राजनीतिमा महिला: भारतले नेपालसँग कि नेपालले भारतसँग सिक्ने

  • 24 जुलाई 2019
महिला सांसदसँग भारतीय राजदूत तस्वीर कपीराइट Manjeev Puri/Twitter

राजनीतिमा महिलाको उपस्थिति बलियो बनाउनका लागि नेपालको गरेको संवैधानिक व्यवस्थाबाट सापेक्षित रूपमा राजनीतिमा महिलाको न्यून उपस्थिती भएका भारतलगायतका देशहरूले सिक्नसक्ने विश्लेषकहरू बताउँछन्।

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले नेपाली राजनीतिमा महिलाको सशक्तिकरणबारे सोमवार दूतावासमा महिला सांसदहरूसँग अनौपचारिक छलफल गरेपछि उनीहरूले यस्तो टिप्पणी गरेका हुन्।

राष्ट्रिय र प्रतिनिधिसभाका १५ जना महिला सांसदसँगको छलफलका क्रममा पुरीले दुई देशले एकअर्कासँग सिक्नुपर्ने विषयहरूकाबारे बोलेको सहभागीहरूले बताएका छन्।

सत्ताधारी नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले आफूहरूले नेपालको राजनीतिमा महिलाको बलियो पक्षबारे नेपालकालागि भारतका राजदूत पुरीलाई जानकारी गराएको बताइन्।

"हामीले महिलाहरूको उपस्थिति स्थानीयदेखि केन्द्रसम्म नै राम्रो रहेको बतायौँ अनि उहाँले त्यसको प्रशंसा गर्नुभयो," नेकपाकी सांसद सत्गौवाले भनिन्।

"उहाँले यो विषयमा भारतले सिक्नुपर्ने बताउनुभयो।"

भारतमा अहिले अर्थमन्त्री निर्मला सितारमन आएकी छन् भने यसअघि विदेशमन्त्री सुष्मा स्वराज थिइन्।

गणतान्त्रिक प्रजातान्त्रिक अभ्यासमा भारतको तुलनामा नेपाल धेरैपछि सहभागी भएको भएतापनि संविधानमा समावेशी सिद्धान्त निकै सहज रुपमा अवलम्बन गरेको अवस्थामा भारतका लागि त्यो राम्रो उदाहरण हुन सक्ने नागरिक दैनिक पत्रिकाका प्रधानसम्पादक गुणराज लुईँटेल बताउँछन्।

"हाम्रो त प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला हुनुपर्ने लगायत ३३ प्रतिशतको कुराले समावेशीको सिद्धान्त सहजै लागु भएको देखिन्छ," लुईँटेलले भने।

"भारतमा भने बहसमा समावेशी समानुपातिक कुरा उठेपनि पूर्ण रूपमा अवलम्बन गर्न सकेको देखिँदैन। यो विषयमा भारतले नेपालसँग सिक्नुपर्ने देखिन्छ।"

राजनीतिशास्त्री पुरञ्जन आचार्य राजनीतिमा महिलाको उपस्थिति बढाउनका लागि संविधानमै व्यवस्था गर्ने जुन उपाय नेपालले अपनाएको छ त्यो भारतले पन‌ि सिक्न सक्ने बताउँछन्।

संसद्‍मा महिला

दक्षिण एशियामा पुरुष र महिला सांसदको औसत

स्रोत: इन्टर पार्लियामेन्टरी युनियन

"महिलाको सहभागिताबारे संविधानमै व्यवस्था गर्ने विषयमा भारतको संसदमा विगत दुई दशकदेखि कुरा उठे पनि त्यो अहिलेसम्म सम्भव हुनसकेको छैन," राजनीतिशास्त्री पुरञ्जन आचार्यले भने।

"नेपाल त एशियामै उदाहरणीय भएको छ,"

"नेपालबाट भारतले खासगरी तीनवटा कुरा सिक्नुपर्छ।

"एउटा संवैधानिक सुनिश्चितताको कुरा, अर्को नेपालमा महिलालाई जति उदार भावले हेरिन्छ भारतमा रुढीवादी हेराइ रहेको छ।"

"त्यसले राजनीतिक र सामाजिक संरचनामै असर पारेको देखिन्छ। त्यसबाहेक नेपालमा भारतमा भन्दा सम्पत्तिको अधिकारमा महिलाहरूको स्थान राम्रो रहेको छ।"

