अमेरिका-इरान तनाव: लडाकु विमानसहित अमेरिकी सेना साउदी अरब जाने

  • 20 जुलाई 2019
अमेरिकी सेनाका उच्च अधिकारी साउदी अरबमा तस्वीर कपीराइट AFP

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले "विद्यमान खतरा"बाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरब पठाइने बताएको छ।

खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्ने यो कदम चाल्न लागेको हो।

राजा सलमानले "क्षेत्रीय सुरक्षा र स्थायित्वका लागि" अमेरिकी सेना परिचालन गर्ने विषयलाई स्वीकृति दिइसकेको पुष्टि साउदी अरबले गरेको छ।

इराक युद्धपछि साउदी अरबले सन् २००३ यता अमेरिकी सेना आफ्नो देशमा राखेको छैन।

इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९९१ मा साउदी अरबमा अमेरिकी सेना बस्न थालेका थिए।

बीबीसीका उत्तर अमेरिका संवाददाता पिटर बोसका अनुसार अमेरिकाले पाँच सय सैनिकसहित प्याट्रिअट एअर डिफेन्स मिसाइल ब्याटरीहरू प्रिन्स सुल्तान बेसमा रहने बुझिएको छ।

तस्वीर कपीराइट AFP

अमेरिकाले एफ-२२ लडाकु विमानहरू पनि पठाउनेछ।

यूएस सेन्ट्रल कमान्डले प्रकाशित गरेको एउटा विज्ञप्तिमा सैन्य शक्तिको परिचालनले अनपेक्षित रूपमा सिर्जित खतराबाट सो क्षेत्रमा अमेरिकी सेना र स्वार्थको रक्षा गर्न थप बल पुग्ने उल्लेख छ।

पहिला के भएको थियो?

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू छुट्टिएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको हो।

तस्वीर कपीराइट Reuters

त्यतिबेलादेखि नै अमेरिकाले इरानविरुद्ध पुन: प्रतिबन्ध लगाएको छ।

गत महिना आफ्नो सीमामा अनधिकृत प्रवेश गरेको भन्दै इरानले स्ट्रेट अफ होर्मुजको सामुद्रिक मार्गमा एउटा अमेरिकी ड्रोन खसालिदिएको थियो। तर अमेरिकाले सो ड्रोन समुद्रमाथि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको दाबी गरेको छ।

अमेरिकाले आइतवारदेखि इरानी सेनाको नियन्त्रणमा रहेको पानामाको एउटा ट्याङ्कर र त्यसको चालकदलका १२ सदस्य मुक्त गर्न इरानलाई आह्वान गरेको छ।

गस्तीका क्रममा उक्त तेलवाहक ट्याङ्करलाई इरानको रेभ्युलूशनरी गार्ड्सले तस्करीमा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएको बताएको छ।

बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको पानीजहाजनजिकै आएको एउटा इरानी ड्रोन नष्ट पारिएको दाबी गरेका थिए। तर इरानले त्यसको खण्डन गरेको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
इरानले आफ्नो ड्रोन सकुशल रहेको दाबी गरेको छ

इरानले यूकेको झण्डा अङ्कित एउटा तेलवाहक ट्याङ्कर शुक्रवार आफ्नो नियन्त्रणमा लिएको छ। सो ट्याङ्करले नियम उल्लङ्घन गरेको तेहरानको आरोप छ।

यूकेका विदेशमन्त्री जेरमी हन्टले उक्त ट्याङ्करलाई तत्काल नछोडिए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेल ट्याङ्करमा भएको आक्रमणमा पनि इरान संलग्न भएको अमेरिकाको आरोप छ। तर इरानले त्यसको खण्डन गर्दै आएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अमेरिका-इरान सम्बन्ध किन तीतो?

सम्बन्धित समाचार