ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन्

  • 21 जुलाई 2019
Illustration

रुसमा हरेक वर्ष आफ्नै बच्चा मारेको अभियोगमा कैयौँ महिलामाथि मुद्दा चलाइन्छ। आरोपितमध्ये धेरै चाहिँ बच्चा भएका गृहिणीदेखि सफल व्यावसायिक व्यवस्थापकसम्म छन्।

यो रुसको मात्रै समस्या भने अवश्य पनि होइन। संयुक्त राज्य अमेरिकामा हरेक चार आमामध्ये एकमा आफ्ना बच्चा मार्ने विचार आउने गरेको अनुमान मनोविद्‌हरूको छ।

सन् २०१४ मा गरिएको एक अध्ययनले न्याय मन्त्रालयको ३२ वर्षको तथ्याङ्क हेर्दा बच्चाको हत्या आँकडा अन्य सबै हत्याको १५ प्रतिशत रहेको देखाउँछ।

एउटा अध्ययनमा सन् १९७६ देखि १९९७ सम्ममा बाबुआमाले ११ हजार बच्चाको हत्या गरेको उल्लेख छ। औसतमा यसले एक वर्षमा ३४० भन्दा बढी बच्चाको हत्या हुने देखाउँछ।

तर रुसमा अन्य कैयौँ मुलुकमा जस्तै बाँच्नका लागि तपाईँ बलियो हुनुपर्ने र मानसिक स्वास्थ्यबारे नबोल्नु नै राम्रो हो भन्ने ठानिन्छ र तपाईँ जीवनमा अगाडि बढिरहनुपर्छ।

यी कथाले बच्चा जन्मने बित्तिकै हुने मानसिक अवसादको धेरैजसो पहिचान नहुने गरेको देखाउँछन्।

त्यसैले समयमा उपचार नहुने गरेको पनि देखाउँछन्। र, धेरैजसो दु:खद अन्त्य नभएसम्म नजिकका नातेदारले पनि के भइरहेको हो भन्ने बुझ्न विफल रहने देखाउँछन्।

समाजमा र्जित

बीबीसी रुसी सेवाका पत्रकारहरू ओलेस्या गेरासिमेङ्को र स्वेटलाना राइटरले किन आमाहरू आफ्नै बच्चाको हत्या गर्छन् भन्ने कुरा पत्ता लगाउन रुसी महिलाहरूसँग कुराकानी गरेका छन्।

उनीहरूको अनुसन्धानले मातृत्वबारे रहेको मिथक कसरी भत्काउन आवश्यक छ र धेरै महिलाहरूमाथि पर्ने चरम बोझ र दबाबको वास्तविकताबारे बोल्न आवश्यक छ भन्ने देखाएको छ। त्यसो गरियो भने बच्चा मार्ने कार्य नहुन सक्छ।

अल्योना

अल्योना आफ्ना श्रीमान् प्योटरसँग खुशी वैवाहिक सम्बन्धमा थिइन् र बच्चा पाउन लागेकोमा रोमाञ्चित पनि।

उनीहरूले बच्चाका लागि लुगाहरू र उसलाई लिएर हिँड्ने बग्गी किने।

अल्योना बच्चा पाउनु अघिका कक्षाहरूमा सहभागी भइन्। तर त्यस्ता कक्षामा कसैले पनि नयाँ आमा बन्दा हुने मानसिक समस्याबारे बोल्दै बोलेन।

बच्चा जन्मेपछि अल्योनालाई निद्रा नपर्ने समस्या विकास भयो र उनले त्यसलाई झेल्न नसकेको बताइन्।

उनलाई पहिले केही मानसिक समस्या भएको थाहा भयो र मनोचिकित्सकले उनलाई औषधि दिएपछि केही सहयोग पनि भयो।

एक दिन प्योटर घर आउँदा सात महिनाको बच्चा बाथटबमा मृत अवस्थामा फेला पारे र पछि अल्योना मस्को शहरको बाहिरी भागमा एउटा तालको छेउमा फेला परिन्।

बच्चालाई पानीमा डुबाएपछि अल्योनाले एक बोतल भोड्का पिइन् आफू पनि डुब्न खोजिन् र होस गुमाइन्। अहिले उनीविरुद्ध मुद्दा चलिरहेको छ।