अहिले नेपालको संसदमा महिलाको उपस्थिति दक्षिण एशियामै नेपालको सबैभन्दा राम्रो रहेको मानिन्छ।

नेपालमा केन्द्रीय तहमा महिलाको सहभागिता ३३ प्रतिशत रहेको छ भने बाङ्ग्लादेशमा २०.५७ प्रतिशत रहेको छ। त्यस्तै पाकिस्तानमा १७.५ प्रतिशत र भारतमा १७ प्रतिशत रहेको सार्वजनिक तथ्यांक रहेको छ।

त्यसबाहेक नेपालमा स्थानीय तहदेखि केन्द्रसम्म नै कुनै पनि तहमा पुरुष प्रमुख भए महिला उपप्रमुख हुनुपर्ने अनिवार्य नियम संविधानले व्यवस्था गरेको छ।

संसद्‍मा महिला प्रतिनिधित्व

दक्षिण एशियाली संसद्‍मा महिला

राष्ट्रतल्लो सदनमहिला सदस्यमाथिल्लो सदनमहिला सदस्यकुल सांसदमहिला सांसद
नेपाल२७५९०५९२२३३४११२
बाङ्ग्लादेश३४९७२३४९७२
माल्दिभ्स८७८७
श्रीलङ्का२२५१२२२५१२
भारत५४२७८२४४२८७८६१०६
भुटान४७२५७२११
पाकिस्तान३४१६९१०४२०४४५८९
स्रोत: इन्टर पार्लियामेन्टरी युनियन

नेपालले भारतसँग के सिक्ने?

संसदमा महिलाको सहभागिताको हिसाबले नेपालबाट भारतले सिक्नुपर्ने कुरा धेरै भए पनि प्रतिस्पर्धी राजनीतिमा चाहिँ नेपालले भारतसँग सिक्नुपर्ने राजनीतिशास्त्री आचार्य बताउँछन्।

"हाम्रोमा राष्ट्रपतिदेखि प्रधानन्यायाधीश सभामुखसम्म महिला भइसकेको उदाहरण छ। तर हाम्रोमा प्रतिस्पर्धा गरेर आउने पदमा महिला कम देखिन्छन्," आचार्यले भने।

"भारतमा भने कार्यकारी प्रमुखदेखि मुख्यमन्त्रीहरूसम्म नै महिलाहरूले प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाइसकेकाले हामीले सिक्नुपर्ने कुराहरू छ।"

आचार्यले भारतबाट जुन नेपालले सिक्नुपर्ने विषय उठाएका छन् त्यसलाई राजदूत पुरीले पनि छलफलका क्रममा उल्लेख गरेको नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले बताइन्।

राजदूत मंजीव सिंह पुरीले हालसालै सम्पन्न भारतको लोकसेवा चुनावमा ७८ जना महिला सांसदले प्रत्यक्षतर्फ जितेको उदाहरण दिँदै त्यो तुलनात्मक रुपमा राम्रो भएको बताएको भुसालले बताइन्।

"अनौपचारिक कार्यक्रममा उहाँले हाम्रो अनुभव सुन्नुभयो अनि भारतमा अर्थमन्त्रीमा महिला आएको विषयमा त्यहाँजस्तै महत्त्वपूर्ण पदमा महिला पुग्नेबारे नेपालले पनि सिक्नसक्ने उदाहरण दिनुभयो," नेपाली कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले भनिन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
राजनीतिमा महिला नेतृत्व बढाउने कसरी?

'बाढीको समस्या समाधान कसरी गर्ने?'

तराई क्षेत्रका कतिपय महिला सांसदले भने प्रत्येक वर्ष बाढीको कारणले हजारौं मानिसहरू पीडित हुने गरेको विषय उठाएका थिए।

त्यसबारे राजदूत पुरीको प्रतिक्रिया उल्लेख गर्दै नेकपा सांसद सत्गौवाले भनिन्, "बाढीबाट दुवै देशका मानिसहरू पीडित भएकोले यो विषयमा एउटा देशले अर्कोलाई दोष दिनुभन्दा जिम्मेवार पदमा बस्नेले नै समस्याको समाधान खोज्नुपर्छ। यसका लागि म पहल गर्छु।"