नेपाल मनसुनः मृतकको सङ्ख्या ६७

  • 15 जुलाई 2019
बाढी तस्वीर कपीराइट RSS

नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६७ पुगेको नेपाल प्रहरीले जनाएको छ।

मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ महिला रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

अहिलेसम्म ३० जना बेपत्ता र ४३ जना घाइते भएको प्रहरीले जनाएको छ।

सबैभन्दा बढी ललितपुर, भोजपुर र रौतहटमा पाँच-पाँच जना गरी १५ जनाको ज्यान गएको छ।

सिन्धुली, सिरहा, ओखलढुङ्गा र मकवानपुरमा चार-चार गरी १६ जनाको ज्यान गएको छ।

काभ्रे, धनुषा, खोटाङ र काठमाण्डूमा तीन-तीन जना गरी १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यसैगरी बारा, पर्सा, झापा, उदयपुर, महोत्तरी, धादिङ र डोल्पामा दुई-दुई गरी १४ जनाको मृत्यु भएको छ।

तस्वीर कपीराइट Nepal Police

देशका विभिन्न ठाउँमा अविरल वर्षाले ल्याएको बाढी तथा पहिरोका कारण अझै ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्रभावित क्षेत्रमा २५ सयभन्दा बढी मानिसको उद्धार गरिएको छ।

खासगरी तराईका जिल्लामा कतिपय गाउँ नै डुबानमा परेकोले विस्थापितहरूको यकिन विवरण आउन बाँकी रहेको नेपाल प्रहरीका सहप्रवक्ता थापाले बताए।

सरकारले भने बाढी र पहिरोका कारण कम्तीमा पनि १० हजार परिवार विस्थापित भएको जनाएको छ।

वर्षा विस्तारै कमजोर

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा विस्तारै कमजोर हुँदै गइरहेको छ।

"मनसुनको न्यून चापिय रेखा नेपालभन्दा दक्षिणी भूभागतिर सरेको अवस्था छ। यद्यपि मनसुन केही मात्रामा भने सक्रिया नै छ। सोमवार पूर्व र पश्चिमका थोरै अनि मध्यका एक दुई स्थानमा भारी वर्षा हुनसक्छ," उनले भनिन्।

उनका अनुसार मङ्गलवार र बुधवार अविरल वर्षा हुने सम्भावना कमै छ तर एक दुई स्थानमा भारी वर्षा हुन सक्छ।

बाटो कहाँ कहाँ अवरुद्ध छ?

बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ।

  • भट्टेडाँडा-आग्राङ-टुङगुन जाने शान्ति लोकपथको हेटौँडा जाने सडकखण्ड
  • इन्द्रसरोवर गाउँपालिका-२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडकखण्ड
  • जनकपुरबाट जलेश्वर जाने सडकखण्ड
  • फिकल गाउँपालिका-६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो गई मध्यपहाडी लोकमार्ग
  • मानेभज्याङ गाउपालिका-७ सिद्धिचरण राजमार्ग
  • गगने खोलामा पहिरो खसेर सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग
  • भोजपुर नगरपालिका-१० स्थित गजुरमुखी भीरमा पहिरो खसरे भोजपुर-धनकुटा सडकखण्ड
  • नासो गाउँपालिका-१ म्यादीखोलामा पानीको बहाव बढी बेँसीसहर-मनाङ सडक
  • मुस्ताङ थासाङ गाउँपालिका-४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढी बेनी-जोमसोङ जाने सडक
तस्वीर कपीराइट RSS

प्रहरीका अनुसार कुलेखानी सरोवरमा बिहान पानी बढ्ने क्रम बढिरहेको भए पनि अहिले बढ्ने दर घटेको हुँदा टर्बाइनबाट नै नियन्त्रित निकास भइरहेको छ ।

यसअघि प्रहरीले त्यसलाई खोल्न सुरु गरिने जनाएको थियो।

सम्बन्धित सामग्री