तराईमा थुप्रैतिर डुबान, ठूला नदीमा खतराको सङ्केत

  • 13 जुलाई 2019
वर्षा तस्वीर कपीराइट RSS

बिहीवारदेखि देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको अवस्था नाघेको भन्दै कोशी तटिय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको अधिकारीहरूले बताएका छन्।

त्यहाँ सचेत भएर बस्न र सुरक्षित स्थानमा जानका लागि भन्दै दशौँ हजार मोबाइलमा एसएमएस पठाइसकिएको थियो।

अहिलेसम्म सुनसरीमा १०० र उदयपुरमा झण्डै ४५० जना मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख ठाकुर ज्ञवालीले बताए।

शनिवार बेलुकीसम्म देशभरमा बाढी पहिरोका कारण ४३ जनाले ज्यान गुमाउनुका साथै २४ जना हराइरहेको गृह मन्त्रालयले जनाएको छ। बाढी-पहिरोबाट देशभरमा दुई हजारभन्दा बढी मानिसहरू विस्थापित हुन पुगेको गृह मन्त्रालयले जनाएको छ।

बाढीको तह घटाउनका लागि कोशी ब्यारेजका कुल ५६ मध्ये ३६ वटा ढोका खोलिएको र थप ढोकाहरू खोल्नका लागि द्विपक्षीय संयन्त्रसँग छलफल भइरहेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीले बीबीसीलाई बताए।

प्रदेश १ का प्रहरी प्रमुख ज्ञवाली भन्छन्: "नदीको सतह बढे पनि बाढीको तत्काल ठूलो जोखिम देखिएको छैन। तर डुबानले धेरै परिवारलाई असर पारेको छ।"

बाढीको त्रास

वाग्मती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने विन्दुमा पुगेपछि कम्तीमा भोलिसम्मका लागि आसपासका मानिसहरूलाई सुरक्षित राख्ने प्रयास भएको अधिकारीहरूको भनाइ छ।

पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ।

तस्वीर कपीराइट RSS
Image caption भोजपुरमा पहिरोले पुरिँदा तीनजना हराइरहेका छन्।

"थुप्रै मानिसहरू पहिल्यै पहिचान भएका विद्यालयजस्ता सार्वजनिक स्थानमा गएर बस्न थालेका छन् भने कति घरमा पानी छिरेपनि अवस्था सुध्रने आसमा निस्केका छैनन्," सुनसरीका सहायक प्रजिअ गिरीले भने।

"यस जिल्लामा मात्र कम्तीमा एक हजार परिवार प्रभावित भएको हाम्रो प्रारम्भिक आकलन छ।"

शुक्रवार सबैभन्दा बढी पानी परेको भए पनि आइतवारसम्म सतर्क रहन आग्रह गरिएको मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले शनिवार विहान जारी गरेको बुलेटिनमा सोमवारसम्म नै पानी नरोकिने जनाएको छ।

"खहरे खोलाहरूको पूर्वानुमान गर्न सकिँदैन। तर ठूला खोलामा बाढी आउँदा खहरेहरूतर्फ पनि त्यसको प्रभाव भइरहेको देखिन्छ," जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलस्रोतविद् विक्रम श्रेष्ठले बताए।

मझौला र ठूला नदीमा बाढी आएपछि कम्तीमा एक दिनसम्म नघट्ने सम्भावना हुने विज्ञहरू बताउँछन्।

प्रदेश दुईमा धेरै प्रभाव

रौतहट जिल्लाको गौरमा समेत डुबान बढेर पाँच फिटसम्म पुगेकोमा बैरगनिया क्षेत्रको बाँध भत्केपछि निकास मिलेकाले जनजीवन सहज हुन थालेको छ।

भारतीय पक्षसँग छलफल गरेर दशगजा क्षेत्रको बाँध खुलाइएको गृह मन्त्रालयले जनाए पनि अवस्था सामान्य भइनसकेको स्थानीयहरूले बताएका छन्।

