अनाथ बच्चालाई स्तनपान गराउने स्वयंसेवी आमा

  • 20 जुलाई 2019
स्तनपान गराउने आमा तस्वीर कपीराइट BINITA DAHAL/BBC

गत वर्ष माघ महिनामा नक्सालस्थित बालमन्दिरमा उद्धार गरी ल्याइएका एक नवजात शिशुलाई जोगाउन "कुनै आमाको स्तनपान नै गराउनुपर्ने" सुझाव चिकित्सकले दिए।

ललितपुर इमाडोलको एउटा उजाड ठाउँमा फालिएको अवस्थामा ती बालकलाई एक स्थानीय महिलाले भेटेकी थिइन्।

निकै कम तौल भएका र कुपोषित ती शिशुलाई नाइटो सुन्निने 'अम्बिलिकल हर्निया' भनिने रोग थियो।

ढाड सोझो पारेर बल्लबल्ल बोतलबाट खुवाए पनि प्रमिस नाम दिइएका ती शिशुको पेटसम्म दूध पुग्नै सक्दैनथ्यो, नाकबाट निस्किहाल्थ्यो।

उनको उपचारमा खटिएका डाक्टरले बालमन्दिरका निर्देशक बालकृष्ण डङ्गोललाई बचाउन सकिने एउटै उपाय सुझाएका थिए- स्तनपान।

त्यतिबेला डङ्गोलकी श्रीमती अनिता कुम्पाखा आफैँ झन्डै चार महिनाकी सुत्केरी थिइन्। डङ्गोलले प्रमिसलाई जोगाउन स्तनपान गराउने सल्लाह श्रीमती अनितासँग गरे। उनी सहमत भइन्।

"उहाँले प्रमिसको अवस्थाबारे भन्नेबितिक्कै कुन बेला आएर दूध खुवाउन पाए हुन्थ्यो जस्तो लाग्यो," बुधवार बालमन्दिरमा पाँच महिनाका प्रमिसलाई काखमा लिएर स्तनपान गराउँदै अनिताले बीबीसी नेपालीसँग भनिन्।

स्तनपान कार्यक्रम

अनिताले प्रमिसलाई स्तनपान गराएपछि उनको नाकबाट दूध निस्कन छोड्यो।

उनको स्वास्थ्यमा आएको परिवर्तन देखेर नै डङ्गोलले बालमन्दिरमा भएका अन्य शिशुलाई पनि स्तनपान गराउने उपायबारे सो‍चे।

त्यसबारे बालमन्दिरमा सहकर्मीहरूसँग सल्लाह गरेर सबैको सहमतिपछि गत फागुन २० गतेबाट 'स्तनपान कार्यक्रम' सुरु भयो।

पचपन्न वर्षअघि स्थापित बालमन्दिरको इतिहासमा त्यसरी टुहुरा शिशुले पहिलोपटक आमाको दूध खान पाए।

स्वयंसेवी आमा

अहिले बालमन्दिरमा प्रमिसजस्तै छ महिनामुनिका १५ बच्चाहरू छन्। उनीहरू सबैले आमाको दूध खान पाएका छन्।

त्यसका लागि अनिताजस्ता पाँच महिलाहरू नियमित रूपमा बालमन्दिर जान्छन्। कोही दैनिक त कोही दिन बिराएर ती बालबालिकालाई स्तनपान गराउँछन्।

कार्यक्रम सुरु भएको १० दिनसम्म अनिता एक्लैले स्वयंसेवा गरेकी थिइन्।

तस्वीर कपीराइट BINITA DAHAL/BBC

पछि बालमन्दिरले अरू आमा खोजी गर्न त्यहाँ काम गर्न आउने स्वयंसेवी छात्रछात्राको सहायता लियो।

त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा 'सोशल वर्क' विषय पढिरहेका विद्यार्थीले छ हप्ता बालमन्दिरमा स्वयंसेवकका रूपमा काम गर्नुपर्छ।

त्यस्तै मध्येकी एक छात्राले स्वयम्भूस्थित छिमेकी घरमा डेरा गरेर बस्ने सुनिता श्रेष्ठलाई त्यसबारे भनिन्। अहिले सुनिता पनि आफ्नो समय मिलाएर बालमन्दिरमा बच्चाहरूलाई दूध खुवाउन आउँछिन्।

