यार्सा टिप्न जाँदा ऋणको भारी बोकेर फर्किएकाहरूको व्यथा

  • 22 जुलाई 2019

बहुमूल्य जडीबुटी यार्साका थुप्रै सङ्कलनकर्ताले आम्दानी गर्नुको साटो यसपाली ऋणको भारी वोकेर फर्कन बाध्य भएको बताएका छन्।

यार्साबाट विगतका वर्षमा डेढ-दुई लाख रूपैयाँ कमाउदै आएका जाजरकोटका नलगाड नगरपालिका -१ का बीरबहादुर रानाले यसपाली कमाएर हैन, ऋणको भारी बोकेर फर्किए।

यार्सा टिप्न १० वर्षदेखि नियमित रुपमा डोल्पाका पाटन गइरहेको उनी बताउँछन्।

बर्षभरीको खर्च जुटाउने योजनासहित यार्सा सङ्कलन गर्न पाटन गएका रानाजस्ता धेरै गाउँले यसपल्ट ऋणको भारी बोकेर फर्किएको बताउँछन् ।

यार्साले मुल्य पाएन

पोहर/परारको जस्तो यसपाली यार्सा नै भेटिएन, भेटिएको यार्साले पनि पहिलेको जस्तो मुल्य नपाएको सङ्कलनकर्ताहरूको भनाइ छ।

रुकुम रारीकी सुश्मिता रावलले एक महिना पाटनमा बस्दा यार्साबाट १५ सय रुपैया मात्रै कमाएको बताइन्।

उनले पाटनबाट १५ देखि २० हजार ऋण लगाएर घर फर्किएकी बीबीसीलाई बताइन्।

गत वर्ष प्रति यार्सा ८ सय रुपैयाँसम्ममा बचेको बताउने यज्ञ रोकाय यस पटक एउटा यार्सा २ सय ५० रुपैयाँमा बेच्न बाध्य भए।

आम्दानी कम, दु:ख बढी

जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाबाट यार्सा टिप्न दशौँ हजार मानिस डोल्पा, रुकुम र मुगुका उच्च पहाडी भेगमा जाने गर्छन्।

महिना दिनसम्म पाटनमा बसेर आम्दानी हुनुको साटो ऋण लागेको डोल्पाकी करुणा केसी बताइन।

उनले भनिन्, "यसपाली कमाइ हैन, दुख मात्रै भयो।"

यार्साको कमाइबाट वर्षदिनको खर्च जुटाउने गरी पाटन पुगेका धेरै मानिस यसपाली निराश भएर घर फर्किए।

१० जनाले ज्यान गुमाए

यार्सा सङ्कलन गर्न मध्ये कतिपयले प्राकृतिक विपद् र खराब मौसमका कारण ज्यान गुमाउनुपरेको अधिकारीहरूले जनाएका छन्।

यसपाली यार्सा सङ्कलन गर्न डोल्पा र मुगुका पाटन पुगेका १० जनाको ज्यान गएको कर्णाली प्रदेशका प्रहरीका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले बताए।

उनका अनुसार ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले गर्दा ज्यान गएको थियो।

उनका अनुसार यार्सा सङ्कलन गर्न एक जना हिम पहिरोमा परेर हराइरहेका छन्।

भेटाउनै मुस्किल

पाटनबाट यार्सा टिपेर फर्केकाहरूका अनुसार हरेक वर्ष यार्सा पाइने क्रम घटिरहेको छ तर यसपाली यार्सा भेटाउनै मुस्किल भयो ।

७\८ बर्षदेखि नियमित रुपमा यार्सा सङ्कलन गर्न डोल्पाका पाटन गइरहेका जाजरकोट तल्लुका मोहन बस्नेत भन्छन्, "दुई/तीन वर्षअघिसम्म ४०० वटा यार्सा पाउनेले यो पटक मुस्किलले ३०\४० वटा मात्रै पाए।"

उचित संरक्षण र व्यवस्थापनको अभावमा नेपालको उच्च पाटनमा मात्र पाइने बुहुमुल्य जडीबुटी बर्षेनी घटदै गएको बताइन्छ ।

मानवीय अतिक्रमण र जलवायु परिवर्तन मुख्य करण

तीव्र गतिमा भइरहेको मानवीय अतिक्रमण र जलवायु परिवर्तनले गर्दा यार्सा उत्पादन घटिरहेको यसबारे अनुसन्धान गरिरहेका विज्ञहरू बताउँछन्।

तीन वर्षयता अनुसन्धानमा जुटेका सुर्खेतका वैज्ञानिक शिवराज घिमिरेले यार्साको बीउ परिपक्क नहुँदै मान्छेले जथाभावी खन्ने भएकोले नष्ट हुने गरेको बताए ।

उनले भने, "उत्पादन बढ्न बीउ फैलनु पर्छ उनले भने, तर बीउ नै लाग्न नदिने भएपछि कसरी फैलिन्छ ?"

तस्वीर कपीराइट RSS

यार्सा जुम्ला, डोल्पा, मुगु, रुकुम, जाजरकोट, दार्चुला, हुम्ला, मनाङ, मुस्ताङ जिल्लाका नागरिकको मुख्य आय स्रोत रहदै आएको छ।

जीवन निर्वाहको प्रमुख आधारको रुपमा रहेको यार्सा उत्पादन घट्न थालेपछि स्थानीय समुदायले यार्साको उचित संरक्षणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

संरक्षण गर्न माग

उत्पादन घटेपनि यार्चाको माग राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बढिरहेको बताइन्छ ।

उचित संरक्षणको लागि बेलैमा ध्यान नदिए यार्सा लोप हुनसक्ने चिन्ता कतिपय विज्ञहरू औल्याउँछन्।

यार्सा सम्वन्धी छुट्टै नीति बनाएर संरक्षण र सङ्कलनलाई व्यवस्थित गनुपर्नेमा उनीहरु जोड दिन्छन्।

जाजरकोटका गोरख बहादुर सिंह भन्छन्, यार्सालाई जोगाउन कम्तिमा पनि तीन/चार बर्ष सङ्कलनमा रोक लगाउनु पर्छ ।

तस्वीर कपीराइट RSS

राजश्व सङ्कलन

डोल्पाका उच्च पाटनमा सवैभन्दा बढी यार्सा पाइन्छ।

शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको प्रवेश पुर्जी लिएर करिव १४ हजार मानिस यार्सा सङ्कलन गर्न गएको निकुञ्जले बताएको छ ।

अघिल्लो वर्ष करिव ७ हजार मानिस यार्सा संकलन गर्न गएको अधिकारीहरूले बताएका छन्।

यार्सा सङ्कलन गर्न जानेबाट प्रवेश शुल्क स्वरुप लिएको राजश्व गतवर्ष १ करोड ४१ लाख १२ हजार सङ्कलन भएको थियो ।

यसपाली प्रवेश शुल्कबाट २ करोड ८९ लाख ७५ हजार रुपैयाँ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए ।

ठेगना हेरेर यार्सा टिप्न आउनेहरूसँग प्रति व्यक्ति पाँच सय देखि तीन हजार सम्म राजश्व उठाउने गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।