कुख्यात ‘एल च्यापो’ लाई आजीवन कारावासको सजाय

  • 17 जुलाई 2019
एल च्यापो तस्वीर कपीराइट Reuters

अमेरिकाको एउटा अदालतले मेक्सिकोका कुख्यात लागुऔषध कारोबारका नाइके ह्वाकिन 'एल च्यापो' गुज्मानलाई जन्मकैदका साथै अतिरिक्त ३० वर्षे जेल सजाय सुनाएको छ।

यसै वर्षको सुरुवातमा न्युयोर्कस्थित अदालतले हत्याको षड्यन्त्र र कैयौँ टन कोकिन, हिरोइन र गाँजा तस्करीको आरोपमा उनलाई दोषी पाएको थियो।

सिनालोआ सञ्जाल

६० वर्षीय उनी सिनालोआ कार्टेल भनेर चिनिने लामो समयसम्म मेक्सिकोमा आतंक मच्चाएको एउटा हिंस्रक अपराधी समूहका नेता रहेका थिए।

सिनालोआ नामक उक्त सञ्जाल अमेरिकामा लागुऔषध तस्करी गर्ने सबभन्दा ठूलो आपूर्तिकर्ता रह्यो।

जेलबाट सुरुङ खनेर भागेका गुजमानलाई सन् २०१६ को जनवरीमा फेरि पक्राउ गरिएको थियो।

त्यसपछि उनलाई अमेरिका सुपुर्दगी गरियो।

के भने एल च्यापोले?

बुधवारको सजाय घोषणाभन्दा अगाडि अनुवादकको माध्यमबाट बोल्दै गुज्मानले उनलाई अमेरिकामा राखिएको कैदखाना 'चौबिसै घण्टा मनोवैज्ञानिक, भावनात्मक तथा मानसिक यातना' बराबर भएको बताएका थिए।

आफूमाथि अन्यायपूर्ण मुद्दा चलाइएको उनले बताए।

उनले पाएको अतिरिक्त ३० वर्षको जेल सजाय हतियारको अवैध प्रयोगका लागि हो।

साथै उनलाई साढे १२ अर्ब डलर जरीबाना पनि लगाइएको छ।

अधिकारीहरूका अनुसार गुज्मानलाई अत्यधिक सुरक्षा सहितको कोलोर्‍याडोस्थित जेलमा राखिने जनाएका छन्।

सजायविरुद्ध गुज्मानले अपिल गर्नेछन् वा छैनन् भन्ने प्रस्ट छैन।