चाबहिलमा डेरा गरेर बस्ने २७ वर्षीया सुबिना देउला अर्की स्वयंसेवी आमा हुन्।

उनका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरब जाँदा उनी चार महिनाकी गर्भवती थिइन्। अहिले पाँच वर्षीया छोरी र चार महिनाको काखे छोरा लिएर उनी बालमन्दिर धाउँछिन् - जागिरेका रूपमा होइन, स्वेच्छाले स्तनपान गराउन।

पहिला बालमन्दिरमै सरसफाइको काम गर्ने उनले सुत्केरी भएको केही सातादेखि नै अनाथ बालबालिकालाई दूध खुवाउन थालिन्।

"म सुत्केरी बिदामा बसिरहेको बेला यहाँको सरले मिल्छ भने स्तनपान गराउन आउनूस् भन्नुभयो। अनि म आउन थालेँ," देउला भन्छिन्।

अवस्थामा सुधार

झन्डै २० वर्षदेखि बालमन्दिरमा 'हाउस मदर' को रूपमा बालबालिका रेखदेख गर्ने काम गर्दै आएकी विमला खड्का स्तनपान गर्न पाएका बच्चामा आएको सुधार देखेर प्रभावित भइन्।

सुन्दरीजलस्थित आफ्नो घरछेउ सुत्केरी भएकी सानू नगरकोटीले आफ्नो बच्चालाई दूध बढी भएर फालिरहने गरेको खड्काले थाहा पाइन्।

उनले बालमन्दिरको 'स्तनपान कार्यक्रम' बारे सानूलाई भनिन्।

अट्ठाइस वर्षीया सानूलाई पनि अनिता र सुबिनालाई जस्तै कुरा सुन्नेबितिक्कै आफ्नो बढी भएको दूध कुनै अर्को बच्चालाई खुवाउन पाए हुन्थ्यो भन्ने लाग्यो।

"मैले घरमा भनेपछि श्रीमान् पनि खुसी हुनुभयो। समय मिलाएर म प्राय: दिउँसो २ बजे बच्चाहरू ननिदाएको बेला पारेर आउँछु," सानूले भनिन्।

उपत्यकाको उत्तरी छेउ सुन्दरीजलबाट नक्साल आइपुग्न उनलाई डेढदेखि दुई घण्टा लाग्छ।

तर पनि यो काम जोसुकैले गर्न नसक्ने भएकाले स्वेच्छाले आइरहेको उनी बताउँछिन्।

"मलाई त आमाको दूध खुवाउने काम जो पायो उसैले गर्न नसक्ने धर्म हो जस्तो लाग्छ," सानू सगौरव भन्छिन्।

डङ्गोलका अनुसार आफ्नो बच्चालाई दूध पुगेर खेर जाने अवस्था भएका अनिता, सानू र सुबिनाजस्तै आमाहरूलाई लक्षित गरेर 'स्तनपान कार्यक्रम' चलाइएको हो।

यो पनि पढ्नुहोस्

बालमन्दिरकै कर्मचारीहरूको पहलमा सुरु भएको यो अभियानमा केही बाहिरका आमा पनि जोडिन आइपुगे।

बालमन्दिरमा आइपुग्ने प्राय: नवजात शिशु कम तौलका र अस्वस्थ हुन्छन्।

"कोही कतै फालिएका आउँछन् वा पर्याप्त स्याहारसुसार नपाएका आउँछन्। बोतलको मात्रै दूध खुवाएर उनीहरूमा यति छिटो परिवर्तन आउँदैन," विमला खड्का भन्छिन्।

तस्वीर कपीराइट BINITA DAHAL/BBC

बोतलमा आमाको दूध

बालमन्दिरका निर्देशक डङ्गोलका अनुसार स्तनपान कार्यक्रमबारे थाहा पाएपछि हितेरी नामक एउटा संस्थाले पनि सामाजिक अभियानको प्रचारप्रसार र सहायता उपलब्ध गराउने विषयमा सहयोग गरिरहेको छ।

स्तनपान कार्यक्रममा नेपाली नाम रिना रहेकी एक रुसी महिला पनि त्यसैगरी जोडिएकी हुन्।

नेपाली नागरिकसँग विवाह गरेकी रिना पहिलापहिला आफैँ बालमन्दिरमा स्तनपानका लागि आउँथिन्।

अहिलेचाहिँ उनलाई समय दिन गाह्रो छ। त्यसको उपायका लागि उनले बोतलमा दूध पठाउने गरेकी छन्।

त्यसरी बालमन्दिरमै आउन गाह्रो हुने आमाहरूलाई बोतल वितरणको कार्यक्रम पनि राखिएको छ।

