नेपाल मनसुन: अविरल वर्षाका कारण कम्तीमा ६० जनाको मृत्यु, सङ्ख्या अझै बढ्न सक्ने

  • 14 जुलाई 2019
डोल्पा बाढी तस्वीर कपीराइट RSS
Image caption डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने कासिल खोलामा शनिवार दिउँसो आएको बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी गरिँदै

नेपालका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण आइतवार साँझसम्म कम्तीमा ६० जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार घरपरिवार विस्थापित भएका छन्।

सो केन्द्रका उपसचिव वेदनिधि खनालले ३४ घाइतेको उद्धार गरी उपचार भइरहेको बीबीसी नेपाली सेवालाई बताए।

यसअघि सो केन्द्रकी शाखा अधिकृत रमा घिमिरेले विभिन्न जिल्लामा बाढी र पहिरोका कारण धेरै मानिस बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको बताएकी थिइन्।

तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् र त्यहाँ हेलिकप्टर प्रयोग गरेर राहत तथा उद्धारको काम हुँदैछ।

बाढी तथा पहिरोले देशभरि रहेका ११ वटा मार्ग पनि अवरुद्ध भएका छन्।

पानीको बहाव उच्च भएकाले आइतवार बिहान कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए।

बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी खटाइएको अधिकारीहरूले बताएका छन्।

खनालका अनुसार अहिलेसम्म २५ सय जनाको उद्धार गरिएको छ।

उनी भन्छन्, "प्रभावित ठाउँमा विद्युत् आपूर्ति गर्ने प्रयास हुँदैछ तथा ११ वटा क्लस्टरबाट उद्धार, राहत तथा पुनर्लाभको काम गरिँदैछ।"

कहाँ कहाँ भयो मानवीय क्षति?

प्रहरीबाट प्राप्त विवरणका अनुसार काठमाण्डू उपत्यकाको ललितपुरमा पाँच र काठमाण्डूमा तीन जनाको गरी कुल आठ जनाको ज्यान गएको छ भने भोजपुर र रौतहट जिल्लामा पाँच-पाँच जनाको मृत्यु भएको छ।

त्यसैगरी ओखलढुङ्गा, सिन्धुली र मकवानपुरमा चार-चार; खोटाङ र काभ्रेमा तीन‍-तीन; झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा दुई-दुई तथा पाँचथर, इलाम, उदयपुर, सुनसरी, सिराहा,रामेछाप, चितवन, पाल्पा र दाङमा एक-‍एक जनाको मृत्यु भएको छ।

तस्वीर कपीराइट Nepal Police

डोल्पाको कासिल खोलामा शनिवार बाढी आउँदा पानीघट्टमा गएका दुई बालबालिकाको मृत्यु भएको थियो भने केही व्यक्ति अझै हराइरहेका छन्।

वर्षाका कारण घर, गोठ वा पर्खाल भत्किएर, पहिरोले घर बगाएर, खोलामा डुबेर र बाढीले बगाएर मानवीय क्षति भएको बताइएको छ।

प्रहरीको तथ्याङ्कले डोल्पामा सात जना, सिन्धुलीमा चार जना तथा मोरङ र इलाम तीन‍-तीन जना हराइरहेको देखाएको छ।

प्रहरीका अनुसार महोत्तरीको झप्सी खोलामा पुल भत्किएपछि अवरुद्ध भएको महेन्द्र राजमार्ग आइतवार बिहानदेखि पानीको बहाव घटेपछि वैकल्पिक मार्ग हुँदै एकतर्फी सञ्चालनमा आएको छ।

त्यसैगरी सिन्धुलीको गलनजोर र सुनकोशी गाउँपालिकामा पहिरोका कारण बीपी राजमार्गमा पनि सवारीसाधनहरू एकतर्फी रूपमा चलिरहेका छन्।

तस्वीर कपीराइट Nepal Police

विभिन्न स्थानमा पहिरो गएकाले कुलेखानी मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

के छ पूर्वानुमान?