तस्वीर कपीराइट RSS
Image caption उद्धार तथा राहतका लागि देशभर २७ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको बताइएको छ।

वर्षाले सबैभन्दा बढी प्रभावित भएको प्रदेश नम्बर २ को अधिकांश भाग डुबानमा परेको अधिकारीहरूले बताएका छन्।

त्यस क्षेत्रका अधिकांश विमानस्थल समेत जलमग्न भएर उडान हुन सकेको छैन।

जनकपुर विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभागको कार्यालयका अनुसार शुक्रवार बिहान पौने ९ बजेदेखि शनिवार बिहान पौने ९ बजे सम्मको २४ घण्टामा सर्वाधिक वर्षा भएको छ।

प्रदेश दुईको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाहरु डुबानमा परेका छन्।

तस्वीर कपीराइट RSS
Image caption डुबानका कारण जनकपुरधामबाट उडान हुने सबै विमान रद्द भएका छन्।

जनकपुरस्थित बीबीसी संवाद्दाता बृजकुमार यादव भन्छन्, "सिराहा नगरपालिकाको पश्चिमी भाग कमला नदीको पानीले डुबाएसँगै जिल्लाको पूर्वी भेगका मानिसहरू त्रासमा छन्।"

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकालाई क्षिरेश्वर नगरपालिकासँग जोड्ने औरही नदीको निर्माणाधीन पुल बगेको छ।

सप्तरी जिल्लाको १८ वटै स्थानीय तह वर्षा र बाढीले प्रभावित भएका छन्। तिलाठी कोइलाडी गाउँपालिकाका प्रहरीहरु डुबानका कारण चौकी छाडेर अन्यत्र सरेका छन्।

बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारलाई उद्धार र राहतमा सहयोग गर्न नेपाली सेनाको हेलिकप्टर सहितको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउन संघीय सरकारलाई आग्रह गरिएको छ।

डोल्पामा बालबालिका बगायो

शनिवार दिनभर परेको अविरल वर्षाका कारण डोल्पा जिल्लाको टासिम खोलामा आएको बाढीले १० जना बालबालिका बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढीले बगाएका १० जना मध्ये एक जनाको शव फेला परेको र ९ जना अझै पनि बेपत्ता रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

उनका अनुसार घट्ट पिस्न गएको अवस्थामा खोलाले घट्ट बगाउँदा उनीहरूलाई सँगै बगाएको हो।

शनिवार परेका कारण घट्ट पिस्न गएका सबै बालबालिका रहेको उनले बताए। १२ देखि १५ वर्ष भित्रका बालबालिका सहित १० वटा पानी घट्ट समेत बगाएको उनको भनाइ छ।

बाढीले बगाएकाहरूको खोज तथा उद्धारको लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको बताइएको छ।

थुप्रैतिर राजमार्ग अवरूद्ध

देशका मुख्य तथा सहायक राजमार्गहरू समेत वर्षाका कारण ठाउँठाउँमा अवरूद्ध भएका छन्। पूर्वपश्चिम राजमार्गको सिमरामा र महोत्तरीमा बाटो अवरूद्ध छ।

महोत्तरीमा रहेको भब्सी खोलाको पुल शुक्रवार राती करिब पौने १२ बगेपछि पूर्वपश्चिम राजमार्गको उक्त खण्ड अवरूद्ध भएको हो।

विपी राजमार्गको मास्तीमा पहिरोले बाटो अवरूद्ध गरेको छ। त्रिभुवन राजपथ, रामेछाप, मकवानपुर सहितका विभिन्न जिल्लालाई काठमाण्डुसँग जोड्ने सडकहरूमा अवरोध देखिएका छन्।

नेपाल प्रहरीले देशभरका विभिन्न राजमार्गमा २० ठाउँमा सडकहरू अवरूद्ध भएको बताउँदै यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध गरेको छ।

सम्बन्धित सामग्री