"हाम्रो उद्देश्य जसरी पनि कम्तीमा छ महिनामुनिका बच्चाले आमाकै दूध खान पाऊन् भन्ने हो। यदि आमाहरू आउन सक्दैनन् भने हामीले बोतलमा ल्याएर खुवाउने योजना पनि अगाडि बढाएका छौँ," डङ्गोलले भने।

बोतलमा राखिएको आमाको दूध कति समयसम्म खुवाउँदा बिग्रिँदैन भनेर बालमन्दिरले चिकित्कहरूसँग पनि परामर्श गर्‍यो।

कम्तीमा आठ घण्टाभित्र दूध खुवाउँदा पूर्ण रूपमा सुरक्षित हुने थाहा पाएपछि अरू सुत्केरी महिलालाई त्यसरी दूध उपलब्ध गराउन प्रोत्साहन गर्न खोजिरहेका छन्।

चुनौती

कार्यक्रम सुरु भएको करिब पाँच महिना पुग्न लाग्दा बालमन्दिरले अर्को नयाँ चुनौतीको सामना गरिरहेको छ।

पहिला आएका केही स्वयंसेवी आमाहरू अहिले स्तनपान गराउन आउन छोडेका छन्।

अर्काको बच्चालाई दूध खुवाउँदा त्यसले आफ्नो बच्चालाई 'रुन्चे लाग्ने' वा अरू रोग सर्ने सुनेर केही महिलाहरू पछि आउन छोडे।

"बुझ्दै जाँदा थाहा भयो उहाँहरूलाई अनाथ बच्चालाई दूध खुवाउँदा आफ्नो बच्चालाई उनीहरूको रोग सर्ने डर लागेको रहेछ," डङ्गोल भन्छन्, "अब हामी त्यस्तो गलत बुझाइ चिर्ने प्रयास गर्दैछौँ।"

अहिले बालमन्दिर फेरि अरू आमाहरूको खोजी गरिरहेको छ।

नयाँ उपाय

त्यस्तो प्रयासका लागि डङ्गोल र उनका साथी रामकुमार श्रेष्ठले एउटा उपाय निकाले- काठमाण्डूका विभिन्न वडा कार्यालयमा गएर बच्चालाई खोप लगाउने दिन त्यहाँ आएका सुत्केरी आमालाई स्तनपान कार्यक्रमबारे बताउने।

"हामीले वडामा गएर महिलाहरूलाई यदि उहाँहरू स्तनपान गराउने अवस्थामा भए बालमन्दिरका बच्चालाई सहयोग गरिदिनूस् भनेर आग्रह गर्छौं," श्रेष्ठ भन्छन्।

"तर उहाँहरू हाम्रो अनुरोधबाट मात्रै त्यतिधेरै आश्वस्त भएजस्तो लागेन। अनि अहिले हामी एउटा भिडिओ बनाउँदैछौँ जसमा स्तनपान गराउँदा हुने फाइदा र त्यसले बच्चा तथा आमालाई कुनै असर गर्दैन भन्ने डाक्टरको सन्देश पनि राख्छौँ।"

स्तनपान कार्यक्रमबारे सुनेर सुरुमा उत्साही भई आउने महिलाहरू केही दिनपछि आफैँ सम्पर्कमा आउन नखोज्ने गरेको देखेपछि बाल मन्दिरले यो उपाय अपनाएको हो।

ती महिलाको चासोबारे उनले पाटन अस्पतालको शिशु विभागमा कार्यरत नर्स रश्मिला वज्राचार्यसँग पनि परामर्श गरे।

दूध खुवाएर बच्चाको रोग आमालाई वा आमाको रोग बच्चालाई सर्ने होइन भन्ने सन्देश दिने सामग्री वज्राचार्यले डङ्गोललाई दिइन्।

स्तनपानको कार्यक्रम काठमाण्डूमा सफल भए देशभरिका बालमन्दिरमा विस्तार गर्ने योजना रहेको डङ्गोल बताउँछन्।

सुविधा

केही महिलालाई बालमन्दिरसम्म आउन यातायात असहज हुने गरेको देखिएपछि श्रेष्ठले आफ्नो मोटरसाइकलमा ती महिलालाई ल्याइदिने गरेका छन्।

आफैँ आउने केहीलाई बालमन्दिरले यातायात खर्च पनि दिने गरेको डङ्गोलले बताए।

स्तनपानका लागि आमाहरूलाई बालमन्दिरमा एउटा छुट्टै कोठाको व्यवस्था गरिएको छ। उनीहरूलाई एक समयको खाजा पनि खुवाइन्छ।