बाढी पूर्वानुमान शाखाले आइतवार पनि प्रदेश नं १, २ र ३ मा अवस्थित चुरे क्षेत्रमा थप वर्षा भएर साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने जनाएको छ। ती नदीमध्ये रातो, खाँडु र त्रियुगा पनि छन्।

महाशाखाले आइतवार बिहान प्रकाशित गरेको बाढी बुलेटिनमा भनिएको छ, "चुरेबाट बहने ससाना नदी जलाधारहरूमा थप वर्षा हुने र आकस्मिक बहाव हुन सक्ने देखिएकाले अस्तिदेखि नै डुबान भइरहेका क्षेत्रहरूमा सतर्कता कायम राख्नु जरुरी देखिन्छ।"

तर शनिवारसम्म उच्च जोखिममा रहेका ठूला नदीनाला भने आइतवारबाट सतर्क रहनुपर्ने अवस्थामा ओर्लिएका छन्।

तस्वीर कपीराइट RSS

मौसमविद्हरूका अनुसार कोशी, कमला, कन्काई, पश्चिम राप्ती, वाग्मती र बबई आदि प्रमुख तथा मझौला नदीमा भने अहिले ठूलो जोखिम देखिँदैन र सोमवारबाट सबै नदीहरू सामान्य अवस्थामा फर्किन थाल्नेछन्।

आगामी तीन दिन देशका प्राय: भूभागमा क्षणिक वा मध्यम वर्षा हुने तर त्यो क्रम बिस्तारै कम हुने भए पनि पहाडी तथा चुरेका कमजोर भूबनोट भएका पहिरोग्रस्त क्षेत्र अविरल वर्षका कारण गलेका हुनाले पहिरोको उच्च सतर्कता कायम राख्न आवश्यक भएको मौसमविद्हरूले जनाएका छन्।

किन देखियो जटिलता?

काठमाण्डू र तराईमा यसअघि अहिलेको भन्दा ठूलो वर्षा भएको भए पनि यसपालि धनजनको बढी क्षति भएको देखिन्छ।

विज्ञहरू भौतिक पूर्वाधारमा भएका कमजोरीका कारण मध्यम खालको वर्षामा पनि ठूला जटिलता देखिन थालेको बताउँछन्।

तस्वीर कपीराइट RSS
Image caption विमानस्थल जलमग्न भएका कारण शनिवार जनकपुरधामबाट हुने सबै उडान स्थगित भएका थिए

"सहरमा हुने डुबानका कारण हाम्रो जल निकासको पूर्वाधार वर्षालाई हेरेर तयार पारिएको नहुनु हो भने फोहोर व्यवस्थापन र कङ्क्रिटको सतह अवैज्ञानिक ढङ्गबाट बढ्नु हो," विभागका मौसमविद् मीनकुमार अर्यालले बीबीसीलाई भने।

चुरे क्षेत्रमा भएका प्राकृतिक स्रोतको दोहन बढ्दै जानुले पनि ठूला नदी र खहरेखोलाहरूबाट बग्ने ढुङ्गा, माटो र गेगर नदीमा मिसिँदा पानीको सतह र निकासमा समस्या हुने गरेको मौसमविद् अर्याल बताउँछन्।

तर कतिपय विज्ञहरू भने चुरे संरक्षणका नाममा त्यहाँबाट केही पनि उपभोग गर्न नहुनेगरी बहस र पैरवी चलाउँदा त्यसको असर तराईमा नदी आसपासका क्षेत्र डुबानमा परेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालको भूगर्भशास्त्र केन्द्रीय विभाग अन्तर्गतको भूविपद् अनुसन्धान केन्द्रका सहप्राध्यापक रञ्जनकुमार दाहाल भन्छन्, "चुरेको आफ्नै एउटा प्रक्रिया छ। त्यहाँबाट निस्कने गेगर जम्मा भएर खोलाको सतह बढेपछि पानी समथर ठाउँमा छिर्न थालेको छ।"

"चुरेका नदीमा ढुङ्गा, गिटी, बालुवा थुप्रने क्रमलाई नाप्ने संयन्त्र हामीकहाँ छैन।"

सम्बन्धित सामग्री

सम्बन्धित समाचार