दुःखी प्योटर अल्योनाको मुद्दाको हरेक सुनुवाइमा जान्छन् र कठघरामा बसेकी उनलाई सम्झाउन खोज्छन्।

यदि अल्योनालाई कसैले बच्चा पाएपछि हुने मानसिक अवसादबारे भनिदिएको भए अहिले भइरहेका सबै कुरा रोक्न सकिन्थ्यो भन्नेमा उनी आश्वस्त भएका छन्।

उनी भन्छन्, "उनको कुनै दुराशय थिएन उनी मानसिक अवसादको शिकार भएकी थिइन्।"

"यदि उनलाई सही डाक्टरले हेरेको भए, यदि उनले अनुरोध गरेका बेला मैले अस्पताल लगेको भए, अहिलेको घटना हुने नै थिएन।"

रुसी अपराधशास्त्रीहरूका अनुसार ८० प्रतिशत महिलाले आफ्नो बच्चाको हत्या गर्नुअघि टाउको दुख्ने गरेको वा निद्रा नपर्ने गरेको वा महिनावारी नियमित नहुने गरेको गुनासो गर्ने गरेका थिए।

उनीहरू को हुन्?

रुसी कानुनमा धेरै परीक्षण नगरिएको र वर्जित अपराधलाई फिलिसाइड भनिन्छ त्यो भनेको आमाले आफ्नै बच्चा मार्ने हो।

कसैले भर्खरै जन्मेको बच्चाको हत्या गर्छन् त कसैले दुई वर्ष नपुग्दैको उमेरमा। सन् २०१८ मा रुसमा ३३ वटा यस्ता मुद्दा चलाइएका छन्।

केही अपराधशास्त्रीहरूले रिपोर्ट गरिएका भन्दा आठ गुणा बढी यस्ता घटना रहेको तर अदालतसम्म यस्ता घटना आइनपुग्ने गरेको अनुमान लगाउँछन्।

"हाम्रो अस्पतालका २० मध्ये ३ अथवा ४ शैय्यामा आफ्नै बच्चाको हत्या गरेका महिलाहरू राखिएका हुन्छन्," फरेन्सिक विज्ञ र मस्कोको सरबस्की इन्स्टीट्युट अफ साइकियाट्रीकी प्रमुख अनुसन्धानकर्ता मार्गरीटा कचेभा भन्छिन्।

एकजना अकाउन्टेण्ट, एकजना शिक्षिका, एक बेरोजगार महिला, एकजना समाज कल्याण परामर्शदाता, एकजना वेट्रेस, एकजना डिजाइन स्कूल पास गरेकी महिला, एउटा ठूलो परिवारकी महिला, एकजना पसलकी सहायक- बीबीसी रुसी सेवाले कुरा गरेका ३० जनाभन्दा बढी महिलाका कथा फरक फरक छन्।

समाजले गर्ने आशङ्काका विपरीत आफ्ना बच्चाको हत्या गरेका धेरै महिलाका श्रीमान् थिए, घर, जागिर थियो र कुनै कुलत थिएन।

डाक्टरहरू भन्छन्- बच्चालाई जन्म दिएपछि दबेर बसेको मानसिक रोग अचानक बढ्न सक्छ।

महिलाहरूमा केही दीर्घरोग हुनसक्छ जुन दैनिक जीवनमा देखा नपर्न सक्छ, तर गर्भावस्था, बच्चा जन्म दिँदा वा मेनोपजका बेलामा देखिन सक्छ।

"हेर त, मैले बच्चा मारेँजस्तो छ"

३८ वर्षीया आना शिक्षिका हुन्। उनका १८ र १० वर्षीय छोरा छन्। उनीहरू उनका बाबुआमाले अत्यन्त चाहना गरेर पाउन लागेका बहिनीको पर्खाइमा थिए।

तर ७ जुलाइ २०१८ को दिन आनाले आफैँ एम्बुलेन्स बोलाइन्। बच्चा जन्मनुअघि उनलाई असाध्यै ठूलो पीडा भइरहेको थियो। त्यसपछिका दिनमा स्थिति झन बिग्रियो।

आनाले आफूले सहन सक्छु भन्ने ठानिनन्, एकजना मनोचिकित्सकले उनलाई आराम गर्न भनिन्। उनका श्रीमान् मस्कोमा काममा गएका बेला आफ्ना बच्चालाई एकजना साथी कहाँ छोडिन् र आफू एउटा खाट किन्न जान लागेको बताइन्।

