस रोयल मरिनले जिब्राल्टरमा एक इरानी तेल ट्याङ्कर कब्जामा लिन सघाएका थिए।

सो इरानी ट्याङ्करले युरोपेली संघले लगाएका प्रतिबन्ध उल्लंघन गर्दै सिरिया जान लागेको आशङ्का गरिएको थियो।

उक्त घटनापश्चात् एकजना इरानी अधिकारीले आफ्नो ट्याङ्कर फिर्ता नगरिए बदलास्वरूप एक ब्रिटिस तेल ट्याङ्कर कब्जा गरिनुपर्ने जनाएका थिए।

त्यतिखेर इरानले ब्रिटिस राजदूतलाई डाकेर 'समुन्द्री डकैती' शैलीको विरोध जनाएको थियो।

बुधवार राष्ट्रपति हसन रुहानीले आफ्ना ट्याङ्करको वरपर सैन्य जहाज खटाएर त्रसित मानसिकता प्रदर्शन गरेको भन्दै व्यङ्ग्य गरेका थिए।

यी पछिल्ला घटना इरान र अमेरिकाबीच चर्कँदो तनाव माझ भएका छन्। ट्रम्प प्रशासनले इरानसँगको पारमाणविक सम्झौताबाट आफूलाई अलग्ग्याएको छ। ब्रिटेनसहित युरोपेली देशहरूले भने त्यसो गरेका छैनन्।

तर ब्रिटेन तथा इरानबीचका सम्बन्ध पनि बढ्दो रूपमा तनावग्रस्त बनिरहेको छ। जुनमा दुईवटा तेल ट्याङ्करमा भएका हमलामा इरान 'लगभग निश्चित' दोषी भएको ब्रिटेनको भनाइ रहँदै आएको छ।