त्यो कोठामा स्तनपान गर्न जाने महिलालाई बस्ने, उनीहरूका सन्तानलाई सुताउने कोक्रो छ।

त्यसबाहेक सरसफाइका लागि चाहिने 'ह्यान्ड स्यानिटाइजर' देखि टिशूपेपर, डाईपर आदि अन्य सामग्री पनि छन्।

स्वयंसेवी आमाको सङ्ख्या कम हुँदा अहिले बालमन्दिरका सबै १५ शिशुले दैनिक स्तनपान गर्न पाएका छैनन्। अवस्था विचार गरेर प्राथमिकताअनुसार उनीहरूलाई पालैपालो दूध खुवाउने गरिएको छ।

यहाँ आउने आमाहरू कि त बिहान १० बजेको समयमा आउँछन् कि दिउँसो २ बजे। यो बच्चा उठ्ने समय अनुसार मिलाइएको हो।

अहिले स्तनपान गराउने अनिता कुम्पाखा, सुनिता श्रेष्ठ, सुबिना देउला, सानू नगरकोटी, रिनाबाहेक अरू महिला पनि केही दिन आएका थिए। तर पछि उनीहरू सम्पर्कविहीन भए।

स्तनपान गराउने आमाको अनुभव

असार अन्त्यतिर लगातार चार दिन पानी पर्दा ललितपुर ग्वार्कोकी स्वयंसेवी आमा अनिता कुम्पाखा बाल मन्दिर आउन पाइनन्।

झरीमा दश महिनाको कान्छो छोरा बोकेर मोटरसाइकलमा आउने आँट उनलाई आएन।

"जताजतै बाटोभरि पानी नै पानी। एक जना मात्रै मोटरसाइकलमा गुड्न त गाह्रो थियो। बच्चा च्यापेर मोटरसाइकलको पछाडि बसेर बच्चा बोक्ने आँट नै आएन," उनले भनिन्, "त्यो बेला प्रमिसलाई देख्न नपाएर कस्तो छटपटी भयो।"

प्रमिस तिनै बालक हुन् जसबाट स्तनपानको यो अभियान सुरु भएको थियो।

उनका अनुसार प्रमिसलाई सुरुका दुई-चार दिन दूध चुसाउन निकै गाह्रो भयो।

उमेर अनुसारको तौल भएको छोरो बोकिरहेकी अनितालाई प्रमिस त काखमै हराउला जस्तो लाग्थ्यो।

"काखमा लिँदा पनि निकै जतन गर्नुपर्ने अनि पछि त उसले जान्यो। उसको स्वास्थ्यमा पनि निकै परिवर्तन आयो," अनिताले भनिन्।

"मैले शिवरात्रिको दिनबाट प्रमिसलाई बालमन्दिरमै आएर दूध खुवाउन थालेँ। उसलाई बचाउन सकेँ भन्ने जुन खुसी मैले महसुस गरेकी छु म त्यो शब्दमा व्यक्त गर्नै सक्दिनँ।"

शब्दमा व्यक्त गर्नै नसकिने यस्तै अनुभव आफ्नो पनि रहेको सानू र सुबिनाले बताए।

"हामीले यति साना नानीहरूलाई दूध खुवाउन पाएका छौँ। अरू के धर्म गर्नुपर्छ र?" सुबिनाले भनिन्।

उनको कुरामा सही थप्दै सानुले पनि आफूलाई निकै आत्मसन्तुष्टि मिल्ने बताइन्।

"बच्चाहरूसँग एउटा छुट्टै सम्बन्ध बन्दै जाँदोरहेछ। पहिला गाह्रो हुन्थ्यो बानी लगाउन, अहिले खुवाउन गाह्रो हुन्न। उनीहरू हुर्किएको हेर्दा हामीलाई पनि खुसी लाग्छ नि," २८ वर्षीया सानू नगरकोटीले भनिन्।

"कतिपय आमाहरू रोग सर्ने डरले यहाँ आउन छोडेको भन्ने पनि सुनियो। तपाईँहरूलाई त्यस्तो डर लाग्दैन?"

प्रश्न नसकिँदै अनिताले ठूलो हाँसोसहित प्रतिक्रिया दिइन्, "हेर्नूस् त्यस्तो डर हुँदो हो त सायद अहिले प्रमिस बाँचेकै हुँदैन थियो। प्रमिसको रोग मेरो बच्चालाई वा मलाई सरिसक्थ्यो होला। खोइ हामी तीनै जनालाई केही भएको छैन।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बृहद् स्तनपान मेला

सम्बन्धित समाचार