तर उनी आफ्नी आमाको समाधिस्थल गइन्। अर्को दिन उनी खाली खुट्टा बच्चा लिएर हिँडिरहेका बेला प्रहरीले कहाँ जान लागेको भनेर सोध्दा केही भन्न सकिनन्।

उनकी सासुले उनलाई घर लिएर गइन्। र, त्यति बेला आनाले आफ्नो बच्चालाई तकियाले मुख थुनेर मार्न खोजिन् भन्ने कुरा अदालतले स्थापित गर्न खोजिरहेको छ।

७ जुलाइका दिन एम्बुलेन्स आएपछि आनाले डाक्टरलाई भनिन्, "हेर त, मेलै बच्चा मारेँ जस्तो छ।" स्वास्थ्यकर्मीहरूले आनालाई बचाउन सफल भए र उनलाई अस्पतालमा भर्ना गरियो।

उनलाई दीर्घरोग बनिसकेको स्किजोफ्रेनिया भएको पत्ता लाग्यो।

"त्यो भनेको पूर्ण पागलपन होइन भन्ने बुझ्न जरूरी छ। बच्चाको हत्या गरेका बेला मानसिक रोगी हुने महिलाले त्यसअघि पूर्ण रूपमा साधारण जीवन बिताइरहेको हुन सक्छ," डा. कचेभा भन्छिन्।

"हे भगवान्, डाक्टर मैले यो के गरेँ? अब म कसरी बाँच्नु?"

२१ वर्षीया एरिना उनको नवौँ तलामा रहेको फ्ल्याटबाट आफ्नो बच्चा अगाँलोमा राखेर हाम फालेकी थिइन्।

उनका श्रीमान्‌ सैनिक हुन् र बच्चा जन्मँदा उनी काममा थिए। आफ्नी श्रीमतीमा मानसिक समस्या देखिएकाले उनले केही उपचार पनि गराएका थिए।

उनी आफ्ना बाबुआमासँग एक वर्षदेखि बस्दै आएकी थिइन्। उनले बच्चाको हत्या र आफ्नो आत्महत्या गर्ने प्रयत्न गरेको अघिल्लो दिन आफ्ना श्रीमान्‌ले आफ्नो हत्या गर्न चक्कु तिखारिरहेको प्रहरीलाई बताएकी थिइन्।

जादु जस्तो भयो- आमा र बच्चा दुवैको ज्यान गएन। उनीहरूलाई अस्पताल पुर्‍याइयो र पछि एरिनालाई प्रहरी नियन्त्रणमा लगियो।

मनोविद्‌हरूले उनलाई स्किजोफ्रेनिया भएको पत्ता लगाए।

स्किजोफ्रेनिया भएका आमाहरू र डिप्रेसन भएका आमाहरूले आफ्ना बच्चा मार्नुपरेको बारे धेरैजसो उस्तै उस्तै कारणहरू दिने गरेका छन्।

"म यति खराब आमा छु, उसकै राम्रोका लागि हो," "यस्तो नराम्रो संसार छ, बच्चा यस्तोमा नबाँचेकै राम्रो।"

अपराध गरिसकेपछि उनीहरूलाई शान्ति हुँदैन र पहिलो, दोस्रो या तेस्रो प्रयत्नमा आफ्नै ज्यान लिन्छन्", डाक्टर कचेभा भन्छिन्।

उनी भन्छिन् घरका कुनै सदस्यले त्यसो गर्नबाट रोक्न सके भने त्यस्ता महिलाहरूलाई उनको संस्थामा ल्याइपुर्‍याइन्छ।

उपचार शुरू भएको ६ महिनामा उनीहरू पूर्ण रूपमा निको हुन्छन्।

अमेरिकामा जस्तै रुसमा पनि आफ्ना बच्चाको हत्या गर्ने महिलाहरूलाई कस्तो सजाय दिने भन्ने अदालतले निर्णय गर्छन्।

यदि फरेन्सिक मनोविद्‌हरूले आमालाई पागल पाएनन् भने उनलाई लामो जेल सजाय पनि हुनसक्छ।

