तरकारीमा विषादी: सर्वोच्च अदालतको आदेशपछि तरकारी र फलफूलमा विषादीको अवशेष मापन पुनः सुरु

  • 14 जुलाई 2019
तरकारी बजार

सर्वोच्च अदालतको आदेशपछि पूर्वी नाकाहुँदै भारतबाट नेपाल आयात गरिने तरकारी तथा फलफूलमा विषादीको अवशेष मापन पुन: सुरु भएको छ।

शुक्रवार अपराह्नदेखि विषादी मापन पुनः थालिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्।

उनले भनिन्, 'मन्त्रिपरिषद्‍ले विषादी मापन कार्य रोक्ने भनेपछि केही दिन नमुना आएन। सर्वोच्च अदालतले मापन गर्ने काम नरोक्नू भनेर आदेश दिएपछि शुक्रवारदेखि भन्सार कार्यालयहरूबाट विषादी मापनका लागि पुनः नमुना पठाउन थालिएको छ।'

दिनमा झन्डै ३० वटा नमुनाको परीक्षण भइरहेको आचार्यले बताइन्।

झापाको बिर्तामोडको कृषि थोक बजार परिसरमा रहेको विषादी अवशेष मापन द्रुत प्रयोगशालामा झापा, मोरङ र सुनसरीका नाकाबाट भारतबाट आयात गरिने तरकारीका नमुना विषादी मापनका लागि ल्याइने गरेको छ।

मापनपछि भन्सार पास

भारतबाट ल्याइने तरकारीका गाडी पहिला भन्सार कार्यालयका यात्रु शाखामा राख्ने गरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए।

उनका अनुसार तरकारीका सवारी साधर भन्सार 'यार्ड'मा नभई यात्रु शाखामा राखिने गरेको छ।

यात्रु शाखाबाट भन्सारको पत्रसहित प्रयोगशालामा तरकारी तथा फलफूलका नमुना पठाइने गरिएको उनले बताए।

अर्यालले भने, 'प्रयोगशालाको रिपोर्ट नआउन्जेल हामी तरकारी तथा फलफूलका गाडी छोड्दैनौँ।'

भन्सारबाट बिहान आएका नमुनाको रिपोर्ट बेलुका र बेलुका आएका नमुनाको रिपोर्ट भोलिपल्ट बिहान दिने गरिएको प्रयोगशालाकी प्राविधिक सहायक आचार्यको भनाइ छ।

अहिलेसम्मको रिपोर्टमा भुइँकटहर र केरामा अलि बढी विषादीको प्रयोग भएको र केही दिन राखेर मात्र खान मिल्ने देखिएको उनले बताइन्।

'कार्बामेट' र 'अर्ग्यानोफोस्फेट'को जाँच

झापामा स्थापित प्रयोगशालाले कार्बामेट र अर्ग्यानोफोस्फेट समूहका विषादीको जाँच गरिने गरिएको पूर्व बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिए।

तर अन्य समूहका विषादीहरुको परीक्षण पनि त्यति नै आवश्यक रहेको उनले बताए।

खरेलका अनुसार 'सिन्थेटिक' र ढुसीनाशक विषादीको मापन पनि अत्यावश्यक छ।

उक्त समूहका विषादी मापनका लागि पनि उपकरणहरू ल्याइसकिएको र चाँडै जडानको प्रक्रियामा रहेको बताइएको छ।

'जानकारी गराइयोस्'

पहिला आफ्ना सागसब्जी पसलबाट र अहिले भन्सारबाट सोझै विषादी मापनको काम थालिएको भए पनि परीक्षणको परिणामबारे आफूहरूलाई कुनै जानकारी नदिइएको तरकारी व्यापारीहरूले बताएका छन्।

विषादीको अवशेषबारे आफूहरूलाई जानकारी गराए कुन तरकारी वा फलफूल नबेच्ने वा थोक विक्रेताबाट आफूहरूले कुन तरकारी नकिन्ने भन्ने निर्णय गर्न सजिलो हुने उनीहरूले बताए।

बिर्तामोडको कृषि बजारकी एक व्यापारी सीता सापकोटा भन्छिन्, "हामी पनि यही तरकारी खान्छौँ। विषादी यति छ यो तरकारीमा भन्दिए हामीलाई कुन किन्ने कुन नकिन्ने भन्ने सजिलो हुन्थ्यो। तर अहिलेसम्म नमुना लगियो, परीक्षण गरियो तर रिपोर्टबारे जानकारी दिइएन।"

सम्बन्धित समाचार