यस्ता धेरै महिलाहरूले आफ्नो बाल्यकालमा नराम्रो व्यवहार भोगेका हुन्छन्।

रुसी फरेन्सिक मनोविद्‌हरूले गरेको अनुसन्धान अनुसार आफ्नो बच्चाको हत्या गरेका ८० प्रतिशत महिला गरीब परिवारमा हुर्केकाहरू र तीमध्ये ८५ प्रतिशतको आफ्नै वैवाहिक जीवनमा समस्या हुन्छ।

अनुसन्धानकर्ताहरू यी विषयबीच प्रत्यक्ष सम्बन्ध हुने देख्छन्: झूटो बोल्ने, विवाद गर्ने, झगडा गर्ने, अप्रसन्नता, मातिने गरी रक्सी खाने‍जस्ता बानी किशोरी अवस्थामा हुने केटीहरू पछि गएर आफ्नै परिवारका वयस्क महिलाले जस्तै व्यवहार गर्ने गर्छन्।

आफ्ना बाबुआमासँग सहज सम्बन्ध नहुनेहरूको पनि बच्चाप्रति कठोर व्यवहार हुन सक्छ। बच्चाको हत्या गर्ने आमाहरूले त्यसअघि बच्चालाई अति धेरै माया दर्शाएर त्यो प्रवृत्तिलाई छोप्छन्।

"घरेलु हिंसा पीडितहरूले पनि भविष्यमा यस्ता अपराध गर्नेमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्।"

"यस्ता धेरै महिलाहरूले बाल्यकालमा शारीरिक तथा मानसिक दुर्व्यवहार भोगेका हुन्छन्।"

कैयौँ वकिलले आफ्ना बच्चाको हत्या गर्ने महिलाहरूको वकालत गर्न अस्वीकार गर्छन्।

"त्यस्तो त मलाई हुनै नसक्ने सोच्थेँ"

"जेलका अधिकारीहरू अरु बन्दीका तुलनामा बच्चाको हत्या गर्नेहरूबारे धेरैजसो केही भन्न चाहँदैनन्," अर्कै अपराधमा जेल परेकी नायिका मरिना क्लेसचेभा भन्छिन्।

"मैले पनि उनीहरूलाई भेटेँ उनीहरूकै घर वरपरका मानिसले नभनेसम्म उनीहरू किन जेल परे भन्ने कसैलाई थाहा हुँदैन। जेलभित्र उनीहरूका कुनै साथी हुँदैनन्। उनीहरू असाध्यै चुपचाप बस्छन् र कुनै पनि तर्कवितर्कमा अगाडि सर्दैनन् किनभने उनीहरूलाई अरुले भुतुक्कै पार्देलान् भन्ने डर हुन्छ।"

मस्कोस्थित क्लिनिकल प्याथोलजिष्ट याकोभ कोचेटोभ भन्छन्- महिलाहरूले आफूमा आउने हत्याको विचार अस्वीकार गर्छन् र बचाउका लागि अरूमाथि आफ्नो आक्रोश थोपर्छन्।

"म त्यस्ता खाले आमाहरूको भत्सर्ना गर्थेँ। त्यस्तो त मलाई कहिल्यै हुने छैन भन्ठान्थेँ," एउटा ठूलो दूरसञ्चार कम्पनीमा काम गर्ने विज्ञ ३३ वर्षीया तात्याना भन्छिन्।

ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन्

"विक्रीका बेला भेट हुने कैयौँ मानिस, व्यावसायिक भ्रमणमा बन्ने साथीहरू र म असाध्यै बच्चा चाहन्थ्यौँ। बच्चा जन्माउन हामी जस्तो हुनुपर्ने हो त्यसैगरी तयार भएका छौँ जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ भन्ने देखियो।"

"जन्म दिने काम असाध्यै कठिन थियो र सुँडेनीहरू राम्रा थिएनन्। पछि मलाई जन्म दिएका बखतको झल्को आउन थाल्यो पीडादायी सपना देख्न थालेँ। ब्युँझँदा मुटु हल्लिरहेको हुन्थ्यो। तौल बढ्यो कपाल झर्‍यो….यी सबैले मलाई मेरो बच्चाप्रति क्रोध बढाउँदै लग्यो- यस्तो लाग्थ्यो उसले मेरो जीवन बरबाद पार्‍यो।"

जब बच्चा रातमा सुत्दैनथ्यो अथवा दाँत उम्रन लागेकाले रुन्थ्यो र तात्यानालाई असह्य हुन्थ्यो।

"तिमी त आमा हौ नि होइन? अरूले गर्न सक्छन् तिमी किन सक्दिनौ?"

"उसको रुवाइले मेरो टाउको फुट्ला जस्तो हुन्थ्यो र त्यसले मलाई मेरो बाल्यकालमा भोगेका समस्याहरू सम्झाइदिन्थ्यो," तात्याना सम्झन्छिन्।

"जे पनि मैले नै भोग्नुपर्ने किन भन्ने भावना आउँथ्यो। सुताउने प्रयत्न गरिरहेका बेला मैले बच्चालाई बेस्सरी हल्लाइदिन्थेँ। ऊ डराएर झन् बेस्सरी रुन्थ्यो। मैले उसलाई ओछ्यानमा मिल्काइदिएर चिच्याउँथेँ "तँ त मरे कै भए जाती हुन्थ्यो। त्यसपछि म लाजले र पश्चातापले भरिन्थेँ किनभने म मातृत्वको मजा लिन सकिरहेकी थिइनँ।"

तात्यानाका श्रीमान्‌ले बच्चालाई उनले मानसिक समस्या दिइरहेको बताए। उनका गुनासाहरूलाई बेवास्ता गर्दै उनले भने, "तिमी एक आमा हौ होइनौ र? अरुले गर्न सक्छन् तिमी किन सक्दिनौ? पहिला शुरूमा यो बच्चा नै किन पाएकी?"

एक वर्ष बित्यो र परिस्थिति झन् बिग्रँदै गयो। आत्महत्या गर्ने विचारसहित उनी मनोचिकित्सक कहाँ गइन्।

"यस्ती दुष्ट आमा यो पृथ्वीमा नरहेकै जाती भन्ने लाग्यो। मेरो छोराले म भन्दा असल आमा पाउनुपर्छ। मानसिक पीडा भन्दा आफैँलाई सिध्याउन मेरा लागि सहज हुन सक्छ। मलाई यस्ता धेरै समस्या थिए। मनोविद्ले तत्काल मेरो समस्यालाई गम्भिरतासाथ लिए र मलाई सहयोग गरे।"

बचाउ

जब आफ्नो बच्चाको हत्याको कुरा अगाडि आउँछ हामी परिवार नियोजनका साधन प्रयोग गर्ने र बेबी बक्स प्रयोग गर्ने कुरा गर्न थाल्छौँ। तर रुसी र पश्चिमा डाक्टरहरूले बच्चा जन्मेपछि हुने डिप्रेसनबारे सचेत रहन महत्त्वपूर्ण रहेको बताउँछन्।

"बच्चा जन्माउनुअघि सबै सम्भावित दृश्यबारे विचार गर्नु राम्रो हुन्छ। आफ्नी आमासँग आफ्नो सम्बन्धबारे छलफल गर आफू र आफ्नो पार्टनरबारे आफ्नो भावना के छ त्यो छलफल गर र त्यसले बच्चा जन्माएपछि कसरी तिमीलाई प्रभावित पार्नेछ भन्ने पनि विचार गर" मनोविद्‌ मरिना बिलोब्राम भन्छिन्।

मार्गरिटा कचेभा भन्छिन्, "मस्को र यो क्षेत्रमा सङ्कटमा परेका महिलाहरूका लागि हाम्रा केन्द्रहरू छन्। घरेलु हिंसादेखि डिप्रेसन भएका सम्म महिलाहरूका लागि यी केन्द्र खुला छन्। तर ती आधा मात्र भरिएका छन् किनभने महिलाहरू त्यहाँ गएर आफ्ना समस्या भने भने आफ्ना बच्चा अरुले लैजालान् कि भनेर त्रस्त छन्। स्थानीय तहमा उपलब्ध मनोवि‌द्कहाँ पनि त्यसै कारणले उनीहरू जान डराउँछन्। र आफ्ना श्रीमान्‌ र परिवारलाई भन्यो भने चुप लाग भन्छन् भन्ने त्रासमा पनि छन्।"

"ईश्वरका रूपजस्ता बच्चा बोकेर मुस्कान छरिरहेका आमाहरूको मात्र पोस्टर टाँस्ने होइन कि कस्तो सम्म हुन सक्छ भन्नेबारे पनि पोस्टर बनाउनुपर्नेछ।"